सरकारले आम्दानी र खर्चको तालमेल मिलाउन नसक्दा दुई वर्षयता संघीय सञ्चित कोष लगातार घाटामा गएको छ । आम्दानीभन्दा बढी खर्च गर्दा संघीय सरकारको सञ्चित कोष ऋणात्मक भएको हो ।०७६/७७ देखि ०७८/७९ सम्म लगातार तीन आर्थिक वर्ष सञ्चित कोष बचतमा रहेको थियो । तर, त्यसयताका दुई आर्थिक वर्षमा भने सञ्चित कोष ऋणात्मक देखिएको छ । नगद प्रवाहमा आधारित लेखाप्रणाली भए पनि सरकारले सन्तुलन नमिलाउँदा सञ्चित कोष ऋणात्मक बनिरहेको हो ।
आर्थिक वर्ष ०८०/८१ मा सञ्चित कोष ४३ अर्ब ७२ करोडले घाटामा गएको छ । त्यसअघि ०७९/८० मा सञ्चित कोष एक खर्ब २७ अर्ब ३५ करोडले ऋणात्मक थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष ०८०/८१ को अन्त्यसम्ममा सञ्चित कोष दुई खर्ब २४ अर्ब ९९ करोडले ऋणात्मक हुन पुगेको छ ।
आर्थिक वर्ष ०७२/७३ सम्ममा सञ्चित कोष २२ अर्ब ६५ करोड रुपैयाँ घाटामा रहेको थियो । पछिल्ला नौ आर्थिक वर्षमा सञ्चित कोषको नोक्सान दुई खर्ब दुई अर्ब ३४ करोडले बढेको देखिन्छ । आर्थिक वर्ष ०७५/७६ मा सञ्चित कोष एक खर्ब सात अर्ब ९४ करोड रुपैयाँ घाटामा गएको थियो । त्यस्तै, आर्थिक वर्ष ०८९/८० मा सञ्चित कोष एक खर्ब २७ अर्बले नोक्सानमा गयो । यी दुई आर्थिक वर्षमा भएका सञ्चित कोषको नोक्सानी हालसम्मकै सबैभन्दा उच्च हुन् ।
पछिल्लो समय राजस्व संकलन लक्ष्यअनुसार हुन नसक्दा सञ्चित कोष ऋणात्मक बनिरहेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले बताए । यद्यपि, सरकारले आय–व्ययको सन्तुलन मिलाउँदै नोक्सान राफसाफ गर्दै जाने उनले बताए ।
राजस्वमा दबाब पर्दा सञ्चित कोष ऋणात्मक बनिरहेको छ
महेश भट्टराई, प्रवक्ता, अर्थ मन्त्रालय
खासगरी कोभिडपछाडि लक्ष्यअनुसार राजस्व संकलन र खर्च हुन सकेको छैन । हाम्रो प्रणालीमै कोभिडले असर गरेको देखिन्छ । एउटा आर्थिक वर्षमा त राजस्व असुली ऋणात्मक नै भयो । यद्यपि, क्रमशः सुधार भने आइरहेको छ । पछिल्लो समय राजस्वमा दबाब परेका कारण सञ्चित कोषसमेत ऋणात्मक बनिरहेको छ । घाटा न्यून गर्दै, सञ्चित कोषको नोक्सानीलाई सन्तुलनमा ल्याउने हाम्रो प्रयास छ । दुई वर्षअघिको भन्दा गत वर्ष कम नोक्सान भएको छ । एकैपटक सबै नोक्सान राफसाफ गर्न गाह्रो छ, यद्यपि क्रमशः सन्तुलन मिलाउँदै जाने हाम्रो लक्ष्य छ ।
राजस्व संकलन लक्ष्यअनुसार हुन नसक्दा सञ्चित कोष ऋणात्मक बनिरहेको छ
महालेखा भन्छ– ऋणात्मक मौज्दात समायोजन गरी राफसाफ तिर्नुपर्छ
महालेखा परीक्षकको कार्यालयले आफ्ना वार्षिक प्रतिवेदनहरूमा संघीय सञ्चित कोषमाथि प्रश्न गर्दै आएको छ । महालेखाको पछिल्लो ६१औँ प्रतिवेदनले ‘नगदमा आधारित लेखाप्रणालीमा नगद तथा बैंकिङ मौज्दात ऋणात्मक हुनुको कारण यकिन नगरिएको भन्दै’ कैफियत औँल्याएको हो । महालेखाको ६०औँ प्रतिवेदनले ‘नेपाल सरकारको लेखा नगद आधारमा लेखांकन गर्दा कोषको मौज्दात ऋणात्मक हुन नसक्ने अवस्थामा विगत वर्षदेखि नै ऋणात्मक मौज्दात देखिएको छ,’ भन्दै कैफियत औँल्याइएको छ । त्यसअघि महालेखाको ५९औँ प्रतिवेदनले सञ्चित कोषको ऋणात्मक मौज्दात समायोजन गरी राफसाफ गरिनुपर्ने औँल्याएको छ ।
के हो सञ्चित कोष घाटा ?
नेपालको संविधान २०७२ को धारा ११६ ले संघीय सञ्चित कोषको व्यवस्था गरेको छ । ‘गुठी रकमबाहेक सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, राजस्वको धितोमा लिइएका सबै कर्जा, ऐनको अधिकारअन्तर्गत दिइएका जुनसुकै ऋण असुल हुँदा प्राप्त भएको सबै धन र नेपाल सरकारलाई प्राप्त हुने अन्य जुनसुकै रकम संघीय ऐनद्वारा अर्को कुनै व्यवस्था नगरिएमा एक सरकारी कोषमा आम्दानी बाँधिनेछ, जसलाई संघीय सञ्चित कोष भनिनेछ’ संविधानमा व्याख्या गरिएको छ । सामान्यतः आम्दानी र खर्चको तालमेल नमिल्दा सञ्चित कोष बचत वा घाटामा जाने गर्छ । खर्चको तुलनामा आम्दानी बढी हुँदा सञ्चित कोष बचतमा जान्छ भने आम्दानीको तुलनामा खर्च बढी हुँदा सञ्चित कोष ऋणात्मक हुने गर्छ ।