जुम्लामा नयाँ जातका स्याउ सिफारिस

बागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्लाले करिब १२ वर्षको लामो अध्ययनपश्चात् स्टार क्रिमसन डेलिसियस, ब्राइट एन अर्ली र स्टार्क स्पर गोल्डेन जातका स्याउ सिफारिस गरेको हो

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

जुम्लामा नयाँ जातको स्याउ सिफारिस गरिएको छ । बागवानी अनुसन्धान केन्द्र राजीकोट जुम्लाले करिब १२ वर्षको अध्ययनपछि स्टार क्रिमसन डेलिसियस, ब्राइट एन अर्ली र स्टार्क स्पर गोल्डेन जातको स्याउ सिफारिस गरेको हो । आर्थिक वर्ष ०८०/८१ मा नयाँ जातको स्याउ सिफारिस गरिएको वरिष्ठ वैज्ञानिक (एस–३) राजुकमार गिरीले बताए । चालू आव ०८२/८३ को माघ महिनादेखि समुदायका किसानलाई ६ हजार बिरुवा (बेर्ना) वितरण गर्ने तयारी गरिएको छ । 

नयाँ सिफारिस गरिएका स्याउका जातहरू रोपेको दुईदेखि तीन वर्षमा फल्न सुरु गर्ने, हरेक वर्ष फल्ने, बोट होचो हुन्छ । जसले गर्दा रोयल र गोल्डेन डेलिसियस जातका स्याउ रोप्ने ६–६ मिटरभन्दा कम दूरीमा नयाँ बिरुवा रोप्न सकिने उनले बताए । ‘पुरानो जातको स्याउ एक हेक्टरमा दुई सय ७८ वटा अट्छ भने स्पर जातको स्याउ एक हेक्टरमा चार सय बोट अटाउँछ,’ उनले भने ।

नयाँ सिफारिस भएको स्पर जातको स्याउको बोक्रा बाग्लो हुने भएकाले भण्डारण अवधि बढी हुनुका साथै ढुवानीमा कम क्षति हुन्छ । त्यस्तै, स्पर जातका स्याउहरू रेड, रोयल र गोल्डेन जातको स्याउभन्दा १०–१५ दिन ढिलो फुल्ने भएकाले तुसारोबाट बचेको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।

यस्तै, रोगकिरा कम लाग्ने र सर्वसाधारण सबै किसानले सजिलै खेती गर्न सक्ने गुण भएको स्पर जातको नयाँ स्याउ सिफारिस गरिएको वैज्ञानिक गिरीको भनाइ छ । यो वर्ष जुम्लामा असिनाले स्याउमा क्षति गरेका वेला बागवानी अनुसन्धान केन्द्र राजीकोटमा भने लटरम्म फलेका थिए ।

किसानको बारीमा लगाइएका स्याउ एक वर्ष फल्ने र अर्काे वर्ष नफल्ने समस्या भोगिरहेका वेला राजीकोटमा लगाइएका स्याउ प्रत्येक वर्ष एकैनासले उत्पादन हुने गरेको प्राविधिक हरि सुवेदीले बताए । नयाँ सिफारिस गरिएका स्याउले उत्पादन बढी दिने उनको भनाइ छ । हाल नेपालमा स्याउको उत्पादकत्व ८.५१ मेट्रिकटन प्रतिहेक्टर रहेको छ भने सिफारिस गरिएको नयाँ स्याउको उत्पादकत्व १४ मेट्रिकटन प्रतिहेक्टरभन्दा बढी रहेको छ ।

यसै वर्षबाट बागवानी अनुसन्धान केन्द्र राजीकोटले सिफारिस गरेका तीनवटा स्पर जातका स्याउका कलमी बेर्नाहरू नर्सरीधनी र अगुवा किसानलाई उपलब्ध गराइने भएको छ । बागवानी अनुसन्धान केन्द्र राजीकोटले अन्य तीन देशका स्याउमा पनि अनुसन्धान गरिरहेको छ । इन्डियन स्परका १० वटा, क्यानेडियनका १५ वटा र फ्रान्सका ११ वटा स्याउमा अनुसन्धान भइरहेको छ । ०६८ बाट इन्डियन र क्यानेडियन देशका स्याउमा अनुसन्धान भइरहेको छ भने सन् २०१५÷१६ देखि फ्रान्सनको स्याउमा अनुसन्धान भइरहेको छ । 

उक्त जातहरूका स्याउ सिफारसि हुन समय लाग्ने बताइएको छ । उच्च पहाडमा हुने फलफूल तथा तरकारीमा अध्ययन–अनुसन्धान गरी प्रविधि विकास गर्दै आएको बागवानी अनुसन्धान केन्द्र राजीकोटले सिफारिसका लागि दुईवटा नयाँ जातका स्याउ अघि बढाएको छ । टपरेड र रेड स्पर जातका स्याउ यसै वर्ष सिफारिस हुने वैज्ञानिक गिरीले बताए । यी जातमा पनि करिब १०–१२ वर्ष अनुसन्धान भएको छ ।

कार्टुनमा पनि अनुसन्धान
बागवानी अनुसन्धान केन्द्र राजीकोटले स्याउका जातका अलावा स्याउका कार्टुनमा पनि अनुसन्धान गरेको छ । बजारमा पाइने कार्टुनमा स्याउ ढुवानी गर्दा किसानले बढी क्षति व्यहोर्नुपरेको छ । तर, केन्द्रले असुन्धान गरी पहिचान गरेका स्याउ कार्टुनमा एकदमै कम क्षति हुने गरेको गिरीले बताए । 

केन्द्रले सञ्चालन गरेको स्याउका विभिन्न कार्टुनको परीक्षणको नतिजाअनुसार सात प्लाई (पत्र) तथा एक सय ८० भारवहन क्षमता भएको कार्टुनमा स्याउ ढुवानी गर्दा एकदम न्यून क्षति भएको छ । रेडमा ५५ प्रतिशत, रोयलमा ६.५ प्रतिशत र गोल्डेन डेलिसियसमा ७.२ प्रतिशत मात्र कम क्षति भएकाले यो कार्टुन ढुवानीका लागि सिफारिस गरिएको हो ।

तर सरोकारवालाले केन्द्रले सिफारिस गरेको स्याउ ढुवानी कार्टुन प्रयोग नगरी आफ्नै मनमर्र्जी हिसाबले वितरण र ढुवानी गर्दै आएका छन् । यसले गर्दा किसान र व्यापारीले स्याउ ढुवानीमा क्षति भोग्नुपरेको छ । कर्णालीका पाँच जिल्लामध्ये जुम्ला स्याउखेतीको दृष्टिले सबैभन्दा अगाडि छ । यहाँ करिब चार हजार चार सय हेक्टर जमिनमा स्याउखेती भइरहेको छ । ५२ हेक्टरमा उच्च घनत्वको स्याउ किसानले लगाएका छन् । पछिल्लो समय परम्परागत खेतीभन्दा उन्नत जातको स्याउ उत्पादनतर्फ किसानको आकर्षण बढ्दो क्रममा छ ।

सुझावित समाचार