नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र मलेसियाबिच तय खेल दशरथ रंगशालामा नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आगामी २५ मार्चमा तय ‘होम म्याच’ दशरथ रंगशालामा नहुने पक्का भएको हो । आयोजक एसियाली फुटबल महासंघ (एएफसी)ले मैदानको माटोको सतह र दुबो स्तरीय नभएको तथा सुरक्षाको कारण देखाउँदै खेल नहुने टुंगो लगाएको छ । ‘फ्लड लाइट’विना पनि खेल भने दिउँसो गर्न सकिने एएफसीले औँल्याएको छ ।
नेपालले एएफसी एसियन कप क्वालिफायर्स २०२७ अन्तर्गत तेस्रो चरणको छनोट खेलमा मलेसिया भियतनाम र लाओससँग खेल्दै छ । ‘२५ मार्चमा रंगशालामा हुने भनिएको खेल मैदानमा माटोको सतह र दुबो स्तरीय नभएको तथा सुरक्षाको कारण देखाउँदै एएफसीले नेपालमा नहुने भनेको छ । एएफसीले निरीक्षण टोलीको प्रतिवेदनपछि खेल सारेको हो । उसले अन्तर्राष्ट्रिय मान्यताका लागि मापदण्ड पूरा नगरेको भनेको छ । राखेपका परामर्शदाताले असारभित्र आवश्यक कागजात दिलाउने जानकारी दिए पनि पूरा नगरेपछि मलेसियासँगको नहुने भएको हो,’ एन्फा प्रवक्ता सुरेश शाहले नयाँ पत्रिकासँग भने ।
समूह ‘एफ’को पहिलो खेल मलेसियासँग दशरथ रंगशालामा हुने तय थियो । तर, पटक–पटक अन्तर्राष्ट्रिय मान्यता नपाएको दशरथ रंगशालाले यसपटक पनि खेल खेलाउन पाउनेछैन । नेपालमा तय खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा हुने एएफसीले जनाएको छ । सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा २४ राष्ट्र छनोट खेल्दै छन् । सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता मात्र एसियन कपमा छनोट हुनेछन् ।
राखेपकै कारण खेल हुन सकेन
पछिल्लो समय दशरथ रंगशालाको प्रयोग कसले गर्ने भन्नेबारे विवाद छ । सोहीकारण पनि मलेसियासँग खेल हुन नसकेको एन्फा स्रोतले बतायो । यो मैदानको स्वामित्व राखेपसँग छ । पछिल्लो समय मैदानको हेरचार तथा निर्माण कार्य एन्फाले गरेको थियो । तर, पछिल्लोपटक बहराइनसँगको खेल पनि नभएपछि राखेप विवादमा पर्यो । राखेपमाथि फुटबलभन्दा पनि गैरफुटबलमा आयोजना गर्न दिएको आरोप छ ।
आफूमाथि सबै आरोप लागेपछि सदस्यसचिव टंकलाल घिसिङले एन्फालाई दिएको जिम्मेवारी खोस्दै राखेपमातहत नै रंगशाला ल्याए । तर, गत असारमै राखेपले सुरक्षा र मैदानस्तरीय भएको अनुमति लिएन । जसका कारण एएफसीले खेल सारेको प्रवक्ता शाहले बताएका छन् ।
मलेसियाविरुद्धको अर्काे खेल नेपालमै हुने
प्रवक्ता शाहले खेल मिति परिवर्तन गरेको पनि बताएका छन् । उनका अनुसार २५ मार्चको नेपालको होम खेल मलेसियालाई आयोजना गर्न दिइएको छ । तर, मलेसियाले १८ नोभेम्बरमा आयोजना गर्ने होम म्याच नेपालमा सारिएको शाहले जानकारी गराए । ‘दुवै खेल मलेसियामा हुने भनिएको होइन । मैदान अभावले हाम्रो होम म्याच मलेसिया सारिएको हो । हामीले एएफसीसँग सहकार्य गरेर मलेसियाको होम म्याच नेपालमा ल्याउने तयारी गरेका छौँ ।’ यता, एएफसीले पनि दोस्रो खेल हुने स्थान तय गरिसकेको छैन ।
महिला फुटबललाई भने मान्यता
बुधबार मात्रै सम्पन्न महिला फोर नेसन्स कपलाई भने एएएफसीले मान्यता दिएको थियो । दशरथ रंगशालामै म्यानमारले नेपाललाई १–० ले हराउँदै उपाधि नै जित्यो । प्रतियोगितामा नेपाल र म्यानमारसहित लेबनान र किर्गिस्तान सहभागी थिए । यसअघि पनि दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप नेपालमै आयोजना भएको थियो । त्यस्तै, एएफसी च्यालेन्ज लिगअन्तर्गत भुटानको पारो एफसीले दशरथ रंगशालामै लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग खेलेको थियो ।
मलेसियाअघि सिंगापुरसँग खेल्ने
पुरुष टिमले मलेसियासँग खेल्नुअघि सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । सिंगापुर फुटबल संघले नेपालसँगको तालिका सार्वजनिक गरेको छ । खेल २१ मार्चमा सिंगापुरमै हुनेछ । त्यसपछि नेपाली टिम मलेसिया पुग्ने एन्फा स्रोतले बतायो । हाल सिंगापुरसमेत एसियन कपको छनोट तयारीमा छ । उसले सोही दिन हङकङसँग खेल्ने तालिका छ । यता, एन्फाले सिंगापुरसँग खेल्ने विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
बहराइनसँगको खेलपछि मन्त्रालय र राखेपमा उजुरी
पछिल्लो वर्षमा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल नै विपक्षीको मैदानमा खेल्दै आएको छ । गत वर्ष चैतमा नेपालले बहराइनसँग होम म्याच खेल्नुपर्ने थियो । दशरथ रंगशालाको सुरक्षा अवस्था कमजोर भएको, फ्लड लाइटको लक्स नपुगेको, दुबोको स्तर र मैदानको सतह नराम्रो भएको जनाउँदै खेल बहराइन नै पुगेको एन्फाको दाबी थियो ।
तर, यो सबै कार्य गर्न एन्फाले भ्रम सिर्जना गरेको, पदाधिकारीलाई खुसी गराउन विदेश भ्रमण राखिएको, खेल सारिएबापत बहराइन एफसँग पैसा लिएको र खेल मिलेमतो गरेको भन्दै युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले उजुरी हालेका थिए । गत मंसिरमै उजुरी परे पनि मन्त्रालय र राखेपले यस विषयमा कुनै चासो देखाएका छैनन् । त्यस्तै, युएईविरुद्ध खेल्नुपर्ने म्याच पनि साउदी अरेबियामा गएर नेपालले खेलेको थियो ।