डेंगुबाट बागमती र गण्डकी प्रदेशका जिल्ला बढी प्रभावित, लगातार वर्षाका कारण लामखुट्टेको संख्या नघट्दा रोकिएन संक्रमण
आठ महिनामा डेंगु संक्रमणबाट प्रभावितको संख्या पाँच हजार नाघेको छ । र, तीनजना संक्रमितको मृत्यु भएको छ । लगातार वर्षाका कारण लामखुट्टेको संख्या नघट्दा डेंगु संक्रमण रोकिएको छैन ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२४ मा अहिलेसम्म देशभर पाँच हजार ५८९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । हाल ७५ वटा जिल्लामा संक्रमण देखिइरहेको शाखाले जनाएको छ ।
महाशाखाका अनुसार डेँगुबाट बागमती र गण्डकी प्रदेशका जिल्ला बढी प्रभावित भएका छन् । हाल सबैभन्दा बढी तनहुँमा एक हजार ६७ र कास्कीमा ५३६ जनामा डेंगु पुष्टि छ । यसबाहेक, चितवनमा ४८६, काठमाडौंमा ४६६, पर्वतमा ३१७, गोरखामा २०८, झापामा १६०, मकवानपुरमा १११, भोजपुरमा ९६, पाल्पामा ९४ जनामा डेंगु देखिएको तथ्यांक छ ।
प्रदेशगत रूपमा हेर्दा हालसम्म गण्डकीमा दुई हजार ४४०, बागमतीमा एक हजार ४८६, कोशीमा ७४९, लुम्बिनीमा ४१८, सुदूरपश्चिममा ३३४ र मधेशमा ५६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
लामखुट्टे हुर्कने अनुकूल वातावरण पर्याप्त भएकाले संक्रमणको दर नघटेको इडिसिडीले जनाएको छ । संक्रमण न्यूनीकरणका लागि लामखुट्टे हुर्कने वातावरण जस्तै, स–साना खाल्डाखुल्डी, गमला, टायर वा अन्य सफा पानी जम्ने ठाउँहरू नियमित सफा राख्न इडिसिडीले आग्रह गर्दै आएको छ ।
बिहान, दिउँसो र राति जुनसुकै वेला सुत्दा झुलको प्रयोग, घरभित्र लामखुट्टे छिर्न नदिन सम्भव भएसम्म झ्याल ढोकामा जालीको प्रयोग, पूरा शरीर ढाक्ने लुगा र शरीरको खुला भागमा लामखुट्टे नलाग्ने मल्हमको प्रयोगले डेंगु संक्रमणबाट बच्न सकिने इडिसिडीको भनाइ छ ।