- दुई दिनसम्म चलेको एन्फा कार्यसमिति बैठकले आगामी वर्ष ०८२ को बजेट एक अर्ब ५६ करोड ३२ लाख नौ हजार ४५० रुपैयाँ प्रस्ताव गर्यो
अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार र मंगलबार गरी दुई दिनसम्म चलेको कार्यसमिति बैठकले आगामी वर्षको अनुमानित बजेटको अंक सार्वजनिक गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएकोे कार्यसमिति बैठकले आगामी वर्ष ०८२ का लागि अनुमानित बजेट एक अर्ब ५६ करोड ३२ लाख नौ हजार ४५० रुपैयाँ प्रस्ताव गरेको छ । एन्फाले विश्व फुटबलको सर्वोच्च निकाय फिफासमक्ष आगामी वार्षिक बजेटको खाका पठाउनेछ । फिफाको अनुमोदनपछि आगामी २६ वैशाखमा हुने साधारणसभाबाट बजेट पारित गरिनेछ ।
एन्फाको वार्षिक बजेट खेलकुद मन्त्रालयको भन्दा डेढ अर्ब कम हो । खेलकुद मन्त्रालयको आर्थिक वर्ष ०८१/८२ को बजेट तीन अर्ब ५० करोड छ । गत आव ०८०/८१ मा दुई अर्ब ८७ करोड ५९ लाख र ०७९/८० मा तीन अर्ब २५ करोड २५ लाख रहेको थियो । पछिल्ला दुई आर्थिक वर्षमा एन्फाको बजेट डेढ अर्बभन्दा माथि थियो । एन्फाले गत वर्षको बजेटको सार्वजनिक हालसम्म गरेको छैन । बैठकको चौथो एजेन्डा नै ०८०/८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने थियो । तर, एन्फा पदाधिकारीले बजेट निर्माणका क्रममा चरम लापरबाही गरेको भन्दै आठ सदस्यले असन्तुष्टि जनाएपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई एजेन्डामै प्रवेश गरेनन् ।
एन्फाको संस्थापन पक्ष आगामी वर्षको बजेटमै केन्द्रित देखियो । एन्फाले सोमबार कार्यसमिति बैठक बोलाएको थियो । तर, असन्तुष्ट पदाधिकारीले विभिन्न एजेन्डाका विषयमा चर्चा गरेपछि मंगलबार दिउँसो पुनः बैठक बस्ने भनियो । मंगलबार चलेको बैठकमा एन्फाका संस्थापन र इतर समूहबिच विवाद भएको थियो । ‘अध्यक्ष र महासचिवले प्रस्तुत गरेका एजेन्डामा चर्काचर्की भएको थियो,’ बैठकमा सहभागी एक सदस्यले भने, ‘हामीले महासचिवको पारिश्रमिक पुनरावलोकन हुनुपर्ने मुख्य एजेन्डा राखेका थियौँ, तर उनीहरू त्यस विषयमा प्रवेश गर्न चाहेनन् ।’ कार्यसमिति बैठकले पूर्वअध्यक्ष गणेश थापादेखि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कामाथि कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले अस्ट्रेलियन नागरिक म्याट रोसलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रशिक्षक रोेसले कार्यसमितिले निर्णय गर्नुअघि नै नियुक्तिपत्र लिइसकेका थिए । उनले गत साता सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलबाटै आधिकारिक रूपमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । नेपालले ३६ वर्षपछि पहिलोपटक सिंगापुरलाई १–० ले हराएको थियो ।
प्रशिक्षक रोसको प्रशिक्षणमा नेपालले मंगलबार राति मलेसियाविरुद्ध एएफसी कपअन्तर्गत तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो । बैठकले पीयूष न्यौपानेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारी दिएको छ । यसैगरी, ०८३–८७ को कार्यसमिति निर्वाचनका लागि निर्वाचन समिति र निर्वाचन पुनरावदेन समिति गठन गर्ने पनि निर्णय गरेको छ ।
राखेपमा नवीकरण पनि छैन
राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा २१५ भन्दा बढी संघ आबद्ध छन् । राखेपले ६१ संघलाई मात्रै मान्यता दिएको छ । यसमा पनि २१ संघको मात्र वार्षिक नवीकरण भएको छ । संघमध्ये सबैभन्दा धेरै बजेट भएको एन्फाको पनि राखेपमा नवीकरण भएको छैन । नवीकरण गर्ने संघहरूलाई राखेपले वार्षिक बजेट दिने गर्छ । अधिकांश संघले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दा र अन्तर्राष्ट्रिय सहभागिता जनाउँदा राखेपबाट सहयोग लिने गर्छन् । तर, फिफाको अनुदानमा चल्ने एन्फाले राखेपबाट आर्थिक सहयोग लिने गरेको छैन । राखेपले वार्षिक रूपमा एन्फालाई २५ लाख बजेट छुट्याएको छ ।
खड्काविरुद्ध पनि छानबिन हुने
एन्फाले वरिष्ठ उपाध्यक्ष खड्कालगायत अन्य व्यक्तिउपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानबिन गरी निर्णयका लागि पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले बताए । २४ माघ ०८१ मा सहिद स्मारक ‘सी’ डिभिजन लिगका १० क्लबले संयुक्त हस्ताक्षर गर्दै उपाध्यक्ष खड्कालाई कारबाही गर्न उजुरी गरेका थिए । खड्काले प्रमाणविना ‘म्याच फिक्सिङ’ गरेको आरोप फिफामा लगाएको १० क्लबको उजुरी छ ।
पूर्वअध्यक्ष थापालाई कारबाहीका लागि पत्राचार गर्ने
एन्फाले पूर्वअध्यक्ष गणेश थापाले फिफाको निर्देशन उल्लंघन गरेको भन्दै विभिन्न निकायमा कारबाहीका लागि पत्राचार गर्ने निर्णय गरेको छ । एन्फाले थापालाई कारबाहीका लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायमा आवश्यकताअनुसार पत्राचार गर्ने निर्णय गरेको छ । थापा फिफाको १० वर्षको प्रतिबन्धमा छन् । उनको प्रतिबन्ध आगामी वैशाख पहिलो साता सकिनेछ । पछिल्लो समय थापाले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई सामाजिक सञ्जालमार्फत विभिन्न आरोप र आलोचना गर्दै आएका छन् ।
बैठकमा अधिकांश सदस्यले अध्यक्ष नेम्वाङलाई थापासँग जुहारी नखेल्न आग्रह गरेका थिए । यसैबिच पूर्वअध्यक्ष थापाले सामाजिक सञ्जालबाट आफूविरुद्धको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । ‘एन्फा कार्यसमिति बैठकमा एकजना केन्द्रीय सदस्यले फिफाबाट प्रतिबन्ध रहेका गणेश थापाले फुटबलमा डिस्टर्ब गरिरहेको भन्दै छानबिन गर्न विभिन्न निकायमा पठाउनुपर्छ भन्ने प्रस्तावको हार्दिक स्वागत गर्न चाहन्छु,’ थापाले भने, ‘गणेश थापाले एन्फामा रहँदा हानि–नोक्सानी, आर्थिक अनियमितता तथा प्रतिबन्ध भएको समयमा फिफाले दिएको म्यान्डेटभन्दा बाहिर गएर कुनै अभिव्यक्ति वा अन्य कुनै गतिविधि गरेको प्रमाणित भएमा कारबाही गरेर देखाउन एन्फालाई चुनौती दिन चाहन्छु । दोषी ठहरिएमा जुनसुकै कारबाही भोग्न पनि तयार छु ।’