आठ महिनामा आठ हजारभन्दा बढीमा डेंगु

७५ जिल्लामा फैलियो डेंगु, अगस्टमा मात्रै चार हजार २२६ जनामा संक्रमण

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

आठ महिनायता देशभर आठ हजार १५९ जनामा डेंगु संक्रमण देखिएको छ । हालसम्म पाँचजनाको मृत्यु भएको डेंगु संक्रमण हाल ७५ जिल्लामा फैलिइसकेको छ । पछिल्लो दुई महिनामा देशभर तीव्र रूपमा संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो वर्षको तुलनामा संक्रमण निकै कम भए पनि विभिन्न जिल्लामा अझै उच्चदरमा फैलिइरहेको हो । सबैभन्दा बढी संक्रमण देखिने अगस्टमा मात्रै अघिल्लो वर्ष १४ हजारभन्दा बढी प्रभावित थिए । यस वर्ष चार हजार २२६ जनामा संक्रमण देखिएको छ, जुन यस वर्षभरिमा सबैभन्दा धेरै हो । सेप्टेम्बर लागेयता एक हजार ३१३ जनामा संक्रमण देखिएको छ । 

डेंगुबाट सबैभन्दा धेरै गण्डकी र बागमती प्रदेशका जिल्ला प्रभावित भएका छन् । हालसम्म गण्डकीमा तीन हजार ८६३ र बागमतीमा दुई हजार ७४ जनामा संक्रमण देखिएको छ । कोशीमा ९४४, मधेशमा १४०, लुम्बिनीमा ५५६, कर्णालीमा ११८ र सुदूरपश्चिममा ४६४ जनामा संक्रमण भएको छ । यसबाहेक डेंगुबाट सबैभन्दा बढी प्रभावित हुने जिल्लामा तनहुँ, कास्की, पर्वत, काठमाडौं र चितवन छन् । यी जिल्लामा पाँच सयभन्दा बढीमा डेंगु संक्रमण देखिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मनसुन कायमै रहेको र लामखुट्टेको जोखिम अझै केही महिनासम्म रहने भएकाले सचेत रहन आग्रह गरेको छ । महाशाखाले डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन सुरक्षाका उपाय लागू गर्नुपर्ने जनाएको हो । पानी ट्यांकी, ड्रम, गाग्री र बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी छोपेर राख्ने, आफ्नो घरवरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिनका बट्टा, प्लास्टिकजन्य वस्तु तथा पानी जम्न सक्ने सामान सफा राख्न भनिएको छ । यसबाहेक टायर र गमला अथवा अकासे पानीबाट भरिने ठाउँ नियमित सफा गर्न आग्रह गरिएको छ । महाशाखाले सुत्दा झुल प्रयोग गर्ने, लामखुट्टे घरभित्र छिर्न नदिन झ्यालढोकामा जाली प्रयोग गर्ने र शरीर ढाक्ने लुगा लगाउनेजस्ता सुरक्षाका उपाय अपनाउन भनेको छ ।

जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट नौजनाको मृत्यु, ५३ जनामा संक्रमण 
यस वर्ष नेपालमा जापानिज इन्सेफ्लाइटिस संक्रमणसमेत बढेको छ । पछिल्लो आठ महिनामा देशभर ५३ जनामा पुष्टि भएको जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट नौजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कैलाली, सुनसरी, सर्लाही, पाल्पा, चितवन र कपिलवस्तुमा गरी नौजनाको मृत्यु भएको हो । यसबाहेक विभिन्न जिल्लामा ५३ जना संक्रमित भएका छन् । जापानिज इन्सेफ्लाइटिस पछिल्ला वर्षमा नेपालमा नियमित देखिँदै आए पनि हालसम्म मृत्यु भने भएको थिएन । यस वर्ष संक्रमणका कारण मृत्यु हुन थालेपछि नियन्त्रणमा संवेदनशील भएर लागेको मन्त्रालयले जनाएको छ । हाल संक्रमण देखिएकामध्ये अधिकांश खोप नलगाएका बालबालिका भएकाले खोप वितरण प्रभावकारी बनाउन पहल भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘हाल प्रभावित भएकामध्ये अधिकांश खोप नलगाएको पाइएको छ । संक्रमण बढ्दै गएकाले जापानिज इन्सेफ्लाइटिस नियन्त्रणका लागि सरकारले विभिन्न पहल गरिरहेको छ । खासगरी बालबालिकाको नियमित खोपमा रहेको जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप वितरण अनिवार्य गर्नेजस्ता कामभइरहेका छन्,’ उनले भने ।

हैजा संक्रमण भएका ८० जना निको भए 
विभिन्न जिल्लामा हैजा संक्रमणका कारण बिरामी परेका सबैजना अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणका कारण बिरामी परेका ८० जना संक्रमणमुक्त भएका हुन् । ललितपुरमा ५२, काठमाडौंमा १२, कैलालीमा आठ, रोल्पामा चार, प्युठानमा दुई, मकवानपुरमा र सिन्धुपाल्चोकमा एक–एकजनामा हैजा संक्रमण भएको थियो । यसबाहेक विभिन्न जिल्लामा झाडापखालाका लक्षण देखिए पनि यस वर्ष हैजा नफैलिएको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । शुद्धीकरण नगरिएको पिउने पानीको प्रयोग, वर्षाको पानी खानेपानीका स्रोतमा मिसिनु, खाद्यपदार्थ सफा नहुनु, बढ्दो भिडभाड वा सहरीकरण र संक्रमण फैलिएका क्षेत्रमा नियन्त्रणका लागि आममानिसले बेवास्ता गर्नुलगायतका कारण हैजा संक्रमण इन्डेमिक बन्दै गएको विज्ञहरू बताउँछन् ।

सल्यानमा पहिलोपटक भेटियो स्क्रब टाइफस
सल्यानमा पहिलोपटक स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पतालमा उपचारका लागि आएका नौजनामा संक्रमण पुष्टि भएको हो । भदौमा मात्रै नौजनामा स्क्रब टाइफस भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । आठजना महिला र एकजना पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरले जानकारी दिए । उनका अनुसार शारदा नगरपालिकाका चार, बागचौर नगरपालिकाका तीन, छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकाका एक–एकजनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये चारजना १३ वर्षमुनिका बालबालिका रहेको उनको भनाइ छ ।

यसअघि सल्यानमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थिएन । बिरामीमा ज्वरो आउने, पसिना आउनेलगायत लक्षण देखिएको अस्पतालले जनाएको छ । समयमै उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने डा. बुढामगरको भनाइ छ । सुरुमै उपचारमा आउँदा औषधिकै भरमा निको पार्न सकिने भए पनि ढिलो गरी आउँदा भर्ना नै गर्नुपर्ने अवस्था निम्तिने उनले बताए । पाँचदेखि दश दिन औषधि प्रयोग गरे स्क्रब टाइफसका बिरामी पूर्ण रूपमा निको हुने बुढामगरले बताए । मुख्यतः मुसाले मानिसलाई टोकेपछि यो रोग लाग्छ । मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने चिकित्सकहरूको भनाइ छ ।

मकवानपुरमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै 
मकवानपुरमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । साउनदेखि १९ भदौसम्म लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी २३९ जना र मुसामा हुने किर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफसका बिरामीको संख्या १२३ पुगेको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार डेढ महिनाको अवधिमा परजीवीको टोकाइबाट लाग्ने रोगका बिरामीको संख्या बढेको हो । जिल्लामा डेढ महिनामा ८१ महिला र ४२ पुरुष स्क्रब टाइफसबाट प्रभावित बनेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार हेटौँडा उपमहानगरपालिकामा ७२, मकवानपुरगढीमा १५, मनहरीमा १०, बकैयामा १२ जना र भीमफेदीमा आठजना स्क्रब टाइफसबाट प्रभावित भएका छन् । बागमती, कैलाश, इन्द्रसरोवर, राक्सिराङ गाउँपालिका र अन्य जिल्लाका एक–एकजना प्रभावित भएका छन् ।

See More On

सुझावित समाचार