पेरिस पारा ओलम्पिकमा तेक्वान्दोकी पलेसा गोवर्द्धनले के–४४ विधाअन्तर्गत ५७ केजी तौल समूहमा रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराउँदै ऐतिहासिक कांस्य पदक जितिन् । नेपालको ओलम्पिक यात्राको ६० वर्षपछि उनले देशलाई यो पदक दिलाएकी हुन् । ऐतिहासिक पदकसहित बुधबार काठमाडौं उत्रिने पलेसासँग पेरिसबाट उड्नुअघि नयाँ पत्रिकाका रमेश सुवेदीले टेलिफोनमा गरेको संवाद:
- नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको ६० वर्षमा पहिलोपटक पदक हात पारेको छ । देशका लागि पदक जित्दा कस्तो महसुस भइरहेको छ ?
साँच्चै नै भन्दा मलाई सपनाजस्तै लागेको छ । दुई दिन त सुत्नै सकिनँ । ‘मैले नै ओलम्पिकमा पदक ल्याएँ है’ भनेर सोच्ने के । सपनामा त होइन जस्तो लाग्ने । सुरुमा त मलाई नेपालले यति लामो अवधिपछि मात्रै पदक जितेको हो भन्ने पनि थाहा थिएन । मैले जितेँ भन्ने मात्रै थियो । पछि मात्रै ६० वर्षको संघर्षपछि देशले पदक जितेको थाहा पाएँ । मनमा ‘मैले गरेँ, मैले देशका लागि गरेँ’ भनेर निकै खुसी भएँ । त्यो खुसी म वर्णन नै गर्न सक्दिनँ । मेरो मात्रै होइन, देशकै लागि यो ठूलो उपलब्धि हो । सबै नेपाली खुसी छन् । उनीहरूलाई खुसी दिन सकेँ, त्यसले पनि मलाई झन् खुसी थपेको छ । अब तपाईं–हामी सबैले ‘हामीसँग ओलम्पिकमा एक पदक छ है’ भन्छौँ ।
मेरो योजना नै अन्तिमसँग कसरी खेल्ने, कस्तो खेल्ने, विपक्षी खेलाडीमाथि कसरी दबाब बनाउनेजस्ता थिए । तर, क्वार्टरफाइनलमा ब्राजिलसँग एउटा किकले गर्दा पराजित हुनुपर्यो । त्यसपछि दिमाग ‘डिस्टर्भ’ भयो । फेरि, टोकियोकै नतिजा दोहोरिने भयो कि भन्ने तनाव पनि भएको थियो । तर, ‘यसपटक मेडल नै जित्छु’ भनेर हौसला राखेर एरिनामा उत्रिएँ । र, जितेँ पनि ।
- देशलाई ऐतिहासिक पदक दिलाएपछि कसरी खुसी व्यक्त गर्नुभयो ? बुबा–आमासँग कतिखेर कुराकानी भयो ? के भन्नुभयो ?
मेडल निश्चित भएपछि राष्ट्रिय झन्डा लिएर एरिनामा दौडियौँ । यो मेरा लागि गर्वको विषय थियो । त्यसपछि दौडेर वार्म–अप एरिनामा गएँ । झोलाबाट मोबाइल झिकेर सुरुमै ममीलाई फोन गरेँ । सबैजना घरमा रोइरहेका रहेछन् । ममी, बहिनी र बुबा रोइरहनुभएको थियो । ‘पदक ल्याउन गाह्रो भयो है’ भन्दै ममी थप रुनुभयो । सबैलाई थाहा भएकै कुरा थियो, टोकियो ओलम्पिकमा म नराम्रोसँग हारेकी थिएँ । त्यसैले पनि धेरै खुसी हुनुभयो । उनीहरू रोइरहेको देखेपछि म पनि रोकिन सकिनँ । फोनमा धेरै रोएँ । यो पदक बुबाको मुख हेर्ने दिन ‘गिफ्ट’जस्तो भयो ।
- हरेक ओलम्पिकमा नेपाली खेलाडी सहभागी भइरहेका छन् । पदक जित्नका लागि हाम्रो तयारीचाहिँ कस्तो छ?
नेपालको यो अभ्यास र तयारीले पदक ल्याउन निकै गाह्रो छ । भन्न त सबैले मुखले ‘पदक ल्याउनुपर्छ’ भन्छन् । आवश्यक सहयोगचाहिँ कसैले गर्न चाहँदैन । सम्बन्धित प्रतियोगिताको तयारीमा रहँदा पनि खेलाडीले आवश्यक वातावरण र पर्याप्त सहयोग पाउँदैन । सरोकारवाला नै भित्री मनबाट पदक ल्याउँछ भन्न सक्दैनन् । त्यस्तो मानसिकतामा खेलाडीले कसरी तयारी गर्छ ? त्यसैले उनीहरूलाई नै ‘पदक आउँदैन/ल्याउन सक्दैन’ भन्ने लागेको हुन्छ । मनोबल नै गिरेको हुन्छ । त्यस्तो अवस्थामा मैदानमा गएको खेलाडीले कसरी मेडल ल्याउन सक्छ ? त्यसैले पनि मेडल आउन गाह्रो छ ।
– हाम्रा खेलाडीले अहिले झेलिरहेका समस्या कस्ता छन् ?
अधिकांश खेलाडी निकै गाह्रो अवस्थामा छन् । सम्बन्धित निकायबाट समर्थन नै हुँदैन । कहिले अभ्यास गर्न पाउँदैनन्, कहिले त खेल खेल्ने सामान र पोसाक नै पाउँदैैनन् । अभ्यास गर्ने वातावरण नै बनाइँदैन । गर्छु भन्ने खेलाडीले अवसर नै पाउँदैन । अन्तिममा पैसा छैन भनेर अड्काउने काम हुन्छ । आफैँले पैसा हाल्छु, भन्दा पनि खेल्न दिँदैनन् । मैले पनि धेरै खेलमा आफैँले पैसा तिरेर खेलेकी छु । यस्ता, घटना धेरै व्यहोरेकी छु । सबै खेलाडी आफैँ पैसा हालेर खेल्न जान सक्ने अवस्थाका हुँदैनन् । हामी खेलाडीका यी साझा समस्या हुन् । जब खेलाडीले राम्रो अभ्यास गर्ने/खेल्ने वातावरण पाउँछ तब मात्रै स्तरीय प्रदर्शन गर्न सक्छ/पाउँछ ।
– खेलाडीलाई राज्यले गर्ने प्रोत्साहन कस्तो छ ? के भन्नुहुन्छ सरकारलाई ?
सबैका समस्या र गुनासा उस्तै होलान् जस्तो लाग्छ, त्यसैले म मेरै कुरा सुनाउँछु । पारा ओलम्पिक खेल्न हामीलाई बजेट नै छुट्याएको हुँदैन । हामी म्यानचेस्टर जाने तीन महिनादेखिको कुरा थियो । तर, राखेपबाट समयमै पैसा नपाउँदा अन्तिम तीन साता मात्रै तयारी गर्न पायौँ । थोरै समय भए पनि राखेपले हामीलाई म्यानचेस्टरमा तयारी गर्न सहयोग गर्यो । तेक्वान्दो संघले पनि सहयोग गर्यो । धेरै निकायले ‘पैसा छैन’ भन्दा तेक्वान्दो संघले अभ्यास गर्न पैसा जुटाएर पठाएको हो । मैले त्यसवेला राम्रो तयारी गर्न सहयोग पाएकी भए, के थाहा स्वर्ण पदक नै आउँथ्यो कि !
अहिले पदक आएपछि सबैलाई आशा जगाएको छ । हाम्रा खेलाडी पदक ल्याउन सक्ने, अन्तर्राष्ट्रिय मैदानमा टक्कर दिन सक्ने मिहिनेती र बलिया छन् । उनीहरूलाई राज्यले, सम्बन्धित निकायहरूले थोरै मात्र प्रोत्साहन गर्दा पनि देशका लागि सजिलै पदक ल्याउन सक्छन् । राज्यले यसमा ध्यान दिन अत्यन्त जरुरी छ ।
– तेक्वान्दो खेल्न कहिले र कसरी सुरु गर्नुभयो ? सुरुवाती दिनमा साथीभाइदेखि समाजसम्मले गर्ने व्यवहार कस्तो थियो ?
मैले जावलाखेलको डिएभीमा पढ्दादेखि नै खेल्न सुरु गरेकी हुँ । डान्स, म्युजिकजस्तै मार्सल आर्ट कक्षा पनि सञ्चालन हुने गरेको थियो । त्यहीँबाट मैले मार्सल आर्ट रोजेँ । म अलिकति चञ्चले पनि थिएँ । त्यसैले पनि यसमा मन गयो । अलिअलि बदमास नेचरकी छु । परीक्षा पनि दिन नपर्ने । सुरुमा नन–पारा खेलाडीसँग खेल्न थालेँ । त्यतिवेलासम्म पारा खेल भन्ने थाहा थिएन । पछि मात्रै कविराज नेगी लामा गुरुसँग भेट भयो । १३ वर्षको उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेकी हुँ ।
पहिला म धेरेै बोल्दिनथेँ । खासै कोहीसँग नजिक नहुने । मेरो ‘हात छैन’ जस्तो लाग्थ्यो । तेक्वान्दो खेलपछि आत्माविश्वास बढ्यो । ‘जे छ यस्तै छ’ भनेर लागेँ । त्यसपछि मात्रै लुकाउँदै आएको हात देखाएर हिँड्न थालेकी हुँ । कलेज र साथीहरूले जिस्क्याउने कुरा त्यति याद छैन । फेरि, त्यस्तालाई म वास्ता पनि गर्दिनथेँ । ममीले ‘कसैले त्यस्तो कुरा गर्यो भने सरलाई भन्दिनु’ भन्नुहुन्थ्यो । तर, म आफैँ कुटिदिन्थेँ । कसैकसैले ‘बिचरा’ पनि भन्छन् । तर, धेरैले उत्साह नै दिनुभयो ।
– लगातार दोस्रोपटक पारा ओलम्पिकको फाइनल खेल्नुभयो । टोकियो र पेरिस ओलम्पिकमा के फरक पाउनुभयो ?
(हाँस्दै) सबैभन्दा ठुलो फरक त मेडल नै रह्यो । टोकियो गेम हुँदा कोरोनाको समय थियो । कोर्टमा खेल हेर्ने दर्शक नै थिएनन्, खाली थियो । प्रतियोगिता खेलेको हो कि अभ्यास भइरहेको हो पत्तै नहुने जस्तो थियो । पेरिसमा त समर्थक नै बढी । मैले खेलिरहेकी छु भन्ने भान हुन्थ्यो । यसपटक क्रेज पनि बढी थियो । टेलिभिजन र युट्युबमा हेर्ने पनि बढी थिए । भेन्यु पनि फरक थियो । म्याटहरू पनि टोकियोभन्दा धेरै राम्रा थिए ।
– तपाईं टोकियो ओलम्पिकमा पनि थोरै अंकले पदकविहीन हुनुभयो । यसपटक पनि फाइनलमा सुरुवातमा पछाडि हुनुहुन्थ्यो । दोस्रो र तेस्रो चरणपछि सर्वियाली खेलाडीलाई मौका दिनुभएन । ब्रेकमा प्रशिक्षकसँग कस्तो कुराकानी भयो ?
अघिल्लो खेलमा फ्रान्सका खेलाडीलाई हराउन गाह्रो भइरहेको थियो । उसका घरेलु समर्थक थिए । उसलाई हराउनु नै मलाई ठुलो कुरा भयो । त्यसपछि सर्वियाली खेलाडीसँग खेल थियो । डर पनि थियो, टोकियो ओलम्पिकको जस्तै हुने हो कि भन्ने । गुरु (कविराज नेगी)ले भनेको पनि सुनिरहेकी थिइनँ । उहाँ इसारा देखाएर कराउनुहुन्छ, ‘यसरी हान’, ‘उसरी हान’ भन्नुहुन्छ । कुरा भइरहेको हुन्छ । इसाराले सहयोग गर्छ । उहाँ पनि दबाबमा हुनुहुन्थ्यो । बराबरी अंक भएपछि गुरुले ‘टाइम’ लिनुभयो । ब्रेकमा ‘म त रुन लागेँ पलेसा, राम्रो खेल है’ भन्नुभयो । अन्तिम ३० सेकेन्डमा मैले बराबरीलाई तोड्न सकेँ र पदक पक्का भयो ।
– तपाईंले एकपटक खेल क्षेत्रबाटै टाढिने योजना पनि बनाउनुभएको थियो, हो ?
टोकियो ओलम्पिकअघि त्यस्तो मनस्थिति बनेको थियो । मेरो एसएलसीको परीक्षा पनि थियो । पढाइ र खेल दुवै सँगै लैजान सकिने अवस्था थिएन । एकदमै गाह्रो भइरहेको थियो । त्यसैले ‘अब खेल्दिनँ’ भनेर छाड्ने मनस्थिति बनाएकी थिएँ । त्यतिवेला मेरो परिवारले धेरै सहयोग गर्यो । निकै सम्झाउनुभयो । म ‘डिमोटिभेट’ नै थिएँ । ‘खेलकुदमै यतिसम्म गर्यौ, अझ थप गर्नुपर्छ, हिमाल चढिरहेको मान्छे पुछारमा झर्ने होइन’ भनेर बुबा–ममीले धेरै सम्झाउनुभयो ।
अहिले पनि म चाइनामा पढिरहेको, पेरिस ओलम्पिक पनि खेलौँ कि नखेलौँ भन्ने भइरहेको थियो । आर्टिटेक्चर पढिरहेकी छु । कसरी छाडौँ भन्ने लागेको थियो । करिब एक हप्ता धेरै सोचेपछि मात्रै खेल्नुपर्छ भन्ने निर्णयमा पुगेकी हुँ । पेरिसमा खेल्छु भनेरै एउटा सेमेस्टरको समय ६ महिना बिदा नै लिइसकेकी छु । नेपालमा प्रोग्राम धेरै हुन्छ भनेर १५ दिन थप समय लिएकी छु । नत्र एक दिन नेपाल जाने र अर्काे दिन चाइना जाने कार्यक्रम थियो ।
– पारा ओलम्पिकमा तपाईंको आदर्श को हुनुहुन्छ ?
नेपालबाट पारामा मैले नै पहिलो तेक्वान्दो खेलेँ । मभन्दा अघि खेल्ने त्यस्ता दाइ–दिदीहरू देखिनँ । कोही हेर्यो भने सिनियर नै छैन । सबैले खेल्न छाडेका थिए । मोडलको रूपमा हेर्ने भनेको नेगी गुरु नै हो । टिमका साथीहरूले पलेसा नै भन्छन् । सबैले माया गर्छन् । पहिलादेखि नै कविराज नेगी गुरु र दीपक विष्ट गुरुहरूले माया गर्नुभयो । दीपक गुरु यहीँ (पेरिस) आउनुभयो । सबैले मलाई विश्वास गर्नुभयो । भनिन्छ नि, ‘ढुंगामा विश्वास गर्यो भने त्यही भगवान् हुन्छ । नगरे त्यही ढुंगा हो ।’ धेरैले विश्वास गरेर नै पदक आएको हो ।