समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका– ३ लोडचौरमा रहेको हाई अल्टिच्युट रंगशाला निर्माण अन्योलमा परेको छ । रंगशाला निर्माण थालिएको सात वर्ष हुँदा पनि यसले पूर्णता पाउन सकेको छैन । मालिका माध्यमिक विद्यालयको मैदान र स्थानीयका जग्गामा बहुउद्देश्यीय खेल प्रशिक्षण रंगशाला निर्माण सुरु गरिएको हो ।
स्थानीय र स्कुलको जग्गा प्राप्त नभएको, जनप्रतिनिधिबिच राय नमिल्दा र विनियोजित बजेट निकासा नहुँदा सात वर्षअघि निर्माण कार्य सुरु भएको रंगशालाले पूर्णता नपाएको हो । जिल्ला खेलकुद विकास समिति जुम्लाले ३२ करोड तीन लाख बजेटको डिपिआर तयार गरेको थियो । ३ पुस ०७४ पुसमा तत्कालीन खेलकुद मन्त्रालयका सचिव महेश दाहालको नेतृत्वमा प्रशिक्षण सेन्टरको सम्भाव्यता अध्ययनसमेत गरेको थियो ।
जग्गा एकीकरणपछि रंगशाला निर्माण कार्यमा अहिलेसम्म मैदान मिलाउन दुई करोड ५० लाख खर्च भएको छ । यस वर्ष बजेट अभावले निर्माण कार्य खासै अगाडि बढेको छैन । चालू आर्थिक वर्ष ०८१/०८२ मा ६ करोड ३० लाख बजेट विनियोजन भएको छ । सहरी विकास तथा भवन निर्माण आयोजनाले जुम्लामा दुई करोड ३० लाख र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत स्थानीय विकास कार्यालय सुर्खेतमा चार करोड बजेट विनियोजन गरेको छ ।
- स्थानीय र स्कुलको जग्गा प्राप्त नभएको, जनप्रतिनिधिबिच राय नमिल्दा र विनियोजित बजेट निकासा नभएपछि निर्माण सुरु भएको सात वर्षसम्म पनि रंगशालाले पाएन पूर्णता
जग्गा एकीकरण नै मुख्य विवाद
एथलेटिक्स प्रशिक्षक तथा धावक हरिबहादुर रोकायाले हाई अल्टिच्युट रंगशाला निर्माणका नाममा स्कुलको मैदान बनाउन दुई करोड ५० लाख सकिएको बताए । उनका अनुसार अहिलेसम्म रंगशालाको नाममा जग्गा नै प्राप्ति भएको छैन । ‘यहाँ बजेट ल्याउने र सकाउने काम मात्रै भएको छ,’ रोकायाले भने, ‘रंगशाला बन्ने स्थिति देखिँदैन, सात वर्षदेखि जग्गा प्राप्तिको टुंगो लगाउन सकिएको छैन, यही नै मुख्य समस्या हो ।’ पातारासी गाउँपालिका– ३ का वडाध्यक्ष गोविन्द रावतले लोडचौरको स्कुल र स्थानीयको गरी ५० हजार वर्गमिटर जमिन रहेको बताए । ‘स्थानीयवासी निःशुल्क जग्गा दिन तयार छन्, कित्ताकाट गर्न आवश्यक कागजात तयारी भएको छ,’ रावतले भने, ‘यही क्षेत्रमा रंगशाला निर्माण गर्न दुई करोड ५० लाख बजेट खर्च भइसकेको छ, जनप्रतिनिधिबिच नै कुरा नमिल्दा निर्माण कार्य अन्योल भएको हो ।’
स्कुलको मैदानभित्रै संरचना र पर्खाल निर्माण भएको उनले बताए । ‘स्कुल अर्काे ठाउँ सार्ने हो, नसारे पनि स्कुलका लागि केही जग्गा छोडेर भए पनि रंगशाला निर्माण हुनुपर्छ,’ रावतले भने, ‘राखेपका प्राविधिकहरूले स्कुलकै जग्गामा निर्माण गर्न माटो परीक्षण गरेका छन् ।’
मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक जगतबहादुर शाहीले सय मिटर लम्बाइ र ५० मिटर चौडाइ स्कुललाई छाडेको अवस्थामा रंगशाला बनाउन सकिने सुझाव दिएका छन् । ‘स्कुलका केही भाग छाडेर यसै स्थानमा रंगशाला निर्माण गर्न सकिन्छ, तर स्थानीय र जनप्रतिनिधिबिच सहमति हुनुपर्छ,’ शाहीले भने । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले सात वर्षको प्रयासपछि पनि जग्गा प्राप्ति गर्न नसक्दा समस्या आएको बताए ।
बजेट फ्रिज हुने अवस्थामा
पातारासी हाई अल्टिच्युट खेलमैदानको जग्गा विवादका कारण बजेट विनियोजन भए पनि ठेक्का लाग्न नसकेको सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका प्रमुख राजेन्द्र खतिवडाले बताए । ‘परियोजनाका लागि दुई करोड ३० लाख बजेट विनियोजन भएको छ । ठेक्का नलागेपछि बजेट फ्रिज हुने सम्भावना देखिएको छ,’ खतिवडाले भने । हाई अल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराँते, बक्सिङ, तेक्वान्दो, बास्केटबल, एथलेटिक्सलगायत दुई दर्जनभन्दा बढीका खेलमैदान निर्माण गरिने डिपिआरमा उल्लेख छ । स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिने उल्लेख छ ।