हिमाली जिल्ला मनाङमा हिउँ चितुवा र याक संरक्षणका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ। हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो। बायोकोस नेपाल र एन्ट फाउन्डेसनको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाको सहयोगमा उक्त मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको हो।
स्थानीयवासीले मनाङमा गरेको प्रकृति संरक्षणलाई सम्मान गर्दै स्थानीय युवाहरूलाई संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबिच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरबारेमा सूचित गर्ने र पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त खेल आयोजना गरिएको आयोजकले जनाएको छ।
जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयवासीलाई खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको नमस्ते टुर्सका सञ्चालक एवं पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए।
उनका अनुसार हिमाललाई सन्तुलनमा राख्न भूमिका खेल्ने उद्देश्यले हिउँ चितुवाको बासस्थान जलवायु परिवर्तनले प्रभाव पर्दा लोप हुने अवस्थामा रहेकाले चितुवा संरक्षण र जलवायु परिवर्तनसम्बन्धी सचेतना फैलाउन खेलको माध्यमबाट प्रचारप्रसार गर्न कार्यक्रम आयोजना गरीएको हो। प्रतियोगीताले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्दैै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ।
हिमाली जिल्ला मनाङमा असोज ३ गतेदेखि ७ गतेसम्म आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न प्रतिष्ठित खेलाडी र कलाकारहरू मनाङ पुगेका छन्। मनाङमा हिउँ चितुवा र याकको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा दिगो विकास गर्ने उद्देश्यले आयोजित खेलमा भाग लिन देशका विभिन्न भागबाट कलाकार तथा खेलाडी मनाङ आएको पर्यटन व्यवसायी संघका अध्यक्ष गुरुङले बताए।
विभिन्न संघसंस्थाका साथै स्थानीय तह, खेलाडी, कलाकार, स्थानीयवासीको सहयोगमा चेतना फैलाउन गत वर्षदेखि प्रतियोगिता आयोजना गरिएको हो। हिउँ चितुवा र याकको लागि सँगसँगै’ भन्ने नाराका साथ मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो।