विराटनगर महानगरपालिकाले ल्यायो चार अर्ब ४० करोडको बजेट

मंगलबार, १० असार, २०८२
डिजिटल संस्करण

आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले चार अर्ब ४० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

मंगलबार १६औँ  नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि कुल चार अर्ब ४० करोड रुपैयाँबराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन्।

महानगरले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासमा एक अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख रुपैयाँ प्रस्ताव गरेको छ। सामाजिक विकासतर्फ एक अर्ब ८९ लाख ३० हजार, शैक्षिक विकास कार्यक्रममा ७५ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ।

स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख, आर्थिक विकासतर्फ २ करोड ९६ लाख, सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ५० लाख, विपत् व्यवस्थापनमा एक करोड २० लाख र वातावरण तथा जैविक विविधता संरक्षणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षमा एक अर्ब ४० करोड आन्तरिक आय हुने महानगरको लक्ष्य छ। चालू आर्थिक वर्षको बजेटमा आन्तरिक आम्दानीतर्फ एक अर्ब १० करोड ७९ लाख प्रस्ताव गरिएकोमा जेठ मसान्तसम्म ४३ करोड ८५ लाख ४३ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ।

महानगरले चालू आर्थिक वर्ष ०८१/८२ मा कुल तीन अर्ब ५० करोड ३० लाख ८६ हजार रुपैयाँको बजेट पारित गरेको थियो। चालू बजेटमा जेठ मसान्तसम्म महानगरले कुल दुई अर्ब २६ करोड ३५ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ। कुल बजेटको ५० प्रतिशत अर्थात् एक अर्ब ७३ करोड ८३ लाख ९३ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ।

सुझावित समाचार