गत आवमा ५२ दिन मात्रै चल्यो हेटौँडा सिमेन्ट

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग एक वर्षमा जम्मा ५२ दिन मात्रै सञ्चालन भएको छ । गत आर्थिक वर्ष ०८०/८१ मा कोइला अभावका कारण मात्रै दुई सय ६९ दिन उद्योग बन्द रहेको पाइएको हो । पछिल्लो चार महिनामा एक दिन मात्रै सञ्चालनमा आएको उद्योग कोइला अभाव र मर्मतका लागि भनेर बन्द गरिएको उद्योग प्रशासनले जनाएको छ । ०८० चैतदेखि बन्द रहेको उद्योग ०८१ साउनमा एक दिन क्लिंकर उत्पादनका लागि सञ्चालन गरिएको उद्योगका प्राविधिक कर्मचारी नीतिन कर्णले जानकारी दिए । उनका अनुसार एक दिन चलेको उद्योगले एक सय ५८ टन क्लिंकर उत्पादन गरेको थियो । त्यसपछि उद्योग बन्द छ ।

 गत वर्ष ०८० साउनयता भदौमा ११ दिन, असोजमा १८ दिन, माघमा आठ दिन र फागुनमा १५ दिन गरी उद्योग जम्मा ५२ दिन मात्रै चलेको छ । यस्तै, चालू आर्थिक वर्षको साउन महिनामा एक दिन मात्रै उद्योग चलेको उनले जानकारी दिए । 

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले कोइला अभावका कारण लामो समय उद्योग बन्द गर्नुपरेको बताए । पुराना उपकरण बिग्रिरहने समस्याका कारण पनि उद्योग नियमित सञ्चालन गर्न नसकिएको उनको जिकिर छ । अहिले पनि मेसिन मर्मतको काम चलिरहेको उनले बताए । ‘गत आर्थिक वर्षको फागुनमा १५ दिन चलाएको उद्योग कोइला अभावका कारण अहिलेसम्म बन्द छ । हामीसँग भएको स्टक कोइलाले १०–१५ दिन उद्योग सञ्चालन गरेर केही फाइदा छैन । भएको कोइला सकिएपछि फेरि पनि उही कोइलाको समस्या देखाएर उद्योग बन्द गर्नुपर्छ,’ उनले भने ।  

कोइला सप्लायर्सको बक्यौता रकम धेरै भएका कारण कोइला आपूर्ति ठप्प रहेको उनको भनाइ छ । ‘उद्योग बर्सेनि घाटामा छ, कोइलाको पैसा नै करोडौँ तिर्नुपर्नेछ । कोइला सप्लार्यसलाई तिर्नुपर्ने भुक्तानी समयमै नतिर्दा कोइला आउन सकेन र उत्पादन नै बन्द गर्नुपरेको हो,’ उनले भने । उद्योगका एक सय ८० जना स्थायी कर्मचारी र एक सयजनाभन्दा बढी ज्यालाका कर्मचारी कामविहीन छन् । हाल स्टक रहेको सिमेन्ट बिक्री गर्नेबाहेक अन्य कुनै काम हुन सकेको छैन । उद्योगमा करिब २० हजार बोरा सिमेन्ट स्टक रहेको उद्योगका नायब प्रबन्धक नवीन कर्णले जानकारी दिए । 

सुझावित समाचार