भ्रष्टाचारविरोधी निकायलाई कमजोर बनाउने विवादास्पद विधेयकलाई स्वीकृत गर्ने भोलोदिमिर जेलेन्स्कीको निर्णयले स्वदेश र विदेशमा बढ्दो आलोचना निम्त्याएको छ ।
देशभित्र मंगलबार राति लगभग एक हजार ५०० मानिसले किभमा भ्रष्टाचारविरोधी निकायलाई कमजोर बनाउने कानुनको विरोध गरे । सुरुमा प्रदर्शनकारीले जेलेन्स्कीले विधयेकविरुद्ध भिटो प्रयोग गर्नुपर्ने माग राखेका थिए । तर, जेलेन्स्कीले विधेयकमा हस्ताक्षर गरिसकेको खबर बाहिरिएपछि तिनले हस्ताक्षर गर्ने उनको निर्णयको विरोध गरे । राजधानी किभबाहेक अन्य सहरमा पनि ठुला विरोध प्रदर्शन भएका थिए ।
आफ्नो नियमति रात्रिकालीन भिडियो सम्बोधनमा जेलेन्स्कीले भ्रष्टाचारविरोधी निकायले पहिलेजस्तै निरन्तर काम गर्ने तर रुसी प्रभाव हटाउन सुधार आवश्यक रहेको दाबी गरे ।
तर, भ्रष्टाचारविरोधी निकायलाई कमजोर बनाउने सुधारको युक्रेनभित्र मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि आलोचना भएको छ । विशेषत: युरोपेली मन्त्रीले सुधारको विरुद्धमा अभिव्यक्ति दिइरहेका छन् ।
फ्रान्सका युरोपेली मन्त्री बेन्जामिन हद्दादले युक्रेनसँग आफ्नो निर्णय उल्ट्याउन अझै समय रहेको बताएका छन् । फ्रान्सको इन्टर रेडियोसँगको कुराकानीमा पछिल्लो सुधारले आफूहरू अत्यन्त चिन्तित भएको हद्दादले बताए ।
जर्मनीले पनि युक्रेनको भ्रष्टाचारविरोधी सुधारप्रति चिन्ता व्यक्त गरेको छ । त्यहाँका विदेशमन्त्री जोहान वाडेफुलले भ्रष्टाचारविरोधी एजेन्सीको स्वतन्त्रतामाथि अंकुश लागे भविष्यमा युक्रेनको युरोपेली संघमा सामेल हुने बाटोमै पनि समस्या आउने चेतावनी दिए ।