राखेप र एन्फाबीच दशरथ रंगशालाको मैदान स्तरोन्नति गर्नेबारे छलफल

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा छलफल भएको छ।

मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेटलगायतका विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा बिहीबार प्रारम्भिक छलफल भएको हो।

सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नती गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नुपर्नेमा जोड दिए।

‘दशरथ रंगशालाको मैदान स्तरोन्नति गर्न कति समय लाग्छ ? कति बजेट लाग्छ? प्रारम्भिक खाका तयार गरी पेस गर्नुहोला,’ घिसिङले चासो व्यक्त गर्दै भने, ‘समयसीमा तोकेर प्रारम्भिक खाका तयार गर्नुहोला। त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतिका लागि गम्भीर भएर पहल गर्न आवश्यक छ। बजेटका कारण कुनै पनि हालतमा रोकिनुहुँदैन।’

यो विषयमा राखेपले यसअघि आइतबारै एन्फालाई पत्राचारसमेत गरिसकेको छ। छलफलका क्रममा अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे।

सुझावित समाचार