खगोलविद्का अनुसार यस वर्षको सेप्टेम्बरको अन्त्यदेखि नोभेम्बरको अन्त्यसम्म एउटा सानो ‘लघु चन्द्रमा’ले पृथ्वीको परिक्रमा गर्नेछ । ‘२०२४ पिटी ५’ नाम दिइएको यस सानो चन्द्रमालाई खुला आँखाले देख्न नसकिए पनि शक्तिशाली दूरदर्शक–यन्त्रबाट भने हेर्न सकिन्छ । यस आकाशीय पिण्डलाई पहिलोपटक अगस्ट ७ मा नासाको ‘टेरिस्टोरियल–इम्प्याक्ट लास्ट एलर्ट सिस्टम(एट्लस)’को हवाईराज्यमा रहेको ‘हालेकाला वेदशाला’ले पहिचान गरेको थियो । खगोलविदको मापनअनुसार यो लघु चन्द्रमाले सेप्टेम्बर २९ देखि नोभेम्बर २५ बिच पृथ्वीको वरिपरि चक्कर लगाउनेछ । त्यसपछि यो पुनः पृथ्वीको कक्षबाट बाहिरिएर अन्तरिक्षमा फर्किनेछ ।
करिब १० मिटर व्यासको यस लघु चन्द्रमा खासमा एउटा क्षुद्रग्रह हो, जसलाई पृथ्वीको गुरुत्वाकर्षणले तानेर आफ्नो कक्षमा ल्याइ पुर्याएको हो । परिक्रमका क्रममा यो पृथ्वीको न्यून गुरुत्वाकर्षण क्षेत्रमा पुगेपछि अन्तरिक्षतर्फ हुत्तिन्छ र पृथ्वीबाट पुन टाढा हुनेछ । लघु–चन्द्रमा अत्यन्तै विरलै बन्छन् । सामान्यतया १० देखि २० वर्षमा एकपटक क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षणद्वारा पृथ्वीको कक्षमा तानिन्छन्, तथापि पछिल्ला वर्षमा यो दर केही बढेको छ । ती आकाशीय पिण्ड मुख्यतः पृथ्वीको सतहबाट करिब १० हजार किलोमिटरमाथि रहेको ‘एक्सोस्पेयर’मा रहन्छन् ।
औसतमा, लघु चन्द्रहरू पृथ्वीको कक्षमा केही महिनादेखि दुई वर्षसम्म रहन्छन् र अन्ततः पृथ्वीको खिचाब कम हुँदै गएर अन्तरिक्षमा हुत्तिन्छन् । लघु चन्द्रमा कति समयसम्म पृथ्वीको कक्षमा रहन्छ भन्ने कुरा ती पृथ्वीमा कुन गतिमा प्रवेश गरे र कुन मार्ग लिएका छन् भन्ने कुरामा निर्भर हुन्छन् । लघुचन्द्रमाहरू धेरै सानो हुने र पर्याप्त प्रकाश परावर्तन गर्न नसक्ने भएकाले तिनको पहिचान गर्न वैज्ञानिकलाई समेत कठिन पर्छ । अन्तरिक्षमा भेटिने अन्य चट्टानी पिण्डजस्तै लघु चन्द्रमा धातु, कार्बन, माटो र सिलिकेटको मिश्रण भेटिन्छ ।
प्रायः लघु चन्द्रमाहरू मंगल ग्रह र बृहस्पतिबिचको ‘क्षुद्रग्रह बेल्ट’बाट पृथ्वीतिर आउँछन् । लघु चन्द्रहरू सामान्यतया दुर्लभ परिघटना भए पनि सन् २००६ यता पृथ्वीको कक्षमा पटक–पटक लघु चन्द्रमा पहिचान भएका छन् । सन् २००६ मा ‘२००६ आरएच १२०’ नामक क्षुद्रग्रह पृथ्वीलाई घुम्न पृथ्वीको कक्षमा आइपुगेको थियो । त्यसपछि सन् २०२२ मा अर्को लघु चन्द्रमा पहिचान भयो । ‘२०२२ एनएक्स १’ नामको सो लघु चन्द्रमाको व्यास पाँच मिटरदेखि १५ मिटरबिच भएको मापन भएको थियो ।