आइटी एक्स्पर्ट सुनीलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक भएको छ । धुम्बाराहीस्थित अकमा होटेलमा आयोजित एक कार्यक्रमबिच स्वामी डा. केशवानन्द गिरीको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो ।
प्रमुख अथितिका साथमा कार्यक्रमका सभापति डा. कृष्णचन्द्र साह, साहित्यकारद्वय राजेन्द्र विमल र डा. रामदयाल राकेश, कानुनविद् उमेशचन्द्र झा, वरिष्ठ पत्रकार तथा पुस्तकका समीक्षक कृष्णमुरारी भण्डारी, सम्पादक दिनेश पौडेल र लेखक झाबाट संयुक्त रूपमा कृतिको लोकार्पण भएको थियो ।
सोही कार्यक्रममा डिएल भण्डारीको ‘दी अनसिन पोएट अफ सिमरा : कवि सदानन्द झा’ पनि सार्वजनिक गरिएको थियो । प्रमुख अथिति स्वामी केशवानन्दले आफूलाई लेखक र किताबको शक्तिले तानेर कार्यक्रममा ल्याएको बताए । उनले भने, ‘म प्रायः यस्ता कार्यक्रमहरूमा जान्नँ । तर, पुस्तक पल्टाएर हेरेँ, रामायण, महाभारत, दर्शन र नीतिका कुरा छन् । पुस्तक लिएर आइटी इन्जिनियर सुनीलजी जानुभएको छ, जो बुढापाका र आफ्नो धर्म–संस्कृतिको कुरा गर्नुहुन्छ । मलाई सुनीलजीका कुरा र किताबको शक्तिले यो कार्यक्रममा लिएर आयो । हाम्रा धर्म, नीति, दर्शन, संस्कृति र माटोको सुगन्ध पुस्तकमा जताततै छ ।’
उनले विमोचित पुस्तकले हाम्रा धेरै कुराहरू आउँदो पुस्तामा हस्तान्तरण गरेको बताए । साथै, उनले पुस्तकमा प्रयोग गरिएको भाषा र त्यसको शुद्धताको पनि तारिफ गरे ।
पुस्तकका सम्पादक दिनेश पौडेलले पुस्तकको सम्पादनका क्रममा धेरै मिहिनेत गरेको बताए । सर्लाहीका गाउँगाउँमा अहिले पनि लेखकका काका कवि सदानन्द झाका कविता मुखमुखमा रहेको उनकाे भनाइ थियाे ।
पुस्तकका लेखक सुनील झाले सानै उमेरबाट काका (बडाबा) सदानन्द झाबाट ज्ञानगुनका कुराहरू सुन्ने गरेको स्मरण गर्दै भने, ‘मैले सानोमा त काकाले भनेका धेरै कुराहरू बुझिनँ, तर जब अमेरिका पुगेँ तब काकाले भनेका कुराहरूले मलाई पथप्रदर्शन गरे । जब सफलता प्राप्त गरेँ अनि काकाका विचार र कुराहरूलाई प्रकाशनमा ल्याउनुपर्छ भन्ने लाग्यो । देशमा हुँदाका पीडा, विदेशको पीर, काकाका कुरा तथा आफ्नै सफलताका कुरा समेटेर पुस्तक प्रकाशन आयो ।’
लेखक झाले प्रस्तुत पुस्तक आफ्नो माध्यम भएर प्रकाशनमा आएको काकाकाे विचार, नीति कथा र ज्ञानको समष्टि रूप भएकोसमेत बताए । साहित्यकार राजेन्द्र विमलले किताब पढ्दा एकैपटक धेरै विद्वान् र सन्तहरूको सम्झना भएको बताए । उनले भने, ‘जहाँ हृदय झुक्दैन त्यहाँ शिर झुकाउन हुँदैन । तर, यो कृति पढ्दा, कवि सदानन्दप्रति मेरो हृदय झुक्यो ।’