सीमा विवादबारे स्थापित संयन्त्रमार्फत संवाद अघि बढाइने

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण
सीमा विवादबारे स्थापित संयन्त्रमार्फत संवाद अघि बढाइने

परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिश्री

नेपालको दुईदिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्री सोमबार दिल्ली फर्केका छन् । आइतबार र सोमबार उनले नेपालका शीर्ष नेता, मन्त्री र समकक्षीसँग भेटवार्ता गरेका थिए । उनले सोमबार नेपाली समकक्षी सेवा लम्सालसँग द्विपक्षीय वार्ता गरेका छन् । दुई विदेश सचिवहरूको औपचारिक वार्तामा सीमा विवादलगायत दुई देशका समग्र विषयमा छलफल भएको छ । उनीहरूले स्थापित औपचारिक संयन्त्रहरूमार्फत संवाद र संलग्नता अघि बढाउने सहमति गरेका छन् । ‘नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे पुनरावलोकन भयो र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा पनि छलफल भयो,’ परराष्ट्र प्रवक्ता अमृतबहादुर राईले भने, ‘भारतीय सहयोगमा सञ्चालित परियोजना, दुई देशका सबै संयन्त्रहरूलाई क्रियाशील बनाउने र सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भयो ।’ 

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार द्विपक्षीय वार्तामा दुई देशबीच ऊर्जा तथा जलविद्युत्, भौतिक र डिजिटल कनेक्टिभिटी, कृषि, पर्यटन, व्यापार तथा पारवहन, जनस्तरको सम्बन्धका सबै पक्षबारे पुनरावलोकन भएको छ । ‘दुई विदेश सचिवहरूले द्विपक्षीय नियमित संयन्त्रहरूमार्फत आपसी संवाद र संलग्नता बढाउँदै लैजाने सहमति गरेका छन्,’ परराष्ट्रले भनेको छ । 

द्विपक्षीय वार्ता तथा विदेशसचिव मिश्रीको नेपाल भ्रमणबारे सोमबार अपराह्न भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेको छ । ‘छलफलले बहुआयामिक सहकार्यका विभिन्न पक्षलाई समेटेको छ । दुवै सचिवले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनामा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरूबारे छलफल गर्नुभयो,’ भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार भएको स्पष्ट पारेको छ ।

थप हवाई रुटको उपलब्धताका लागि भारतको ध्यानाकर्षण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि भारतको ध्यानाकर्षण गराएकी छिन् । नेपालको दुईदिने भ्रमणमा आएका भारतीय विदेशसचिव मिश्रीसँग सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा राणाले नेपाल–भारत ‘एयर कनेक्टिभिटी’का लागि नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि भारतको ध्यानाकर्षण गराएकी हुन् । 

यस्तै, उनले भारतको सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि आग्रह गरिन् । प्रेस सल्लाहकार एकराज पाठकका अनुसार परराष्ट्रमन्त्री राणाले पञ्चेश्वर बहुउद्देशीय परियोजनाको डिपिआर टुंग्याउनुपर्ने विषयमा पनि चासो राखेकी थिइन् । जवाफमा भारतीय सचिव मिश्रीले धेरैजसो समस्या समाधान भइसकेको र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने बताएका थिए । परराष्ट्रमन्त्री राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, वाणगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउन आग्रह गरिन् । उनले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने पनि बताएकी थिइन् । 

पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग पनि बेग्लाबेग्लै भेटेका थिए । मिश्रीले सोमबार उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए । मिश्रीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सोमबार उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेका थिए । 

सुझावित समाचार