नेपालले द हङकङ क्रिकेट सिक्सेस खेल्ने

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

नेपाली टोलीले द हङकङ क्रिकेट सिक्सेस खेल्ने भएको छ । नेपालले पहिलोपटक प्रतियोगितामा भाग लिन लागेको हो । हङकङमा आयोजना हुने प्रतिष्ठित प्रतियोगितामध्ये हङकङ क्रिकेट सिक्सेसमा नेपालको सहभागिता निश्चित भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । 

‘नेपालले पहिलोपटक हङकङ क्रिकेट सिक्सेसमा भाग लिनेछ,’ लामाले भने, ‘प्रतियोगितामा सहभागी हुन पाउनु खुसी कुरा हो ।’ क्यानले अहिले कुन स्तरको टोली पठाउने भन्ने निश्चित गरेको छैन । ‘हङकङमा कुन टोली पठाउने भन्ने निर्णय भइसकेको छैनौँ,’ उनले भने । 

हङकङमा आयोजना हुने द हङकङ क्रिकेट सिक्सेसको यो १९औँ संस्करण हो । प्रतियोगिता १६ देखि १८ कात्तिकसम्म हुनेछ । प्रतियोगिताको साबिक विजेता दक्षिण अफ्रिका हो । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । 

यसैबिच, क्यानले यू–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा महेश रिजाललाई बुधबार नियुक्त गरेको छ । क्यानले बुधबारै आइसिसी महिला टी–१९ विश्वकपको एसिया छनोटका लागि बन्द प्रशिक्षणका लागि २९ खेलाडीलाई बोलाएको छ । क्यानको पछिल्लो बोर्ड बैठकले छनोट भएका खेलाडीलाई दाङको लमही क्रिकेट मैदानमा प्रशिक्षणमा राख्ने निर्णय गरेको थियो । 

विश्वकप एसिया छनोटको खेल तालिका सर्वजनिक भएको छ । प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा हुनेछ । एसियन छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदै छ ।

See More On

सुझावित समाचार