हमासले गर्‍यो चार बन्धक रिहा, बदलामा २०० प्यालेस्टिनी मुक्त

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)ले चारजना इजरायली बन्धकलाई रिहा गरेको छ । कैदी आदानप्रदान कार्यक्रमअन्तर्गत हमासले शनिबार चार महिला बन्धक रिहा गरेको हो । बन्धकलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चारवटा गाडीमा इजरायलतर्फबाट ल्याइएका करिब २०० प्यालेस्टिनी र हमासले रिहा गरेका चार इजरायलीको आदानप्रदान गरिएको थियो ।

इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग छन् । अल्बाग १९ वर्षीया हुन् भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् । गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली कारागारमा आजीवन कारावासको सजाय भोगिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चारजना इजरायली बन्धक सैनिकलाई मुक्त गरिएको प्यालेस्टाइनले पुष्टि गरेको छ ।

हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले शुक्रबार टेलिग्राममा जारी विज्ञप्तिमा भनेका छन्, ‘कैदी आदानप्रदान सम्झौताअन्तर्गत कासम ब्रिगेडले चारजना बन्धक महिला रिहा गरेको छ ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बन्धकहरू रिहा भएको पुष्टि गरेको छ । इजरायलको जेल सेवाका अनुसार रिहा भएका प्यालेस्टिनीमध्ये केही प्यालेस्टिनी गाजा जानेछन् भने बाँकी वेस्ट बैंकमा फर्किनेछन् ।

इजरायलको इतिहासमै हमासले गरेको सबैभन्दा घातक आक्रमणपछि गाजामा बन्धक बनाइएका परिवारका सदस्य १५ महिनादेखि आफ्ना प्रियजनको पुनरागमनको पर्खाइमा छन् । युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको छ । गत आइतबारदेखि सुरु भएको पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ । बन्धक बनाइएका तीन इजरायली एमिली डामारी, रोमी गोनेन र डोरोन स्टेनब्रेचर घर फर्किसकेका छन् । बदलामा अधिकांश महिला र नाबालिकसहित ९० जना प्यालेस्टिनीलाई रिहा गरिएको थियो ।

See More On

सुझावित समाचार