युगान्डाविरुद्ध ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अलआउट
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली युगान्डामा चलिरहेको चारदेशीय टी–२० आई सिरिजबाट बाहिरिएको छ । घरेलु टोली युगान्डासँग आफ्नो पाँचौँ खेलमा ४० रनले पराजित भएसँगै नेपाल बाहिरिएको हो । युगान्डालाई हराउँदा नेपालको फाइनल पुग्ने सम्भावना गणितीय आधारमा कायम रहन्थ्यो । तर, सिरिजमा चौथो हार व्यहोरेपछि नेपालको सम्भावना समाप्त भएको हो । यसअघि पहिलो चरणमा नेपालले युगान्डामाथि एक विकेटको सनसनीपूर्ण जित निकालेको थियो ।
यसअघि नेपाल नामिबियासँग ६ विकेट तथा २३ रनले हारेको थियो । हङकङविरुद्धको रोमाञ्चक खेलमा नेपाल २ रनले निराश बनेको थियो । घरेलु मैदानमा पहिलो ब्याटिङ गरेको युगान्डाले २० ओभरमा पाँच विकेट गुमाएर ९१ रनको योगफल खडा ग¥यो । प्रत्युत्तरमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाउन सक्यो ।
सिरिजमा नामिबिया, युगान्डा र हङकङले समान ६ अंक जोडेका छन् । रनरेटमा नामिबिया शीर्ष र युगान्डा दोस्रो स्थानमा छन् । २ अंक जोडेको नेपाल चौथो स्थानमा छ । अन्तर्राष्ट्रिय टी–२० आईमा नेपाली महिला क्रिकेटले युगान्डविरुद्ध जोडेको योगफल चौथो कम योगफल हो । सन् २०१९ मा पोखरामा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालले सबैभन्दा कम योगफल बंगलादेशविरुद्ध ५० रन बनाएको थियो ।
पाँच खेलाडीको शून्य रन
९२ रन पछ्याएको नेपालको ब्याटिङ फितलो रह्यो । कुनै पनि विकेटका लागि नेपाली खेलाडीले गतिलो साझेदारी गर्न सकेनन् । महŒवपूर्ण खेलमा नेपालका पाँच खेलाडीले खाता नै खोल्न सकेनन् । ओपनर सम्झनाकुमारी खड्का सामना गरेको पहिलो बलमै पेभेलियन फर्किन् । मध्यक्रमका अनुभवी खेलाडी तथा पूर्वकप्तान रुविना क्षेत्रीले चार बल सामना गरे पनि रन बनाउन सकिनन् । यसैगरी, ममता चौधरी पनि शून्यमै आउट भइन् । ईश्वरी विष्ट दुई बल खेल्दा डक आउट भइन् । रचनाकुमारी चौधरी शून्यमा नटआउट रहिन् ।
नेपालको फितलो ब्याटिङ
नेपालको इनिङ्समा दुईजना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाए । कविता जोशीले सर्वाधिक १२ रन बनाइन् । उनले आफ्नो इनिङ्समा दुई चौका प्रहार गरिन् । कविताले २६ बल खेलेकी थिइन् । ओपनिङमा आएकी कप्तान इन्दु वर्माले १२ बलमा ११ रनको योगदान दिइन् । यू–१९ की कप्तान पूजा महतोले १८ बलमा ७ रन बनाइन् । रिया शर्माले नौ बल खेल्दै २ रन बनाएर आउट भइन् । नेपालको ब्याटिङ इनिङ्सको रनरेट २.९७ रह्यो । युगान्डाले ४ अतिरिक्त रन दिएको थियो ।
नकिसुयीको कसिलो बलिङ
युगान्डाले लक्ष्य रक्षा गर्ने क्रममा फास्ट बलर इमाकुल नकिसुयीले घातक बलिङ गरेकी थिइन् । दायाँहाते बलर नकिसुयीले चार ओभरमा १० रन खर्चंदै सर्वाधिक तीन विकेट लिइन् । उनले प्रतिओभर २.५० इकोनोमीमा बलिङ गरिन् । यसैगरी, इरेनेले तीन ओभरमा १० रन खर्चंदै तीन विकेट लिइन् । जाने बाबाजीले दुई ओभरमा ४ रन खर्चंदै एक विकेट हात पारिन् । नेपालले पहिलो विकेट १ रनमा गुमाएको थियो । १७ रनको योगफलमा नेपालले २ विकेट गुमाएको थियो । यसैगरी, ४९ रनको अवस्थामा नेपालले लगातार ईश्वरी, कविता तथा अलिशालाई गुमाएको थियो ।
युगान्डाको मध्यम योगफल
पहिलो ब्याटिङ गरेको युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ रनको योगदान दिइन् । मध्यक्रमकी लियोक्वले २२ रन जोडिन् । यसैगरी, स्ेटफनले २३ बलमा १२ रन बनाइन् । रिताले ४८ बल, लियोक्वले २५ बल सामना गरेका थिए । नेपालको बलिङमा रिया शर्माले १६ रनमा दुई विकेट लिइन् । रुविनाले १४ रनमा एक तथा ईश्वरीले १५ रनमा एक विकेट हात पारे ।