खेलकुदमन्त्री चौधरीको गुनासो- खेलकुदमा कांग्रेसकै साथीहरूले गरेनन् सहयोग

शनिबार, २१ असार, २०८२
डिजिटल संस्करण

खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमै रहेका कांग्रेसका नेताहरूले सहयोग नगर्दा नै पछिल्लो समय काम गर्न गाह्रो भइरहेको गुनासो पोखेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार सरकारको समीक्षा गर्दै मन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटीको विवाद पनि कांग्रेसका नेताका कारण बढेको दाबी गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र ओलम्पिक कमिटीमा कांग्रेस सदस्य भए पनि आफूलाई उनीहरूले साथ नदिएको भन्दै चौधरीले असन्तुष्टि जनाए । ‘हाम्रो पार्टीभित्र खेलकुदमा काम गर्ने युवा साथी धेरै छैनन् । मन्त्रालयले पार्टीका युवा परिचालन गर्न सकिरहेको छैन । विदेश जानेदेखि लिएर युवालक्षित काम धेरै छन्,’ सप्तरीबाट निर्वाचित भएका चौधरीले भने ।

सानेपामा बसेको बैठकमा पार्टीको नेतृत्व गरी सरकारमा सहभागी भएका मन्त्रीहरूलाई बोल्न दिइएको थियो । चौधरीले खेलकुद मन्त्रीका हैसियतमा आफ्ना भनाइ राखेका हुन् । एक वर्ष खेलकुदमन्त्रीका रूपमा कार्यभार सम्हाले पनि महासमिति सदस्यकै असहयोगले ओलम्पिकमा बढी विवाद भएको उनको भनाइ छ ।

‘सरकारमा गएको १२ महिना बितेछ । सबैभन्दा ठुलो विवाद ओलम्पिक कमिटी छ । २६ जनामध्ये कांग्रेसकै बहुमत सदस्य छन् । ओलम्पिक कमिटीमा रहेका तीन–चारजना साथीले सहयोग गरेनन्,’ मन्त्री चौधरीले भने ।

ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, सचिव भीमसिंह गुरुङ, उपाध्यक्ष दावा गुरुङ र सदस्य लाक्पा शेर्पाले आफूलाई सहयोग नगरेको चौधरीले दाबी गरे । उनले जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक कमिटीलाई मान्यता नदिने र पुन: तदर्थ समिति गठन गर्न तयार रहेको बैठकमा जानकारी दिए । 

सुझावित समाचार