तीन महिनापछि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु : फेरि पनि खानेपानीको अभाव कायमै

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

तीन महिनापछि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको छ । सोमबार राति मेलम्ची खानेपानीपीडित संघर्ष समिति र खानेपानी मन्त्रालयबिचको वार्ता सफल भएसँगै उपत्यकामा खानेपानी वितरण सुरु भएको हो ।मंगलबार बिहान १० बजे सिन्धुपाल्चोकस्थित हेलम्बुको मेलम्ची नदीबाट उपत्यकामा पथान्तरण गरिएको पानी दिउँसो साढे १ बजे सुन्दरीजल आइपुगेको थियो । मेलम्चीको पानी सुन्दरीजल आएसँगै बेलुकादेखि वितरण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए । 

‘संघर्ष समितिले आन्दोलन गरिरहे पनि उपत्यकामा छिट्टै पानी ल्याउन आन्तरिक तयारी गरिरहेका थियौँ । सोमबार राति समितिसँगको वार्ता सफल भएसँगै मंगलबार पानी ल्याउन सफल भयौँ,’ लामिछानेले भने, ‘बुधबार दिउँसोसम्म सुन्दरीजलमा प्रशोधन भएको १७ करोड लिटर नै पानी वितरण गर्छाैं ।’ समितिका अनुसार सुन्दरीजलको प्रशोधन केन्द्रले १७ करोड लिटर मात्र पानी प्रशोधन गर्न सक्ने क्षमता भए पनि मेलम्चीको पानी २२ करोड लिटर उपत्यका आइपुगेको छ । यसमध्ये पाँच करोड लिटर बागमतीमा मिसाइएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले तालिका सार्वजनिक गरिनसकेकाले मंगलबार बेलुकादेखि केयुकेएलका शाखामा फोन गरेर पानी आउने समय बुझ्न उनले आग्रह गरे । मनसुन सुरु भएसँगै समितिले १० असार ०८१ देखि मेलम्चीको पानी उपत्यकामा ल्याउन बन्द भएको थियो । १ असार ०७८ र सोही वर्ष १६ र १७ साउनमा मेलम्चीमा आएको बाढीबाट आयोजनाको अम्बाथानस्थित मुहानको ढोका, हेडवक्र्स र पहुँचमार्गलगायत संरचना पूर्ण रूपमा क्षति भई मुख्य प्रणाली बन्द भएको थियो । जसका कारण प्रत्येक वर्ष वर्षायाममा मेलम्चीको पानी ल्याउन रोकिँदै आएको छ ।

सोमबार मन्त्रालय र संघर्ष समितिबिचको सहमतिअनुसार तत्कालीन र दीर्घकालीन रूपमा गर्ने काम तय भएको संघर्ष समितिका सचिव छिरिङ ग्याल्बु लामाले बताए ।सहमतिअनुसार तत्कालका लागि मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरणपछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिणामको आधारमा केयुकेयलले बिक्री गरेबापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेकोमा मन्त्रालय र सरोकारवाला निकायबिच पुनः छलफल गरी तीन महिनाभित्र टुंग्याउनेलगायत छ । संघर्ष समितिले विभिन्न १७ वटा माग राखी आन्दोलन सुरु गरेको थियो । सोही क्रममा आयोजनाको गाडीसमेत आयोजना स्थलमा प्रवेश गर्न दिएका थिएनन् । 

मेलम्चीको पानी वितरण सुरु गरे पनि उपत्यकामा पानीको अभाव कायमै हुने भएको छ । १० असोजदेखि परेको अविरल वर्षाले खानेपानीको उत्पादन केन्द्र, मुहान क्षेत्र, प्रशोधन केन्द्र, पम्म हाउस, वितरण सञ्जाललगायत संरचना तथा यसमा जडित मेसिनरी र उपकरण डुबानमा परेका कारण खानेपानी अभाव कायमै हुने भएको हो ।

केयुकेएलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, केयुकेएलले करिब १८ करोड लिटर वितरण गर्दै आएको थियो । बाढी र पहिरोका कारण यसमा पनि करिब आठ करोड लिटरमा सीमित छ । केयुकेलका अनुसार अझै पनि १८ करोड लिटर पानी अभावको अवस्था छ । ‘बाढी र पहिरोले क्षति पुगेको वितरण सञ्जाल, मुहान क्षेत्रलगायत मर्मत गर्दै पानी वितरण गर्दै अघि बढिरहेका छौँ,’ केयुकेएलका प्रवक्ता प्रकाश राईले भने ।

सुझावित समाचार