नेपालका दुवै युवा टोली विजयी

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

समीर तामाङ र सुजन डंगोलको ह्याट्रिकसँगै नेपालका दुई युवा फुटबल टोलीले सोमबार पहिलो जित निकालेका छन् । समीरको ह्याट्रिक सहयोगमा नेपालले एएफसी यू–२० एसियन कप छनोटमा चाइनिज ताइपेइलाई ३–१ ले हरायो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ४–० ले निराश बनाएको छ । जितसँगै यू–२० टोली दोस्रो चरण तथा यू–१७ टोलीले सेमिफाइनलको सम्भावना कायम राखेका छन् । 

नेपालले घरेलु टोली ताइपेईविरुद्ध सहज जितमा समीरले ह्याट्रिक गरेका थिए । राष्ट्रिय टोलीबाट खेलिसकेका समीरले पहिलो खेलमा कम्बोडियाविरुद्ध एक गोल गरेका थिए । जितसँगै समूह ‘बी’को नेपालले दुई खेलमा तीन अंक जोडेको छ । दुवै खेलमा पराजित चाइनिज ताइपेई अंकविहीन छ ।

नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो । चाइज ताइपेईले पहिलो खेलमा बहराइनसँग १–० को हार व्यहोरेको थियो । फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा नेपाललाई खेलको ३२औँ मिनेटमा समीरले अग्रता दिलाए । 

खेलको ३४औँ मिनेटमा उनले नेपाललाई २–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा याङ चाओजिङले ताइपेईलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा समीरले ह्याट्रिक पूरा गर्दै नेपालले सहज जित निकाल्यो । प्रतियोगितामा समीरको यो चौथो गोल हो । 

See More On

सुझावित समाचार