‘घुमीफिरी रुम्जाटार’ नहोस्

एकपल्ट चुनाव जितेपछि पाँच वर्ष जे गरे पनि हुन्छ भन्ने हेपाहा मानसिकताले अहिलेको जेन–जी आन्दोलनको वातावरण सिर्जना गरेको हो

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

सम्पूर्ण वामपन्थी प्रगतिशील र माओवादी पार्टीका साथीहरू, न्यानो अभिभादन !
जेन–जी आन्दोलनको पूर्ण समीक्षा गर्ने काम बाँकी नै होला । किनकि समीक्षाले नै आगामी दिनको बाटो तय गर्नेछ । आन्दोलनको समीक्षा गर्ने हेतु म केही कुरा राख्न चाहन्छु ।

समीक्षाको चुरोमा पुग्न ०७२ सालमा संविधान निर्माण भएयताको अवस्थाको सरसर्ती विश्लेषण गरौँ । ३ असोज, ०७२ मा संविधान घोषणा भएपछि ०७४ मा चुनावको मुखैमा बनेको वाम गठबन्धनले दुईतिहाइनिकट मत हासिल ग¥यो । ७० वर्षमा नभएको उपलब्धि भनेर सारा वामपन्थी प्रगतिशील जनता खुसी भए । अब स्थायित्व हुँदै विकासको मूल फुट्ने आशामा बज्रपात गर्दै हानथाप, झिनाझप्टी, षड्यन्त्रको बाटो हुँदै ‘धुन्धुकारी’ नेतृत्वका कारण चरमोत्कर्षमा दुईपटक संसद् विघटन भयो । कम्युनिस्ट पार्टीप्रति वितृष्णा नै उत्पन्न हुने गरी गालीगलौज, षड्यन्त्र र आरोप–प्रत्यारोप भए ।

अर्को चुनाव आयो ०७९ मा । चुनावी गठबन्धन नै विचलनपूर्ण थियो । कांग्रेसले हसिया हथौडा र माओवादीले रुखमा अनि राजावादीले सूर्य र एमालेजनले गाईमा भोट हाल्ने अवस्था आयो । यसपछि सरकार गठनमा झन् विकृत अभ्यास भए । जनताको म्यान्डेट एकातिर छ, तर एक महिना नपुग्दै सरकार अर्कैसँग गठन भयो । एकपल्ट चुनावमा जितेपछि पाँच वर्ष जे गरे पनि हुने भन्ने हेपाहा मानसिकताले पनि अहिलेको जेन–जी आन्दोलनको वातावरण सिर्जना गर्न भूमिका खेल्यो भन्दा फरक नेपार्ला । ‘लभ एउटासँग, इंगेजमेन्ट अर्कोसँग, बिहे अर्कैसँग र बच्चा जन्माउने अर्कैको’ भन्ने तल्लो तहको राजनीतिक व्यभिचारलाई जनताले हेरेर बस्नुबाहेक अन्य विकल्प छैनन् त ? उत्तर जेन–जी आन्दोलनले दिएको छ ।

वस्तवमा ठुला दलका शीर्ष नेतृत्वबाहेक दोस्रो र तेस्रो तहका असल र स्वच्छ छविका नेता कार्यकर्ता पनि यी तमाम घटनाक्रमबाट निराश थिए । सामान्य राजनीतिक छलफल र विश्लेषणमा पहिलो पुस्ताले ठूलो त्याग गर्यो, परिवर्तनको नेतृत्व गर्यो, ‘जेन एक्स’ पुस्ताले लड्यो, साथ दियो तर यसले पार्टी वा देशमा विद्रोह गर्न सक्दैन र ‘जेन–वाई’ वा ‘जेन–जी’ पुस्ताले कुरा बुझ्दैन, स्वार्थी छ भन्ने एकमना विश्लेषण थियो । यो विश्लेषण ठिक थिएन भन्ने प्रमाणित भएको छ । जेन–एक्स र जेन–वाई पुस्ताले आफ्नो असन्तोष जेन–जी पुस्तामा हस्तान्तरण गरेका कारण पनि अहिलेको विद्रोहले चरम रूप लिन पुगेको हो भन्ने तथ्यलाई आत्मसात् गर्नु जरुरी छ ।

समग्रमा जेन–जीको आन्दोलनको पूर्ण समर्थन र यसमा भएको घुसपैठ आगजनीको पूर्ण विरोध छ । माओवादी पार्टीका कार्यकर्ताको घुसपैठ भएको भए यसलाई एमाले–कांग्रेस सरकारविरुद्धको असन्तोष मात्र थियो भनेर नसोचौँ । असन्तोष र विद्रोह पार्टीमा पनि थियो । असन्तोषको विस्फोटन हिसाब गरेर पनि हुँदैन । एकजना जेन–जी भाइले प्रश्न गरे– “मान्छे मात्र क्षति भएको भए ओलीले राजीनामा दिन्थे वा दिन्नथे ?” मथिंगल हल्लाउने यस प्रश्नमा दम थियो । षड्यन्त्र होला, देशी–विदेशी हस्तक्षेप पनि होला, तर जति ठुलो अहंकार हुन्छ त्यति ठूलो नै क्षति हुन्छ । रोम जल्दा निरो बाँसुरी बजाउँदै थिए रे भनेझैं आन्दोलन फासफुस भइहाल्छ भनी सोच्ने अहंकारी शासक भएपछि राष्ट्रले क्षति ब्यहोर्छ ।

दलहरूका दोस्रो र तेस्रो पुस्ताले अब पहिलो पुस्ताले जसरी पनि नेतृत्व छोड्नुपर्छ भन्नुभन्दा दक्षता, इमानदारी र सक्रियतालाई नेतृत्व चयन वा हस्तान्तरणको प्रमुख आधार बनाउनुपर्छ

आन्दोलनमा घुसपैठ, वा षड्यन्त्र भएकै छ । यो भविष्यले बताउला वा दरबार हत्याकाण्ड जस्तै कागजमा एउटा र वास्तविकतामा अर्कै होला । तर, षड्यन्त्रको आधार दल नै हुन् । सत्तामोहमा मस्त शासकले अनिवार्य रूपमा विदेशी र स्वदेशीद्वारा चलखेल हुने षड्यन्त्रको आधार खडा गर्छन् । यसैले अहिलेको आन्दोलनको समीक्षा गर्दा फेरि घुमाइफिराइ विदेशी षड्यन्त्र हो भनेर आत्मरतिमा ठुला भनाउँदा दल लाग्ने कुरा सर्वथा आत्मघाती हुनेछ । घरमा रातदिन लोग्ने स्वास्नी र छोराछोरीको झगडा, हानाहान र कुटाकुट भएपछि छिमेकीले ताली बजाउन, गाली गर्न र मौकाको फाइदा उठाउन खोज्छन् नै । एकदम सत्य के हो भने अहिलेको युगमा कुनै पनि देशमा विदेशी हस्तक्षेप, चासो र भूमिका पनि हुन्छ । कहीँ थोरै होला वा कहीँ धेरै । हाम्रो देशमा विदेशी हस्तक्षेप वा प्रभावको मूल्यांकन गर्दा धेरै पर नगई केवल एमसिसीपछिको अवस्था नै बुभ्mदा काफी हुन्छ । नेपाल अब दुई देशीय प्रभावबाट तीन देशीय प्रभावमा गयो, गयो । यसलाई चित्त बुझे पनि वा नबुझे पनि स्विकार्नैपर्छ ।

अमेरिकी चुनावमा समेत विदेशी चासो वा हस्तक्षेप हुन्छ भन्ने प्रस्ट भइसकेपछि दुई ध्रुवतिर फर्केका विशाल दुई देशबिचको देश नेपाल रबिनसन क्रुसोको टापु बसाइजस्तो स्वतन्त्र हुँदैन । यसैले, भारतलाई देख्नै नसक्ने, अमेरिका सुन्नै नचाहने, चाइना टेक्नै नचाहने होइन, सबैलाई स्विकारेर सन्तुलनको राजनीति गर्नैपर्छ । यसको विकल्प नै छैन । सन्तुलनको राजनीति कसरी गर्ने ? कतै न कतै नढल्की सकिएन, जानिएन भने एउटा फर्मुला सायद उपयोगी हुन सक्छ । त्यो के भने व्यक्तिगत र पार्टीको स्वार्थ बाझिएमा व्यक्तिगत स्वार्थ छाड्ने, पार्टीको स्वार्थ र संस्था वा सरकारको स्वार्थ बाझिएमा पार्टीको स्वार्थ छोड्ने, संस्था वा सरकार र देशको स्वार्थ बाझिएमा संस्था वा सरकारको स्वार्थ छोड्ने । देशको स्वार्थलाई सर्वोपरि राखेपछि कतैतिर ढल्कनुपर्दैन र ढल्केको जस्तो देखिए पनि त्यसको सकारात्मक पुष्ट्याइँ हुन्छ ।

अहिलेको अवस्था सिर्जना हुनाको अर्को मुख्य कारण राज्य र राज्यका सेवाप्रदायक संस्थाको लोकतान्त्रीकरण नहुनु पनि हो । विशेषगरी, पार्टीको लोकतान्त्रीकरण भएन । लोकतान्त्रीकरण बृहत् शब्दावली हो । यसलाई पुस्तान्तरणका रूपमा मात्र बुझ्न हुन्न । जेन–जीको माग पारदर्शिता, सुशासन, समान अवसर र समृद्धि हो । यी माग पुस्तान्तरणका रूपमा विष्फोट भएको मात्र हो । विष्फोटनपछि त्यसको लाभको विश्लेषण गर्दा मुख्य समस्या शासनमा नभएर नेताको प्रवृत्ति, क्षमता र कार्यशैलीमा हो ।

नेताहरू सरल, सहज, पहुँचयोग्य र व्यवस्थित छैनन् । हाम्रा नेताको अवस्था यस्तो हुनुका मुख्य दुई कारण छन् । एउटा उनीहरूको सामन्तवादी सोच र अर्को व्यवस्थापकीय ज्ञानको अभाव । आफूलाई देशको इतिहास परिवर्तनमा योगदान दिएको सम्झनु ठिक हुन्छ जबकि यो परिवर्तन केवल हामीले ल्याएको हो भन्ने अहंकार सामन्तवादी सोच हो । समयले अरू नौवटा परिवर्तन खोजिसक्यो ठुला भनाउँदा पार्टीका नेताहरू एउटा परिवर्तनलाई अँगालो हालेर बसेर इतिहासको आत्मरतिमा रमाउँछन् । अर्कातर्फ घर, व्यवहार, व्यक्तिगत जीवन, कार्यशैली र कार्यालय व्यवस्थित छैनन् । सचिवालय फलामको किल्लाजस्तो सिन्डिकेटमा चलेका छन् । दलाल व्यापारी, पैसावाल र चाकडीबाजलाई सहज र शीघ्र पहुँच छ । शीर्ष नेताको छेउमा रहने एउटा व्यक्ति नकारात्मक भयो भने कुनै माइकालालले तिनलाई भेट्न सक्दैन । लाखौँ जनताको बलिदानले बनेका नेता देशका सम्पत्ति हुन्, तर व्यवहारमा निजी सम्पत्तिसरह भएका छन् ।

अहिलेको परिवर्तनपछि चुनाव गर्नैपर्ने विशिष्ट परिस्थिति खडा भएको छ । लोकतन्त्र रक्षा गर्न सम्पूर्ण दलले यसलाई सफल बनाउन दबाब र सहयोग गर्नुपर्छ । माओवादी पार्टीका सवालमा यो चुनावअघि वा पछि विधिसम्मत तरिकाले नेतृत्व चयन वा हस्तान्तरण गर्नु श्रेयस्कार हुन्छ । जसले जतिसुकै कुरा गरे पनि देउवा र ओलीभन्दा प्रचण्ड संसदीय शक्तिको हिसाबमा, काम र प्रयासको हिसाबमा फरक छन् । संसदीय राजनीतिमा उनमा पनि प्रशस्त विचलन देखियो, तर ओली, देउवा र प्रचण्डलाई एउटै डालोमा हाल्नु किमार्थ वस्तुपरक र न्यायसंगत हुँदैन । अहिलेको चुनावको विशेष परिस्थितिमा आक्रोश र आवेश होइन, सुझबुझ चाहिन्छ । पार्टीका दोस्रो र तेस्रो पुस्ताले अब पहिलो पुस्ताले जसरी पनि नेतृत्व छोड्नुपर्छ भन्नुभन्दा दक्षता, इमानदारी र सक्रियतालाई नेतृत्व चयन वा हस्तान्तरणको प्रमुख आधार बनाउनुपर्छ । पार्टीका दोस्रो र तेस्रो पुस्ताका केही नेता पनि निष्क्रिय, लम्पट र चरम अवसरवादी छन् । यी सबैलाई बिदाइ गरौँ । पार्टीमा अधिभूतवादी शैलीमा ऊ ठिक र ऊ बेठिक होइन, को किन र कति ठिक र बेठिक भन्ने द्वन्द्वात्मक छलफल र बहस गरौँ । लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गरौँ । नत्र भोलि दोस्रो पुस्ताको नेतृत्वसामु यही नियति तुरुन्तै आइहाल्छ ।

सबैभन्दा महत्वपूर्ण र दूरगामी विषय सबै शीर्ष नेताले संस्थागत र कुनै तहदेखि मुनिका सबै नेताका लागि अविलम्ब उत्पादन र निर्माणको योजना बनाउनुपर्छ । उत्पादन र निर्माणमा लागेकाको सम्मान गर्नुको साटो रिस गर्ने, ‘टिमवर्क’को साटो खेद्ने, सिक्नुको साटो कुरै नसुन्ने प्रवृत्ति तुरुन्त बन्द गर्नुपर्छ । कुनै जागिर, उद्योग वा व्यवसाय र पारिवारिक आम्दानी नभएको नेता ठाँटले गाडी लिएर हिँड्छ । अब पूर्णकालीन भन्नेजति सबै नेतालाई पार्टीले नै तलब दिऊँ । नत्र नेतालाई ‘तपाईंको खर्चको आधार के ?’ भन्ने आमअभियान चल्ने निश्चित छ ।

यसैगरी, पार्टी कार्यालय नियमित चलाउने वैधानिक स्रोत तय गरौँ । संस्थागत रूपमा उत्पादनसँग जोडिने र लेबी प्रणाली चुस्त बनाऔँ । दलालसँग चन्दा उठाएर पार्टी नचलाऔँ । पार्टीका आठ लाख सदस्य छन् भन्ने, तर पार्टीको खातामा एक लाख रुपैयाँ पनि नहुने कसरी हुन्छ ? सदस्यसँग जोडिने प्रविधि विकास गरौँ । एक लाख सदस्यले वर्षभरिमा रु. २०० मात्र योगदान गर्दा पनि पार्टी कार्यालय वर्षैभरि आरामले चल्छ ।

बुद्धिजीवी र विज्ञलाई सम्मान हुने र जिम्मेवारी दिने वातावरण तुरुन्त बनाउनुपर्छ । हवाईजहाजको विषयमा पाइलटको, गाडीको विषयमा ड्राइभरको कुरा सुनौँ । नेता या मन्त्री हुनेबित्तिकै सर्वज्ञ भइन्न । बरु झनै सुन्नुपर्छ भन्ने चेत नेतामा पलाउनुपर्छ । हाम्रा नेता विज्ञ होइनन्, गफाडी र विद्वान होइनन् अहंकारी भए । शक्तिमा हुँदैमा ज्ञान स्वतः प्राप्त हुँदैन ।

जेन–जी उमेर समूह कम हो सोच बढी हो । यो सोचलाई लोकतान्त्रीकरणको माध्यमबाट समेट्नुपर्छ । पार्टीका हरेक तहमा युवा पुस्तालाई खुला गरौँ । प्रविधिमा टुकटुके फोन मात्र चलाउने पुस्तालाई ए आईको तीव्रता विकासमा अगाडि बढिरहेको अर्को जेन अल्फा पुस्तासँग कसरी मिलाउने सोच्नुपर्छ । माओवादी अध्यक्षले भव्य पार्टी कार्यालय बनाउने भनेर कार्यकर्तामा उत्साह जगाउन खोज्नुभएको होला । समय र परिस्थिति हेरेर कार्यालय बनाउन त जरुरी छ नै तर अब पार्टी कार्यालय बनाउँदा पूरै एक तला प्राविधिक कार्यालय भनेर छुट्याउनुहोस् जहाँबाट आमसञ्चार, सामाजिक सञ्जाल र विश्वव्यापी रूपमा छरिएका नेपालीसँग पार्टीलाई जोड्न सकियोस् ।

(आचार्य चार्टर्ड एकाउन्टेट (सिए) हुन्)

सुझावित समाचार