- एआईले ल्याएकोे क्रान्ति अझै अघि बढ्नेछ र सामूहिक गतिविधिको अवधारणालाई नै प्रभावित बनाउनेछ
अहिलेको वैज्ञानिक युगमा कृत्रिम बुद्धिमत्ता (एआई) का क्षेत्रमा भएको तीव्र विकासले कामको परम्परागत तरिकालाई सहज मात्र गरिरहेको छैन, मानव पहिचानको सारतत्वलाई समेत परिवर्तन गरिरहेको छ । अघिल्ला प्रविधिगत विकासले मानवीय व्यवहार र अवस्थालाई परिवर्तन गरेका थिए, एआईले भने राज्यको ढाँचा र भूमिकाका साथै व्यक्तिको आधारभूत राजनीतिक तथा सामाजिक विश्वासलाई समेत मूलभूत रूपले नै नयाँ आकार दिँदै छ । उन्नाइसौँ शताब्दीको औद्योगिक क्रान्तिमा यन्त्रशक्तिले मानव एवं पशुशक्तिलाई प्रतिस्थापन गर्यो र यान्त्रिक शक्ति भौतिक पूर्वाधार, औद्योगिक तथा उपभोग्य वस्तुको उत्पादनमा प्रयोग हुन थाल्यो ।
बीसौँ शताब्दीमा औद्योगिक क्रान्ति परिपक्व हुँदै जाँदा कडा शारीरिक श्रम एकाध पेसा वा व्यवसायमा मात्रै सीमित हुन पुग्यो । पूर्वऔद्योगिक युगका कार्यको झल्को पाउन अहिले छाना लगाउने कामलाई भने हेर्न सकिन्छ । यो काममा आज पनि कडा शारीरिक मिहिनेतसहित विभिन्न आसनमा बसेर थकित हुने गरी शारीरिक श्रम गर्नुपर्छ । श्रमप्रधान कामको अनुभवलाई यस्तै एकाध पेसाले अहिले एक्काइसौँ शताब्दीमा संरक्षण गरिरहेका छन् । बीसौँ शताब्दीको सुरुवातका अटोमोबाइलका कामदार निकै मिहिनेत गरेर आफ्ना औजार चलाइरहेका हुन्थे । ती औजारले गह्रौँ वस्तु उचाल्थे र ठुलो परिमाणमा बलको प्रयोग गर्थे । एक्काइसौँ शताब्दीको सुरुका अर्थात् अहिलेका तिनका समकक्षीचाहिँ मोनिटरमा हेर्दै भारी शारीरिक कार्य सम्हाल्ने रोबोर्टहरू सञ्चालन गर्छन् । पसिना (श्रम) प्रधान अर्थव्यवस्था लोप हुँदै जाँदा श्रमको महत्व घट्दै गएर श्रमजीवी कमजोर बन्दै गएका छन्, तर स्वस्थ पनि भएका छन् । शारीरिक शक्तिलाई कायम राख्न चाहने अहिले जिमहल धाउँछन् । यस सूचना–प्रविधि क्रान्तिले मानव विकासको नयाँ खुड्किलोको प्रतिनिधित्व गर्छ । सीपयुक्त अथवा अधिक संज्ञानात्मक कार्य मेसिनले लिँदै गर्दा कम्प्युटरले शारीरिक काम गरिरहेका रोबोर्टहरूको निगरानी गर्छन् । मानसिक श्रमको पनि अन्त्य हुँदै गएको छ । धेरै मानिसले कामबारे सोच्नै छाडेका छन् र त्यो ऊर्जा क्रसवर्ड पजल, सुडोकु वा वर्डलमा खर्च गरेका छन् ।
अहिलेको क्रान्ति योभन्दा धेरै अघि बढ्नेछ, किनकि यसले सामूहिक गतिविधिको अवधारणालाई नै प्रभावित बनाउँदै छ । यो विकासक्रम सम्भवत: सैन्य क्षेत्रमा अधिक प्रकट हुनेछ, तर यसले राजनीतिक सहभागिता र वैध अधिकारबारे हाम्रो बुझाइलाई पनि प्रभावित पार्नेछ । बीसौँ शताब्दीमा मानव इतिहासका सबैभन्दा डरलाग्दा युद्ध भए, जसले बदलामा लोकतान्त्रीकरणको नयाँ आवेग उत्पन्न गर्यो । सैनिक र तिनका परिवारले आफ्नो बलिदानको पुरस्कार पाउनुपर्ने हँुदा दुवै विश्वयुद्धले मताधिकारको विस्तार गर्यो । शास्त्रीय राजनीतिक उदारवादले जनताको सरोकारको विषयमा बलिदानको अपेक्षा गर्छ । तर, प्रविधिले यो प्रक्रियालाई बिथोल्न खोजेको छ ।
संसारभरका शिक्षित सहरी जनसंख्यामा मानव सम्बन्धका क्रूर सत्यसँग अन्तत्र्रिmया कम गर्दै लगेको छ । रुसलाई नै लिऔँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा युद्ध गर्न अर्धस्वायत्त भाडाका समूह, ग्रामीण जनता र अझ कैदीमा निर्भर छन् । किनकि उनलाई थाहा छ, मस्को र सेन्ट पिटर्सबर्गको जनसंख्या शारीरिक रूपमा र अझ मनोवैज्ञानिक रूपमा यस कार्यका लागि अनुपयुक्त छ । नि:सन्देह, यो नयाँ समस्या होइन । आधुनिक औद्योगिक जीवनशैलीका कारण धेरैजसो मानिस शारीरिक तवरमा सैन्यसेवाका लागि अयोग्य भएको हुँदा प्रथम विश्वयुद्धअघि युरोपका ठुला मुलुकका सैन्य अधिकारी कसरी ठुलो संख्यामा सेनाको जोहो गर्ने भनेर चिन्तित हुन्थे ।
आज पनि सैन्य योजनाकार त्यही चिन्तामा छन् । पेन्टागनले सन् २०१७ मा १७ देखि २४ वर्ष उमेर समूहका ७१ प्रतिशत युवा अमेरिकाको सैन्यसेवाका लागि अयोग्य रहेको अनुमान गरेको थियो । अहिले यो हिस्सा बढेर ७७ प्रतिशत पुगेको छ । तर, अहिले यस्ता प्रविधि छन्, जुन पहिलेका पुस्ताले कल्पना पनि गर्न सक्दैनथे । युद्धलाई स्वचालित ड्रोनजस्ता मानवरहित उपकरणले कब्जा गरेको छ, जसरी औद्योगिक र कार्यालयका काम पहिलेको युगमा मेसिनबाट कब्जा भएका थिए । युद्धको स्वचालितीकरणको राजनीतिक परिणाम बुझ्न अहिले समग्र समाज कसरी परिवर्तन भएको छ भन्ने कुरा हेर्नुपर्छ । मध्ययुगीन समाजमा मानिसलाई सामान्यतया तीन समूहमा विभाजित गरिन्थ्यो– प्रार्थना गर्नेहरू, युद्ध गर्नेहरू र काम गर्नेहरू । जसले प्रवचन दिन्थे वा प्रार्थना गर्थे ती पादरीवर्ग, जो लड्थे (अभिजात वर्ग) र बाँकी, जसले वास्तवमा शारिरिक श्रमको रूपमा साँच्चै केही काम गर्थे ।
युद्ध क्षमताका कारण अभिजात वर्गले मूलत: विशाल राजनीतिक शक्तिको दाबी गर्न सक्थ्यो । तर, जब तिनले लडाइँ गर्न छोड्थे, तिनको शासनको वैधता अत्तरको सुगन्धझैँ गायब हुन्थ्यो । फ्रान्सेली क्रान्तिपछि गठन भएका सेनामा आमजनताको सहभागिताले युद्ध र राजनीति दुवैको लोकतान्त्रीकरण गर्यो । तर, अहिले प्रविधिको माध्यमबाट युद्ध लडिरहँदा सत्ता फेरि आमजनताबाट टाढिँदै गएको छ । बाँकी रहेका सामाजिक समूहको के हुनेछ ? जसरी औद्योगिक क्रान्तिले शारीरिक श्रमको आवश्यकतालाई कम गर्यो, त्यसरी नै एआई क्रान्तिले मानिसलाई सैन्य क्षेत्रमा अप्रचलित बनाइरहेको छ । अहिले मेसिन सेना बनिरहेका छन् । यसले प्रवचन दिने वा प्रार्थना गर्ने (पादरी) वा धर्मगुरुहरूलाई भने अझै छोइसकेको छैन । उनीहरूलाई अझै पनि विशिष्ट मानव कुराहरूको संरक्षण गर्ने जिम्मेवारी छ । के ती पनि प्रविधिको हातबाट निकम्मा हुने र अन्तत: अस्तित्वकै संकटको चपेटामा पर्लान् त ? एकदमै डराएर, केही आलोचक र प्रविधि नेताहरू एआई विकासमा ‘विराम’को आह्वान गरिरहेका छन् । तर, प्रविधि कहिल्यै रोकिने गरेको छैन, किनभने केही मानिसलाई सबै यो कुरा मन पर्छ ।
प्रोजेक्ट सिन्डिकेटका लागि हारोल्ड जेम्सको आलेख