स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हेटौंडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सघाउन विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेका छन्।
बर्लिनमा भइरहेको विश्व स्वास्थ्य सिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डा. टेड्रोस गिब्रिएसस्सँगको कुराकानीका क्रममा मन्त्री पौडेलले सहयोगका लागि आग्रह गरेका हुन्। केन्द्रलाई दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न अन्र्तराष्ट्रिय सहयोग आवश्यक रहेको उनको भनाइ छ।
मन्त्री पौडेलको आग्रहमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले नेपालले संगठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै यस विषयमा सकारात्मक रहेको जवाफ दिए।
यस्तै, मन्त्री पौडेलले ६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन विश्व समुदायसँग समेत आग्रह गरेका छन् । सम्मेलनका क्रममा विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँगको भेटमा उनले बालबालिकामा हुने क्यान्सरसँग जुध्न नेपाल लागिपरेको भन्दै बाल क्यान्सर नियन्त्रणका लागि खोपको सहायताका लागि आग्रह गरेका हुन्।
सम्मेलनमा मन्त्री पौडेलले नेपालले स्वास्थ्यका विभिन्न सुचांकहरुमा सुधार ल्याइरहेको र थप सुधारका लागि अन्र्तराष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गरे। नेपालका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा भैरहेको सुधारको विश्वका स्वास्थ्य क्षेत्रका सरोकारवालाले प्रशंसा गरेका थिए।
यसबाहेक, सम्मेलनको क्रममा मन्त्र पौडेलले विभिन्न देशका स्वास्थ्यमन्त्रीहरुसंग समेत छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। सो क्रममा जर्मन स्वास्थ्य मन्त्रीसँग डिजिटल स्वास्थ्य सुदृढिकरणका लागि छलफल गरेको बताइएको छ। मन्त्री पौडेलले जर्मनीका संघीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँग भेटवार्ता गर्दै नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार अघि बढाउने बताए। जर्मन मन्त्रीले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे राखेको जिज्ञासामा मन्त्री पौडेलले डिजिटल प्रणालीको सुधार अघि बढाउने बताएका हुन्।
यसैगरी, नर्वेका स्वास्थ्य मन्त्री जाँ क्रिश्चियन भेस्ट्रे तथा युनिसेफका शीर्ष अधिकारीसँग समेत भेटवार्ता गर्दै पौडेलले स्वास्थ्य सुधारमा नेपालले गरिरहेको प्रयासमा ऐक्यबद्धताका लागि आग्रह गरेको बताइएको छ।
युनिसेफका डेपुटी प्रोग्राम डिरेक्टर ओमर अब्दीसँग मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन व्यवस्थित ढंगले गर्नका लागि सशक्तिकरणका लागि पर्याप्त सेवा सुविधा उपलब्ध गराउन सघाउन आग्रह गरेका थिए। जवाफमा अब्दीले नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको योगदान प्रशंसनीय रहेको भन्दै सघाउन तयार रहेको बताएको स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाले जनाएको छ।