कार्यतालिका बनाएर विकासका काम गर्न सांसदको माग

बिहिबार, ३० साउन, २०८२
डिजिटल संस्करण

सांसद माधव सापकोटाले विकास निर्माणका कामहरू क्यालेन्डर (कार्यतालिका) बनाएर सोहीअनुसार गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसद सापकोटाले विकास बजेट निकै कम खर्च हुने गरेको उल्लेख गर्दै यस्तो प्रस्ताव गरेका हुन्।

आर्थिक वर्ष ०८१/८२ मा विकास बजेट ६३.२ प्रतिशत मात्रै खर्च भएको उल्लेख गर्दै उनले भने, ‘संसदमा मैले पटकपटक विकासका निमित्त एउटा क्यालेन्डर बनाएर काम गर्ने परिपाटी विकास गरेर निर्देशन गरौँ भनेँ। नयाँ आर्थिक वर्षको प्रारम्भको महिनामा हामी छौँ। समय छ यसका लागि विचार गरौँ।’

चीनसँगको तातोपानी र केरुङ नाका बाटो बिग्रिँदा ठप्प भएको उल्लेख गर्दै सापकोटाले यसलाई छिटो सञ्चालनमा नल्याए चाडबाडको समयमा नागरिक मारमा पर्नेमा सचेत गराए।

उनले सरकार संसद्प्रति जवाफदेही हुनुको सट्टा मिथ्या कथा सिर्जना गरेर सामाजिक सञ्जाललाई कन्टेन्ट (सामग्री) दिन केन्द्रित भएको आरोपसमेत लगाए।

सुझावित समाचार