इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट

शुक्रबार, ८ चैत, २०८१
डिजिटल संस्करण

दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीनपटक विस्फोट भएको छ। विस्फोटले आठ हजार मिटर अग्लो खरानी स्तम्भ बनाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र विस्तार गर्न प्रेरित गरेको छ।

पूर्वी नुसा तेंगारा प्रान्तको फ्लोरेसको दुर्गम टापुमा रहेको ज्वालामुखीमा सयौँ भूकम्प आएका छन् र पछिल्लो सात दिनमा दृश्यमान ज्वालामुखी गतिविधि उल्लेखनीय रूपमा बढेको छ।

अधिकारीहरूले विस्फोटको चेतावनीलाई उच्चतम स्तरमा बढाएका छन् र खतराको क्षेत्रलाई क्रेटरदेखि सात किलोमिटरबाट आठ किलोमिटरमा विस्तार गरेका छन्।

विस्फोटका कारण केही एयरलाइन्सले अस्ट्रेलिया र इन्डोनेसियाको पर्यटकीय द्वीप बालीबिचको उडानहरू रद्द गरेका छन् भने टापुमा अन्य अन्तर्राष्ट्रिय र घरेलु उडानहरू ढिलाइ भएका छन्। ज्वालामुखीबाट नदीहरूमा निस्कने लाभा प्रवाहलाई उत्प्रेरित गर्ने भारी वर्षाबारे बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको इन्डोनेसियाको भूगर्भीय एजेन्सीले बताएको छ।

गत नोभेम्बरमा माउन्ट लेवोटोबी लाकी लाकीको विस्फोटमा नौजनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए। एक हजार ५८४ मिटर उचाइको पर्वत फ्लोरेस तिमुर जिल्लाको माउन्ट लेवोटोबी पेरेम्पुआनसँग जोडिएको जुम्ल्याहा ज्वालामुखी हो।

इन्डोनेसिया २७ करोड जनसंख्या भएको द्वीप समूह हो। यहाँ बारम्बार भूकम्पीय गतिविधिहरू हुन्छन्। यसमा १२० वटा सक्रिय ज्वालामुखी छन् र यो ‘रिङ अफ फायर’मा अवस्थित छ। रिङ अफ फायर प्रशान्त बेसिनलाई घेरेको भूकम्पीय फल्ट लाइनहरूको घोडे–नाल आकारको शृंखला हो।

सुझावित समाचार