अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न आतुर रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको सम्पूर्ण जनसंख्यालाई विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अरब समुदायबाट यसको व्यापक विरोध भएको थियो ।
विदेशमन्त्री रुबियोले इजिप्ट र जोर्डनसँग वासिङ्टनमा भएको वार्तापछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र इजरायलमा रहँदा आफूले उनीहरूका विचारबारे छलफल गर्ने बताए। रुबियोले अरब राष्ट्रहरूबारे भने, ‘आशा छ, उनीहरूसँग राष्ट्रपतिलाई प्रस्तुत गर्ने वास्तवमै राम्रो योजना हुनेछ।’
‘अहिले गाजाको सम्बन्धमा एक मात्र ट्रम्पको योजना हो, तर यो उनीहरू (अरब समुदाय)लाई मन परेको छैन । त्यसैले, यदि उनीहरूसँग राम्रो योजना छ भने, अब यसलाई प्रस्तुत गर्ने समय हो,’ रुबियोले परम्परावादी ‘होस्ट’हरू क्ले ट्राभिस र बक सेक्सटनको रेडियो साेसँगको कुराकानीमा भने।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफू सत्तामा आएसँगै गाजाका छिमेकी इजिप्ट र जोर्डनले गाजामा २० लाखभन्दा बढी प्यालेस्टिनीलाई स्वीकार नगरे त्यसको परिणाम उनीहरूले नै भोग्नुपर्ने चेतावनी दिएका थिए। रुबियोले भने, ‘यी सबै देशहरूले प्यालेस्टिनीहरूको ख्याल राखेको देखाउन चाहन्छन्, तर उनीहरूमध्ये कोही पनि प्यालेस्टिनीलाई लिन चाहँदैनन्। तीमध्ये कसैले पनि गाजाका लागि केही गरेको इतिहास छैन।’
जोर्डनले २० लाखभन्दा बढी प्यालेस्टिनी शरणार्थीलाई आश्रय दिइसकेको छ। कूटनीतिज्ञहरूका अनुसार इजिप्टले केही हप्ताभित्र ट्रम्पलाई विकल्प प्रस्तुत गर्ने प्रयासको नेतृत्व गरिरहेको छ। इजिप्टको प्रस्तावमा गाजामा नयाँ सुरक्षा बललाई प्रशिक्षण दिने र स्थानीय प्यालेस्टिनी नेताहरूको पहिचान गर्ने विषय समावेश छ।
अरब राष्ट्रहरूले ‘असल नियतका साथ काम गरिरहेका छन्’ भन्ने आफूलाई विश्वास रहेको बताउँदै रुबियोले भने, ‘प्यालेस्टिनी भूमिमा भविष्यमा हमासको कुनै पनि प्रशासनिक भूमिका हुन नहुने इजरायल र अमेरिकाको धारणा छ।’
‘यदि यस क्षेत्रका देशहरूले यो टुक्रा पत्ता लगाउन सक्दैनन् भने, इजरायलले यो गर्नुपर्नेछ, र त्यसपछि हामी जहाँ थियौँ त्यहाँ फर्कनेछौँ,’ उनले भने। रुबियोका पूर्ववर्ती एन्टोनी ब्लिन्केनले प्यालेस्टिनी प्राधिकरणले गाजालाई आफ्नो नियन्त्रणमा लिन नसकेसम्म अन्तर्राष्ट्रिय शक्ति र संयुक्त राष्ट्रसंघले गाजामा अस्थायी भूमिका निर्वाह गर्ने योजना अघि सारेका थिए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कट्टर दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै लामो समयदेखि प्यालेस्टिनी राज्यको विरोधको एक भागको रूपमा वेस्ट बैंकमा आधारित प्यालेस्टिनी प्राधिकरणलाई कमजोर पार्न खोजेका छन्।