बंगलादेशका लागि पूर्वराजदूत तथा नेपाल सरकार पूर्वसचिव मधुरमण आचार्यलाई तीन प्रश्न

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

बंगलादेशको पछिल्लो राजनीतिक उथलपुथललाई कसरी हेर्नुभएको छ ?
बंगलादेशले गरेको आर्थिक प्रगतिका आधारमा हेर्दा शेख हसिना सफल नै देखिनुहुन्थ्यो । तर, राजनीतिक कोणबाट हेर्दा भने उहाँले जेजस्तो शासन चलाइरहनुभएको थियो, त्यसबाट त्यहाँ व्यापक असन्तोष गुम्सिएर रहेको थियो । उहाँले आफ्नो शासनकालमा विपक्षीलाई लगभग उठ्नै नसक्ने गरी दबाउनुभयो । निर्वाचन पनि लगभग विपक्षीविहीन अवस्थामै लड्नुभयो । यी सबै परिदृश्यलाई हेर्दा त्यहाँ कुनै पनि समयमा त्यो असन्तोष विस्फोट बनेर बाहिरिन सक्छ भन्ने पूर्वानुमान थियो र अहिले त्यस्तै देखियो पनि । देशभित्र उठिरहेको असन्तोषको ज्वारलाई समयमै निभाउने उपाय नखोज्नुको परिणाम हो, बंगलादेशको पछिल्लो राजनीतिक उथलपुथल । 

यस उथलपुथलको नेपालमा कस्तो प्रभाव पर्न सक्ला ?
अन्य मुलुकमा जेजस्ता घटना हुन्छन्, तिनको प्रभाव यहाँ पर्नैपर्छ भन्ने छैन । उताको वस्तुस्थिति फरक हुन सक्छ । त्यहाँको राजनीतिक, आर्थिक या अन्य सूचक फरक हुन सक्छन् । हाम्रो राजनीतिक प्रणाली सुदृढ छ । यहाँ निषेध र विभेदको राजनीति छैन । सहिष्णुतामा आधारित समाज छ । हो, हामी सुशासनमा केही कमजोर छौँ । त्यसले केही असन्तुष्टि जन्माएको पनि छ । त्यसैका भरमा यहाँ कुनै प्रभाव परिहाल्ला जस्तो लाग्दैन । 

बंगलादेशको घटनाबाट नेपालको राजनीतिले सिक्नुपर्ने पाठ केही छ कि ?
यस्ता घटनाबाट राजनीतिले पाठ सिक्छ पनि र सिक्दैन पनि । फेरि सिक्नैपर्छ भन्ने पनि छैन र सिक्नै हुँदैन भन्ने पनि छैन । अन्यत्रको र हाम्रो वस्तुस्थिति फरक हुन सक्छ । तर, यस घटनाबाट हामीकहाँका असन्तुष्टिलाई पनि लामो समय गुम्सिन नदिई समयमै व्यवस्थापन गर्नतिर हाम्रो नेतृत्वको ध्यान जान भने आवश्यक देखिन्छ । 

सुझावित समाचार