केपी ओली कपको विजेताले १५ लाख पाउने, ११ फागुनबाट सुरु

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुन ११ गतेदेखि १९ गतेसम्म हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले केपी ओली कपबारे जानकारी दियो ।

प्रतियोगिताको क्वार्टरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदान तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

प्रतियोगितामा सहभागिताका लागि खुला आह्वान गरिनेछ । सोहीअनुसार सहभागी हुने टोली छनोट गरिनेछ । जसमा नेपालका ‘ए’ डिभिजन लिग तथा विदेशी क्लबहरू सहभागी हुने आयोजक संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

थेबेको अनुसार प्रतियोगितामा सहभागिताका लागि भारतको एफसी गोवा, भुटानको थिम्पु सिटीसहित अस्ट्रेलिया, जापान र उज्वेकिस्तानका टोलीले चासो देखाएका छन् । 

यसैगरी, अध्यक्ष थेबेले यो प्रतियोगितालाई राजनीतिको दृष्टिकोणले हेर्नु नहुने धारणा राखेका छन् । उनले भने, ‘केपी ओली कपले कुनै पनि पार्टीको प्रचार–प्रसारका लागि झन्डा राखेको छैन । पार्टीको भ्रातृ संगठन भए पनि हामी त्यहाँ राजनीति गर्दैनौँ । हाम्रो मुख्य उद्देश्य फुटबलको विकास गर्नु हो ।'

तेस्रो संस्करणमा पुरस्कार रकम वृद्धि भएको छ । यसपटक विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल  प्राप्त गर्नेछन् ।

गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो । यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीलाई समान ५० हजार र ‘प्लेयर अफ दी म्याच’लाई १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र, मेडल  प्रदान गरिनेछ  ।

त्यस्तै, हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउनेछ । यसअघि दुवै संस्करण मछिन्द्रले जितेको थियो ।

सुझावित समाचार