पल्सर स्पोर्टस् अवार्ड २०८० मा क्रिकेटबाट सर्वाधिक पाँचजना, फुटबल र कराँतेबाट तीन–तीन खेलाडी मनोनयनमा
नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड २०८० को चार विधाको मनोनयन सोमबार सार्वजनिक गरेको छ । वर्षको उत्कृष्ट महिला, पुरुष, युवा र प्रशिक्षकका समान पाँचजनाको मनोनयनमा परेका छन् । गत वर्षका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा मनोनयनको विधामा क्रिकेटबाट सर्वाधिक पाँचजना मनोनयनमा परेका छन् । त्यसपछि फुटबल र कराँतेबाट समान तीन खेलाडी परेका छन् ।
गत वर्ष १९औँ एसियन खेलकुद प्रतियोगितामा कराँतले रजत पदक जितेको थियो । गत वर्ष नै महिला फुटबल टोलीले वाफ च्याम्पियनसिपमा उपविजेता उपाधि हात पारेको थियो । मञ्चले गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा खेलाडी र प्रशिक्षक मनोनयन गरेको खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले बताए ।
२८ भदौमा नेपाल प्रज्ञा प्रतिष्ठानमा अवार्ड आयोजना हुँदै छ । छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको बताए । मनोनयनमा परेका पाँचजनामध्येबाट अवार्डकै दिन विजेता घोषणा गरिनेछ । मञ्चले पिपल्स च्वाइस अवार्डको मनोनयनमा भने यसअघि सार्वजनिक गरेको थियो ।
एआइपिएसका केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु धेरै राम्रो पक्ष रहेको उल्लेख गरे । यसपालि मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया)को कांग्रेस पनि आयोजना गर्दै छ । एनएसजेएफए आइपिएस एसियाको सदस्य हो ।
यसपल्ट वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटर बाइक प्रदान गरिनेछ । पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । यस वर्ष पनि अवार्डको मुख्य प्रायोजक गोल्छा गु्रप रहेको छ ।
पिपुल्स च्वाइसको विजेता घोषणा इसेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकका आधारमा गरिनेछ । इसेवाको मत २७ भदौको राति १२ बजेसम्म खुला रहने मञ्चले जनाएको छ । अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा कार्यक्रमकै दिन हुनेछ । गोल्छा गु्रपको नाम यसअघि हंशराज हुलास चन्द एन्ड कम्पनी रहेको थियो । मञ्च र गोल्छा गु्रपबिच अवार्डकै लागि सहकार्य भएको यो १६औँ वर्ष हो ।