साउनमा चार अर्ब १९ करोडको बिजुली निर्यात

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

दैनिक हजार मेगावाटभन्दा बढीका दरले बिजुली बेचेर यो वर्ष २५ अर्बको कारोबार गर्ने लक्ष्य, गत वर्ष आयातको तुलनामा निर्यात धेरै गरेर पहिलोपटक नाफा हासिल

तीन वर्षदेखि भारतमा निर्यात भइरहेको नेपालको बिजुली असोजबाट बंगलादेशसमेत पुग्दै

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको जनाएको हो । साउनमा दैनिक रूपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको प्राधिकरणबाट प्राप्त तथ्यांकले देखाएको छ ।  

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख तीन हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ५१ पैसा रहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक आठ–नौ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडसेडिङ व्यहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनाहरूमा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा सात सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताए । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने आउने गरे तापनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उनले बताए । 

‘पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो । खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरू अभियानकै रूपमा कार्यान्वयनमा लगिएको छ,’ उनले भने, ‘आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बंगलादेशलाई निर्यात गरिनेछ ।’ 

घिसिङले वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवं नेपाल र भारतबीचको व्यापार घाटा कम गर्नमा समेत सकारात्मक योगदान पुगिरहेको बताए । 

‘हिउँदयाममा केही महिना अझै विद्युत् आयात गर्नुपरे तापनि आयातको परिमाण क्रमशः घट्दै जानेछ । गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौँ,’ उनले भने । 

भारतसँग ५३ वर्षदेखि निरन्तर विद्युत् व्यापार हुँदै
नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । भारतमा विद्युत् निर्यात भने सन् १९७२ देखि सुरु भएको थियो । नेपाल र भारतबीच व्यावसायिक रूपमा विद्युत् आदानप्रदान भने ०७८ यता मात्रै भएको हो । व्यावसायिक रूपमा सुरु भएको अन्तरदेशीय विद्युत् व्यापारमा तीन वर्षमा नेपाल खुद निर्यातकर्ता भएको हो । नेपालमा नदी प्रवाहमा आधारित जलविद्युत् परियोजना धेरै छन् । त्यसले गर्दा बर्खामा बढी उत्पादन भई विद्युत् निर्यात गर्न पुग्छ । हिउँदमा भने खोलामा पानी कम भई विद्युत् उत्पादन घट्न गई स्वदेशी माग धान्न आयात पनि गर्नुपर्छ ।

भारतसँगको विद्युत् व्यापारमा प्राधिकरण गत आवदेखि खुद निर्यातकर्ता बनेको छ । गत आवमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो । निर्यात भने १७ अर्ब ६ करोड रुपैयाँको भएको थियो । त्योअनुसार गत आवमा आयातभन्दा १३ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात भएको थियो । प्राधिकरणले यो वर्ष २५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ । 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड (एनभिभिएन)लाई बिक्री गरिरहेको छ । 

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खुसी हुँदै व्यक्त गरेका तीन सन्देश
- आठ वर्षअघिसम्म वर्षायाममा दैनिक आठ–नौ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडसेडिङ व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनाहरूमा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा सात सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेका छौँ । 

- पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो । खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरू अभियानकै रूपमा कार्यान्वयनमा लगिएको छ ।  

- हिउँदयाममा केही महिना अझै विद्युत् आयात गर्नुपरे तापनि आयातको परिमाण क्रमशः घट्दै जानेछ । गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौँ । 

See More On

सुझावित समाचार