गाजामा झन् गहिरिँदै मानवीय संकट

आइतबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

यसै साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले देशले ११ हप्ता लामो नाकाबन्दीपछि गाजामा ‘आधारभूत मात्रामा खाद्यान्न’ प्रवेश गर्न दिने घोषणा गरे । तर, यो ‘सम्पूर्ण गाजालाई नै नियन्त्रण’मा लिने नेतन्याहुको योजना देखिन्छ । किनकि, इजरायलले ‘पूर्ण विजय प्राप्त नभएसम्म’ युद्ध जारी राख्ने उनको अडान छ । यसले अक्टोबर २०२३ देखि द्वन्द्व र भोकमरीबाट पीडित २१ लाख प्यालेस्टिनीको घर रहेको प्यालेस्टिनी क्षेत्रको अवस्था अझ बिग्रने सम्भावनालाई संकेत गर्छ । युद्धविरामका लागि अन्तर्राष्ट्रिय आह्वानलाई अस्वीकार गर्दै इजरायली सेनाले गाजाविरुद्ध आक्रमण तीव्र पारेको छ । आक्रमणमा लगभग ५३ हजार पाँच सय प्यालेस्टिनी मारिएका छन्, जसमध्ये धेरैजसो महिला र बालबालिका छन् । उल्लेखनीय कुरा के छ भने अमेरिकी मिडिया रिपोर्टका अनुसार नेतन्याहुको बयानको एक दिनअघि अमेरिकी प्रशासनले गाजापट्टीबाट १० लाख प्यालेस्टिनीलाई स्थायी रूपमा लिबियामा स्थानान्तरण गर्ने योजनामा काम गरिरहेको संकेत गरेको थियो । एक पूर्वअमेरिकी अधिकारीले एनबिसी न्युजलाई बताएअनुसार प्रशासनले लिबियाको नेतृत्वसँग छलफल गरेको हुनाले योजना गम्भीर रूपमा विचाराधीन छ ।

प्यालेस्टिनीहरूको पुनर्वासको बदलामा ट्रम्प प्रशासनले लिबियालाई अमेरिकाले एक दशकभन्दा बढी समयअघि जम्मा गरेको अर्बौं डलरको कोष जारी गर्ने स्पष्ट छ । कुनै अन्तिम सम्झौता भएको छैन र इजरायललाई अमेरिकी छलफलबारे जानकारी दिइएको छ । त्यसैले मानिसहरूसँग गाजामा आफ्नो पकड बलियो बनाउने तेल अभिभको पछिल्लो प्रयास र अमेरिकी योजना अन्तरसम्बन्धित छन् भन्ने विश्वास गर्ने पर्याप्त कारण छ । तेल अभिभले आफ्नो सैन्य कारबाही जारी राख्ने घोषणाको व्यापक रूपमा निन्दा गरिएको छ । संयुक्त अधिराज्य, फ्रान्स र क्यानडा सबैले इजरायललाई कडा चेतावनी दिएका छन् । ‘थप ठोस कारबाही’को सामना गर्न चेतावनी दिँदै गाजामा सैन्य कारबाही तुरुन्तै बन्द गर्न र मानवीय सहायतामा प्रतिबन्ध हटाउन उनीहरूले आह्वान गरेका छन् । ‘हामी गाजामा इजरायलको सैन्य कारबाहीको विस्तारको कडा विरोध गर्छौं । गाजामा मानवीय पीडाको स्तर असहनीय छ । इजरायलले गाजामा आधारभूत मात्रामा खाद्यान्न अनुमति दिने घोषणा पूर्ण रूपमा अपर्याप्त छ,’ ती देशले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ । तीन राष्ट्रले इजरायललाई महŒवपूर्ण मानवीय सहायता अस्वीकार गरेको आरोप लगाउँदै त्यस्ता कार्यले ‘अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने जोखिम’ रहेको चेतावनी दिए । गत हप्ता बग्दादमा भएको अरब लिग शिखर सम्मेलनले पनि इजरायलले गाजामा तनाव बढाउने विषयको कडा विरोध गर्यो ।

गत साता जारी एक विज्ञप्तिमा नेतन्याहुले गाजामा इजरायली युद्ध रोक्न बेलायत–फ्रान्स–क्यानडाको संयुक्त आह्वानले अक्टोबर २०२३ मा इजरायलमाथि भएको ‘नरसंहार आक्रमण’को लागि ‘ठुलो पुरस्कार प्रदान गर्ने दाबी गरेका छन् । वास्तवमा यो इजरायल हो, जसले आफ्नो कार्यका लागि अन्तर्राष्ट्रिय अदालतमा नरसंहार मुद्दाको सामना गरिरहेको छ । गाजा द्वन्द्वको पछाडि प्यालेस्टाइनको प्रश्न समाधान गर्न ढिलाइ भएको छ र प्यालेस्टाइनको प्रश्न सधैँ मध्यपूर्व मुद्दाको मूलमा रहेको छ । तसर्थ, त्यसैले दुई राज्य समाधान लागू नभएसम्म हिंसाको चक्र समाप्त हुनेछैन ।

चीन सबै पक्षलाई १९६७ को सीमामा आधारित स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापनालाई समर्थन गर्न र प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको पूर्ण सदस्य राष्ट्रको रूपमा स्वीकार गर्न आह्वान गर्छ । इजरायलले अक्टोबर २०२३ मा हमासको आक्रमणको बदला लिने तरिकालाई गाजापट्टीलाई गाभ्ने योजनाको आवरणको रूपमा प्रयोग गर्न बन्द गर्नुपर्छ, जुन प्यालेस्टिनी मातृभूमि र प्यालेस्टिनी भूभागको एक हिस्सा हो । अमेरिकाले वास्तवमा युद्धविराम सम्झौतामा मध्यस्थता गरेको छ र वार्ताका लागि मार्गचित्रको नेतृत्व गरेको छ । यी कूटनीतिक प्रयास जारी राख्नुपर्छ । यस प्रक्रियामा प्यालेस्टाइन र इजरायलबिच शान्तिपूर्ण सहअस्तित्व प्राप्त गर्ने अन्तिम लक्ष्यसँगै मध्यपूर्वमा दीर्घकालीन शान्ति र स्थिरताका लागि गाजाको युद्धपछिको शासनमा ‘प्यालेस्टिनीले प्यालेस्टिनीलाई शासन गर्छन्’ भन्ने सिद्धान्तलाई कायम राख्नुपर्छ ।

खाद्यान्न र औषधीको अभाव
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् । इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दीलाई केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश गर्न थालेको थियो । तर, राहत बोकेका १५ भन्दा बढी ट्रक बाटोमै लुटिए, जसले अवस्था अझ भयावह बनाएको छ । गाजा क्षेत्र लामो समयदेखि युद्धको चपेटामा छ । युद्धका कारण त्यहाँ खाद्यान्न र औषधिको अभाव छ । इजरायलले हमास नामक समूहलाई नष्ट गर्न भन्दै फेरि ठुलो सैन्य कारबाही सुरु गरेको छ । शुक्रबार मात्रै इजरायली हवाई आक्रमणमा परी गाजाका विभिन्न भागमा १६ जनाको ज्यान गएको र धेरै घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।

‘गाजाका मानिस अहिले यस्तो स्थिति झेलिरहेका छन्, जुन सम्भवतः यो युद्धको सबैभन्दा क्रूर अवस्था हो,’ गुटेरेसले भनेका छन् । उनले इजरायललाई राहत सामग्रीको ढुवानी सहज रूपमा प्रवेश गराउन अनुरोधसमेत गरेका छन् । हालसम्म करिब चार सय ट्रकमध्ये केवल ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन् । ‘अहिलेसम्मको राहत भनेको जताततै आगो लागिरहेको वेलामा एक थोपा पानी हाल्नुजस्तै हो, जबकि गाजालाई ठुलो मात्रामा सहायता चाहिएको छ,’ उनले भने । विश्व खाद्य कार्यक्रमले गाजाको दक्षिण भागमा राहत बोकेको १५ ट्रक लुटिएको जानकारी दिएका छन् । ती ट्रकले स्थानीय बेकरीमा रोटी पकाउन खाद्यान्न बोकेका थिए ।

इजरायली सेनाले भने गाजामा रहेको हातहतियार गोदाम, सैन्य अड्डा र लडाकु लुकेर बसेका स्थानमा कारबाही गरिएको बताएको छ । सेनाले ७५ भन्दा बढी स्थानमा आकाशबाट बम प्रहार गरिएको जनाएको छ । गाजासँग सिमाना जोडिएका इजरायली बस्तीमा पनि रकेट आक्रमणको डरका कारण सावधानी अपनाइएको छ । गाजाको उत्तरमा रहेको अल–आब्दा अस्पतालमा इजरायली ड्रोनबाट गराइएको आक्रमणमा तीनजना स्वास्थ्यकर्मी घाइते भएका छन् । दक्षिण गाजामा धेरै घर भत्किएका र कालो धुवाँको मुस्लो उडिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो युद्ध मार्च ५ गतेबाट पुनः सुरु भएको हो । त्यसयता गाजामा तीन हजार ६७३ जना मारिएका छन् ।

– चाइना डेलीबाट
 

See More On

सुझावित समाचार