इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बताएका छन्।
नर्वेस्थित इरान ह्युमन राइट्स (आइएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी (इसिपिएम)’का अनुसार सन् २००८ पछि इरानमा सन् २०२४ मा मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा बढी संख्या हो।
इरानले मृत्युदण्डलाई ‘राजनीतिक उत्पीडनको मुख्य हतियार’का रूपमा प्रयोग गरेको आरोप लगाउँदै संयुक्त प्रतिवेदनमा भनिएको छ, ‘यो आँकडाले सन् २०२४ मा इरानमा मृत्युदण्डको प्रयोगमा डरलाग्दो वृद्धि भएको देखाउँछ।’
‘यी मृत्युदण्डहरू इस्लामिक गणतन्त्रले सत्तामा आफ्नो पकड कायम राख्न आफ्नै जनताविरुद्ध गरेको युद्धको एक हिस्सा हो,’ आइएचआरका निर्देशक महमुद अमिरी मोगद्दामले भने, ‘इरान र इजरायलबिच युद्धको खतरा बढ्दै जाँदा वर्षको अन्तिम तीन महिनामा हरेक दिन औसतमा पाँचजनालाई मृत्युदण्ड दिइएको छ।’
इरानमा सन् २०२३ मा ८३४ जनालाई मृत्युदण्ड दिइएको थियो। गत वर्षको तुलनामा यो वर्ष मृत्युदण्डको सजाय पाएकाको संख्या १७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। मृत्युदण्ड दिइएका ९७५ जनामध्ये चारजनालाई सार्वजनिक स्थानमा फाँसी दिइएको थियो भने ३१ जना महिला थिए।
विरोध प्रदर्शन गर्नेलाई समेत मृत्युदण्ड
मानव अधिकारवादी समूहका अनुसार चीनपछि इरान विश्वकै सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुक बनेको छ। सन् २०२२ मा देशव्यापी विरोध प्रदर्शन सुरु भएपछि जनतामा डर छर्न अधिकारीहरूले मृत्युदण्डको प्रयोगलाई वृद्धि गरेको आरोप उनीहरूले लगाएका छन्।
सन् १९७९ को क्रान्तिले पश्चिमासमर्थित मोहम्मद रेजा पहलबी (शाह)लाई सत्ताच्युत गरेपछि स्थापित सरियामा आधारित न्यायिक प्रणालीको प्रमुख खम्बा मृत्युदण्ड हो।
मृत्युदण्डको सजाय हुने अपराधहरूमा हत्या, बलात्कार र लागुपदार्थका अपराधहरू समावेश छन्। तर, ‘सामाजिक मूल्यमान्यता र मानवीय मर्यादाविपरीत’ आचरण र ‘राज्यविरोधी गतिविधि’जस्ता अस्पष्ट शब्दहरूको प्रयोग गरी पनि मृत्युदण्डको सजाय दिइने गरेको अधिकारकर्मीहरूले बताएका छन्। उनीहरूका अनुसार यी शब्दजाल सरकारसँग भिन्न धारणा राख्ने असन्तुष्टहरूविरुद्ध प्रयोग गरिने गरेको पाइन्छ।
हालैका वर्षहरूमा मृत्युदण्डको सजाय सुनाइएकाहरूलाई प्रायजसो जेलपरिसर र कहिलेकाहीँ सार्वजनिक रूपमा फाँसी दिएर मृत्युदण्ड दिइने गरेको छ। यद्यपि, अन्य विधिहरू विधान पुस्तकहरूमा उल्लेख गरिएअनुसार रहन्छन्।
सन् २०२२ को सेप्टेम्बरमा इरानको अनिवार्य ड्रेस कोड उल्लंघन गरेको आरोपमा पक्राउ परेकी इरानी–कुर्दिश महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा गत वर्ष दुईजनालाई मृत्युदण्ड दिइएको थियो।
सन् २०२२ को अक्टोबरमा भएको प्रदर्शनका क्रममा एक प्रहरी अधिकारीको कारले हानेर हत्या गरेको आरोपमा २३ वर्षीय मोहम्मद घोबादलुलाई जनवरी २०२४ मा मृत्युदण्ड दिइएको थियो। मानव अधिकारवादी समूहहरूले उनको मुद्दा निकै त्रुटिपूर्ण भएको आरोप लगाएका छन् र न्यायाधीशहरूले उनी द्विध्रुवी विकार (बाइपोलर डिसअर्डर अर्थात् म्यानिक डिप्रेसन)बाट पीडित भएको प्रतिरक्षामा प्रस्तुत प्रमाणलाई बेवास्ता गरेका छन्।
सन् २०२२ को प्रदर्शनका क्रममा रिभोल्युसनरी गार्डको हत्या गरेको आरोपमा ३४ वर्षीय घोलामरेजा रसाइलाई गत अगस्टमा गोप्य रूपमा मृत्युदण्ड दिइएको थियो। अधिकारकर्मीहरूले उनको स्वीकारोक्ति यातनाबाट प्राप्त भएको बताएका छन्।
अधिकारवादी समूहहरूले इरानले गत वर्ष थप मृत्युदण्ड दिएको हुन सक्ने प्रमाण रहेको र उनीहरूले आफ्नो प्रतिवेदनको पुष्टि गर्न नसकेको बताएका छन्।
उनीहरूले सन् २०२४ मा थप ३९ जनालाई मृत्युदण्ड दिइएको खबर आएको र दोस्रो स्रोतबाट पुष्टि गर्न नसकिएको बताएका छन्। आइएचआरको तथ्यांकअनुसार यस वर्ष इरानले कम्तीमा १२१ जनालाई मृत्युदण्ड दिइसकेको छ।