रास्वपा सांसद चौधरीलाई प्रहरीले कठालो समातेर भ्यानमा हाल्यो, चिया खान गएका ग्राहकलाई निषेधित क्षेत्र भन्दै नेपाल हाउसबाट निकालियो
सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै आन्दोलनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको बालुवाटार प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ । स्थानीय प्रशासनलाई बालुवाटारको नेपाल हाउसमा भेला भई प्रदर्शन गर्ने पूर्वजानकारी दिएकोमा मंगलबार निर्धारित समय दिउँसो १२ बजे नेता–कार्यकर्ता उपस्थित हुँदै गर्दा एक्कासि निषेधित क्षेत्र भन्दै धरपकड गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
उनका अनुसार रास्वपा केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका आन्दोलन संयोजक पुकार बम, सांसद अशोक चौधरी र केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, रास्वपा काठमाडौंका सभापति प्रदीप विष्ट, रास्वपा ललितपुरका सभापति बुद्धरत्न महर्जनसहित ५१ जनालाई प्रहरीले बालुवाटारबाट गिरफ्तार गरेको थियो । सबैलाई प्रहरीले साँझ रिहा गरेको छ । ‘बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम भइरहेका वेला राज्यले अनावश्यक बल प्रयोग गरेर तनावपूर्ण स्थिति सिर्जना गर्ने प्रयास गरेको छ,’ झाले भने, ‘प्रहरीले बल प्रयोग गरी रास्वपाका नेता, सदस्य तथा शुभेच्छुकलाई दुव्र्यवहारसहित गिरफ्तार पनि गरेको छ ।’ शान्तिपूर्ण विरोध गर्दा प्रहरीले बल प्रयोग गरी नेता, सदस्य र शुभेच्छुकलाई गिरफ्तार गर्नु स्वतन्त्रताको हकको हनन मात्र नभई संविधानको धारा २० मा प्रत्याभूत गरिएको न्यायसम्बन्धी हकमाथिको हस्तक्षेप भएको रास्वपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रहरीको कार्य नेपालको संविधान, कानुनलगायत अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको रास्वपाको ठहर छ । रास्वपाले शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोजेको भन्दै सरकारको रबैयाको निन्दासमेत गरेको छ ।
बोल्दाबोल्दै समातिए सांसद चौधरी
रास्वपा उपसभापति स्वर्णिम वाग्लेका अनुसार राजनीतिक प्रतिशोध, सहकारी बचत अपचलन ८८ अर्बको समाधानदेखि महाभ्रष्टाचार, युवा बेरोजगारी र संविधानकै पुनर्लेखनसम्म विषय उठाउन रास्वपाले बालुवाटारको नेपाल हाउसमा शान्तिपूर्ण खबरदारी कार्यक्रम राखेको थियो । सांसद गणेश पराजुलीले भेला हुने र निषेधाज्ञा नतोड्ने भनेर सरकारका सबै निकायलाई जानकारी गराइएको बताए । उनका अनुसार पूर्वनिर्धारित शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भयो भनेर सञ्चारकर्मीसँग बोल्दाबोल्दै सांसद अशोककुमार चौधरीलाई प्रहरीले बलजफ्ती भ्यानमा हालेको थियो । भ्यानभित्र हाल्दा प्रहरीले चौधरीको कठालो समातेका थिए । नेपाल हाउसमा आएका सबैलाई प्रहरीले निकालेको थियो । केहीलाई नियन्त्रणमा लिएर भ्यानमा हालेको थियो । सरकारले पसलमा चियासमेत खान नदिएको भन्दै आएका उपभोक्ताले आक्रोश पोखेका थिए । प्रहरीले यो निषेधित क्षेत्र हो भनेर माइकिङ गर्दै हट्न भनेको थियो । ‘हिजोसम्म यहाँ निषेधित क्षेत्र तोकिएको थिएन,’ पराजुलीले भने, ‘जनताको आवाज बोल्दा सरकारले यतिसम्म दमन र धरपकड किन गर्यो बुझ्न सकेको छैन । सत्ताको ज्यादती भयो ।’ निषेधित क्षेत्र भन्दै प्रहरीले धरपकड गरेपछि रास्वपा नेता–कार्यकर्ता र शुभेच्छुकले नाराबाजी गरेका थिए । ‘सहकारीपीडितलाई न्याय दे, ८७ अर्ब छानबिन गर, राजनीतिक प्रतिशोध बन्द गर, गिरफ्तार साथीहरूलाई रिहा गर, दुईतिहाइको पाराले दुःख पाए साराले, भ्रष्ट सरकार चाहिँदैन, न्याय मार्न पाइँदैन, निरंकुश सरकार मुर्दावाद’लगायत नारा प्रदर्शनकारीले लगाएका थिए । सांसदहरू हरि ढकाल, गणेश पराजुली, असिम शाहले प्रदर्शनको नेतृत्व गरेका थिए ।
सत्तापक्षका नेताहरूलाई सरकारले नै उन्मुक्ति दिएको आरोप
प्रदर्शनकै बिचमा सभालाई रास्वपा उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सोविता गौतम, सुमना श्रेष्ठ र सन्तोष परियारले सम्बोधन गरेका थिए । उपसभापति अर्यालले विधिको शासन, संविधान, कानुनलाई दुईतिहाइ सरकारले सम्मान गर्नुपर्ने बताए । ‘रवि लामिछाने भागेर जाने, प्रमाण नष्ट गर्ने, बाहिर निस्केर अपराध गर्ने मान्छे होइन, त्यसैले बाहिर राखेर पनि अनुसन्धान गर्न सकिन्छ भनेर हामीले सरकारको ध्यानाकर्षण गराउन खोजेका हौँ,’ उनले भने, ‘योभन्दा उग्र रूपमा नागरिक सडकमा आउने गरी सरकारले काम नगरोस् ।’
वाग्लेले शान्तिपूर्ण प्रदर्शन गर्ने नैसर्गिक अधिकारमाथि धरपकड गरेर धम्क्याउने, थर्काउने, गलाउने सरकारी रणनीतिको भत्र्सना गरे । उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा राख्नुको कुनै औचित्य नभएको जिकिर गर्दै यो राजनीतिक प्रतिशोध भएको बताए । ‘६ दिनसम्म रवि लामिछानेलाई हिरासतमा राखेर जम्मा चार घण्टा बयान लिने अहिलेको प्रहरी प्रशासनलाई ठूलो प्रश्न उठाएका छौँ । पोखरामै यसको प्रतिवाद गरेका छौँ । यो राजनीतिक प्रतिशोध नै हो,’ उनले भने । लामिछानेजस्तै अभियोगमा मुछिएका व्यक्तिहरू सत्ताको संरक्षणमा खुलेयाम हिँडिरहेको उनले उल्लेख गरे । ‘कांग्रेस उपसभापति धनराज गुरुङ, एमाले नेता एवं सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलमाथि यसरी नै आरोप लागेको छ । उहाँहरूलाई सत्ताले बचाइरहेको छ,’ उनले भने, ‘जिबी राईको सल्लाहकार बाबुराम कुँवर आज राष्ट्रपतिको सल्लाहकार छन् । उनी पनि सजिलै हिँडिरहेका छन् । उहाँहरूलाई उन्मुक्ति दिने, स्वतन्त्र रूपले हिँड्न दिने, तर रवि लामिछानेलाई हिरासतमा राख्ने कुनै औचित्य छैन ।’
सांसद गौतमले सरकार सहकारीपीडितको बचत फिर्ताभन्दा पनि लामिछानेलाई झुटा अभियोग लगाएर थुन्ने षड्यन्त्रमा रहेको बताइन् । ‘हिरासतमा राख्न कारण हुनुपर्ने कानुनमै लेखिएको छ । तर, आधारविना बयानका नाममा हिरासत लम्ब्याउन खोजिएको छ । त्यसकारण यो राजनीतिक प्रतिशोध हो,’ उनले भनिन्, ‘खबरदार सरकार, न्यायमाथि राजनीति नगर, जनताको विश्वासमा खेलबाड नगर ।’
सांसद सुमना श्रेष्ठले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र एउटा व्यक्तिलाई लखेट्ने प्रवृत्तिको प्रतिरोध गरिरहने बताइन् । ‘हामीलाई अब दबाउन, थर्काउन खोज्छन्, एक–एक गरी यिनीहरूलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर प्रयास गर्छन् । हामीलाई तर्साउँछन्, धम्क्याउँछन्, त्यसको प्रतिरोध हामीले गर्नैपर्छ । हामी गर्छाैँ र सक्छौँ,’ उनले भनिन् । देशभरका सहकारीमा पौने तीन खर्ब अर्थात् २७ हजार पाँच सय करोड बचत फसेको भन्दै श्रेष्ठले बचत फिर्ताका लागि रास्वपाले ऐक्यबद्धता जनाएको बताइन् ।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गर्नु आपत्तिजनक भएको बताए । ‘हाम्रो अनुशासनलाई बुझ्नुस्, धेरै धाकधम्की नदेखाउनुस्, बल प्रयोग नगर्नुस्,’ उनले भने । परियारले न्यायका लागि हिजो राजाको प्रत्यक्ष शासन सत्तामा ढुंगा हान्ने हातहरू यही रहेको पनि स्मरण गराए ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रतिशोधको विरोधमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा दमन गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको बताए । ‘हामीले हिजो नै शान्तिपूर्ण तरिकाले नेपाल हाउसअगाडि बस्छौँ भनेका थियौँ । त्यहाँ बसेका साथीलाई पक्रेर यहाँ ल्याइएको छ । त्यही भएर साथीहरू पनि आक्रोशित हुनुहुन्छ । हाम्रो मार्ग शान्तिपूर्ण नै हो । यसमा केही तलमाथि भए सरकार जिम्मेवार हुन्छ । सरकारले नै मुठभेड खोजेको देखिन्छ,’ उनले भने ।
सांसद असिम शाहले प्रमाणविना हिरासतमा राख्नु गलत भएको बताए । सांसद तोसिमा कार्कीले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले अस्वाभाविक रूपमा दमन गर्न खोजेको र राजनीतिक प्रतिशोध यहाँ पनि देखिएको बताइन् । ‘अनुसन्धान निष्पक्ष हुनुपर्नेमा आधारविहीन तरिकाले बयान नलिएर हिरासत लम्ब्याउने खालले अगाडि बढेकाले खबरदारी गरिरहेका छौँ,’ उनले भनिन् । सांसद गणेश पराजुलीले संसदीय छानबिन समितिले सभापति लामिछानेको सहकारीमा कहीँकतै संलग्नता छैन भन्दा पनि सरकारले षड्यन्त्र रचेर छानबिनको नाटक गरेको बताए ।
सचिवालय बैठकमा आन्दोलनको समीक्षा
बालुवाटारको बृहत् प्रदर्शनपछि पार्टी केन्द्रीय कार्यालयमा रास्वपाको केन्द्रीय सचिवालय बैठक बसेको थियो । बैठकमा प्रदर्शनको समीक्षा गरिएको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । ‘समसामयिक राजनीतिबारे छलफल भयो । सरकारले गरेको प्रतिशोधपूर्ण घटनाहरूको विवेचना रह्यो,’ उनले भने, ‘चरणबद्ध विरोधका कार्यक्रम गर्ने भन्नेछ । यसमा कार्यदलको छलफल चलिरहेको छ ।’
सचिवालय बैठकमा उपसभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेको विषयमा पनि छलफल भएको थियो । पार्टीपंक्तिमा सल्लाह नगरी भेट गरेको भन्दै सचिवालयका केही सदस्यले असन्तुष्टि जनाएपछि अर्यालले आन्दोलनको विषयमा कुराकानी गर्न गएको जवाफ दिएका थिए । कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार उपसभापति अर्याल र प्रमुख सचेतक परियारले सोमबार साँझ प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेट गरेका हुन् ।