१०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति तथा राष्ट्रपति रनिङ सिल्डको सुनिश्चितताका लागि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा प्रदेश खेलकुद परिषद् गण्डकीको पत्र
प्रदेश खेलकुद परिषद् गण्डकीले १०औँ राष्ट्रिय खेलकुदसँगै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सम्बन्धमा खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग छलफलका लागि पत्र पठाएको छ । प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले दुई मुख्य निर्णय र अन्य विभिन्न प्रस्तावको विषयमा छलफल गर्न मन्त्रालय र राखेपमा पत्राचार गरेको हो । परिषद्ले आधिकारिक रूपमा आफूलाई दशौँ राष्ट्रिय खेलकुद स्थगित भएको सम्बन्धित निकायबाट जानकारी नगराएको बताएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २–९ मंसिरसम्म कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलको मिति घोषणा गरेको थियो । दुई वर्षअघि आयोजक कर्णालीले दशौँ राष्ट्रिय खेलको झन्डा बोकेको थियो । सरकारले प्रतियोगिता आयोजना गर्न आर्थिक वर्ष ०८१/८२ मा ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । तर, खेलकुदमन्त्री र राखेपका सदस्यसचिवबिचको टकरावका कारण दशौँ राष्ट्रिय खेल तोकिएको समयमा हुन सकेन ।
मन्त्रालय र राखेपले समेत नयाँ मिति घोषणा गरेका छैनन् । प्रदेश खेलकुद परिषद्ले सुर्खेतमा हुने राष्ट्रिय खेलका लागि गण्डकीले अन्तिम तयारी गरिसकेको जनाएको छ । तर, निर्धारित समयमा प्रतियोगिता नै नहुँदा आफूहरू अन्योलमा परेको परिषद्का सदस्यसचिव श्रीधर शर्माले बताए । ‘घोषित मितिमा प्रतियोगिता नहुँदा तथा नयाँ आयोजनाको मिति आधिकारिक रूपमा घोषणा नभएकाले हामी सबैमा अन्योल सिर्जना भएको छ,’ उनले भने ।
यसैबिच, राखेपका सदस्यसचिव घिसिङले गण्डकीको परिषद्को पत्र स्वाभाविक भएको बताएका छन् । ‘प्रतियोगिता र खेलाडीको विषयमा चिन्ता र चासो राख्नु सकारात्मक पक्ष हो,’ उनले भने, ‘जुन प्रकारको पत्र आएको छ, यसको समाधानका लागि सहयोग गर्न तयार छु ।’ घिसिङले राखेपको बोर्ड बैठक नबस्दासम्म दशौँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गर्न नमिल्ने बताए । ‘राखेपको बोर्ड बैठकका लागि मन्त्रीज्यूलाई तीनपटकसम्म पत्राचार गरिसकेको छु,’ उनले भने, ‘बोर्ड बैठकले नयाँ मिति प्रस्ताव गर्नेछ, त्यसपछि क्याबिनेटबाट पास हुनेछ ।’
प्रदेश खेलकुद परषद्का सदस्यसचिव शर्माले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ (२) (ञ) ले व्यवस्था गरेको सदस्यमध्येको एक बोर्ड सदस्य परिषद्कै सदस्यसचिव रहेकाले सोही अधिकारका आधारमा मन्त्रालय र राखेपलाई पत्राचार गरेको जनाए । ‘खेलकुद विकास ऐनमा व्यवस्था भएअनुसारका विषयमा छलफल गर्न मन्त्रालय र राखेपलाई पत्राचार गरेका हौँ,’ शर्माले भने ।
यसैगरी, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले केन्द्रका कारण नै प्रतियोगिता घोषित समयमा हुन नसकेको बताए । ‘पूर्वाधारका कारण प्रतियोगिता निर्धारित समयमा गर्न नसकेका होइनौँ, नयाँ मिति दिँदा अझै गर्न तयार छौँ,’ सञ्ज्यालले भने, ‘के–कति कारणले भएन, यसको विश्लेषण हुनुपर्छ ।’
‘गण्डकीमा बजेट विनियोजन भएन’
केन्द्र सरकारले प्रत्येक प्रदेशमा राखेपको आयोजनामा हुने विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि बजेट छुट्याउने गरेको छ । राखेपले प्रत्येक पालिकालाई एक लाख र प्रदेशलाई ६५ लाखसम्म प्रतियोगिता आयोजना गर्न अनुदानस्वरूप बजेट विनियोजन गरेको छ ।
तर, चालू आवमा गण्डकी प्रदेशले अहिलेसम्म बजेट प्राप्त नगरेको सदस्यसचिव शर्माले बताए । ‘लामो समयदेखि राखेपले आयोजना गर्दै आएको विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्न प्रत्येक पालिकालाई एक लाख र प्रदेशलाई ६५ लाखका दरले केन्द्र सरकारको बजेटमा ससर्त अनुदान विनियोजन हुँदै आएको थियो, तर चालू आवमा विनियोजन भएको रकम प्राप्त भएको छैन,’ उनले भने ।
राखेपले आफ्नो लागि छुट्याएको एक करोड ७५ लाख बजेट कार्यक्रमका लागि राखेको शर्माको भनाइ छ । रनिङ सिल्ड प्रतियोगिताको निरन्तरता गराउन तत्काल बजेट आवश्यक रहेको उनको भनाइ छ । ‘बजेट विनियोजन नहुँदा पालिका, जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता आयोजना र सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको छ, यसको सुनिश्चितता गराउन पनि आवश्यक छ,’ उनले भने । सम्बन्धित निकायबाट प्रतियोगिता सञ्चालनका लागि बजेट निरन्तरता हुने वा नहुनेसमेत जानकारी नभएको शर्माले बताए ।