वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको लगातार दुई संस्करणको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले उचालेको छ। आदर्शनगर रंगशालामा शनिबार भएको दोस्रो संस्करणको उपाधि भिडन्तमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ३–० गोलअन्तरले हराउँदै पुलिसले उपाधि चुमेको हो।
खेलको सुरुवातमा हाबि देखिएको मच्छिन्द्र दोस्रो हाफमा कमजोर देखिएको थियो। ७औँ मिनेमा मच्छिन्द्रका खेलाडी आदित्य शाक्य सजिलो बललाई जाली चुमाउन चुकेका थिए।
पहिलो हाफमा लगातार दबाबमा देखिएको पुलिसले खेलको १२औँ मिनेटमा पहिलो गोल खाएको थियो। पहिलो गोल मच्छिन्द्रका खेलाडी समिरराज थोकरले गरेका थिए। गोल गर्नु केही सेकेन्ड अघि फ्रि बललाई मिस हानेका थोकरले पुनः हेड गरेर गोल गराएका हुन्। पहिलो गोल गरेर अग्रता बनाएको मच्छिन्द्रले पुलिसको पोष्टमा लगातार बल प्रहार गरिरहेको थियो।
खेलको ५८औँ मिनेटमा पुलिस क्लबका खेलाडी विकाश विकले टिमलाई खेलमा फर्काएका थिए। पहिलो हाफमा मैदान बाहिर बसेका विक मैदान छिरेको केही मिनेटमै गोल गर्न सफल भए। उनको गोलले नै खेललाई टाइब्रेकरमा पुर्याएको थियो।
टाइब्रेकरमा पुलिस क्लबका कप्तान रामचन्द्र वाजी, संजीव लामा, गोलकिपर अमित टामाटा र उज्जवल राइले बल हानेका थिए। जसमध्ये राईले हानेको बल पोष्टभन्दा बाहिर गएको थियो।
मच्छिन्द्रका विशाल तामाङ, दिवाकर चौधरी र समिरराज थोकरले बल हानेका थिए। तामाङ र चौधरीले हानेको बल पोष्ट बाहिर गएको थियो भने थोकरले हानेको बल किपरले रोकेका थिए।
विजेताले ११ लाख र उपविजेताले पाँच लाख पाए
मधेश प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकपको विजेता नेपाल पुलिस क्लबले ११ लाख ११ हजार १११ रुपैयाँ पाउँदा उपविजेता मच्छिन्द्र फुटबल क्लबले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ।
प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको थियो। प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड खर्च भएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि दुई हजारभन्दा धेरै दर्शक अट्ने गरी अस्थायी प्यारापिट निर्माण गरिएको थियो।
उत्कृष्ट पुरस्कारमा पुलिस हाबी
प्रतियोगीताको उत्कृष्ट पुरस्कारमा नेपाल पुलिस क्लब नै हाबि भएको छ। उत्कृष्ट गोलकिपर पुलिसका अमित टामाटा घोषित भए। उनले नगद २० हजार पाए।
यस्तै उत्कृष्ट खेलाडीमा घोषित पुलिसकै कप्तान रामचन्द्र वाजीले विद्युतीय स्कुटर पाए। उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका चेतन घिमिरे घोषणा भए। उनले २० हजार रुपैयाँ प्राप्त गरेका छन्।
फाइनल खेलको म्यान अफ दि म्याच भने मच्छिन्द्रका समिरराज थोकर भए। उनले नगद १० हजार हात पारे।