१५ रंगशालामा विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्ताव

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण
१५ रंगशालामा विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्ताव

साउदी अरबले विश्वकप खेलाउन प्रस्ताव गरेको प्रिन्स फैसल बिन रंगशाला

सन् २०३४ को विश्वकपका लागि साउदी अरबले पाँच सहरमा  प्रतियोगिता आयोजना गर्ने गरी फिफा कंग्रेसमा राख्यो प्रस्ताव 

सन् २०३४ को फिफा विश्वकप फुटबल आयोजना गर्न खाडी मुलुक साउदी अरबले फिफामा बिहीबार प्रस्ताव राखेको छ । कतारपछि फिफा विश्वकप आयोजनाको जिम्मेवारी पाउने दोस्रो राष्ट्रका रूपमा साउदी अरब अगाडि बढेको छ । साउदी अरबले प्रतियोगितालाई भव्य र आफ्नो भविष्यसँग जोडेर बोलपत्र प्रस्तुत गरेको छ ।

फिफाले सन् २०३४ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुने घोषणा गरिसकेको छ । विश्वकपका लागि साउदी अरबले ‘सँगै बढौँ’ (ग्रोइङ टुगेदर) नारा अघि सारेको छ । फ्रान्सको पेरिसमा आयोजित फिफा कंग्रेसमा साउदी अरबले आधिकारिक रूपमा बोलपत्र प्रस्तुत गरेको हो । साउदी अरबले विश्वकप २०३४ पाँच सहरमा १५ रंगशालामा खेलाउने प्रस्ताव राखेको छ । विश्वकपलाई भव्य बनाउन ठूलाठूला पूर्वाधार निर्माणसहितको बोलपत्र प्रस्तुत गरेको हो ।

प्रस्तावित पाँच सहरमध्ये राजधानी रियाद मुख्य हो । रियादमा आठ रंगशालामा प्रतियोगिता आयोजनाको प्रस्ताव गरिएको छ । यसैगरी अलावा जेद्दा, अल खोबर, आभा र नियोममा प्रतियोगितास्थल रहने प्रस्ताव गरिएको छ । पाँच सहरमा ११ नयाँ १५ आधुनिक रंगशाला निर्माण हुने बोलपत्रमा उल्लेख भएको साउदी अरबको खेलकुदमन्त्री र पाराओलम्पिक कमिटीका अध्यक्ष प्रिन्स अब्दुलअजिज बिन बिन फैसलले जानकारी दिएका छन् । 

रियादमा आठ रंगशालाको प्रस्ताव
रियादमा किङ सलमानसँगै आठ रंगशालामा विश्वकपका खेल भेन्युको प्रस्ताव छ । ९२ हजारभन्दा बढी दर्शक अटाउने क्षमता भएको किङ सलमानमै उद्घाटन र फाइनल खेल हुने खेलकुदमन्त्री फैसललाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ । रियादको प्रिन्स मोहम्मद बिन सलमानबाहेक ७० हजार दर्शकको क्षमता भएको किङ फहाद स्पोर्टस् सिटीमा पनि खेल हुने प्रस्ताव गरिएको छ । साउदीको अर्को पुरानो सहर जेद्दामा नयाँ जेद्दा सेन्ट्रल डेभलपमेन्ट, राजा अब्दुल्ला स्पोर्टस् सिटी, अल खोबरमा अराम्को, आभामा किङ खालिद युनिभर्सिटी र लाइन परियोजनाभित्र नियोम रंगशालाको प्रस्ताव गरिएको छ । 

साउदी अरबले विश्वकपलाई लक्षित गरी प्रतियोगिता आयोजना हुने पाँच सहरमा दुई लाख ३० हजार क्षमताको कोठा, विभिन्न १५ सहरमा एक सय ३२ प्रशिक्षण स्थल बनाउने भएको छ । १० वटा फिफा फ्यान फेस्टिभल स्थानको ढाँचा पनि प्रस्तुत गरिएको छ । 

रियादको किङ सलमान पार्क, जेद्दाको वाटरफ्रन्ट, आभाको अल बिहार स्क्वायर, नेओममा द लाइनभित्रको मरिना र अल खोबरको किङ अब्दुल्ला पार्कलाई चयन गरिएको खेलकुदमन्त्री फैसलले जनाएका छन् । ‘फिफा विश्वकप आयोजना गर्ने साउदी अरबको सपनालाई साकार पार्ने दिशामा काम गरिरहेका छौँ,’ खेलकुदमन्त्री फैसलले भने, ‘हाम्रो समृद्ध फुटबल सम्पदालाई खेलप्रतिको हाम्रो गहिरो लगनसँग जोड्नेछ ।’

ऐतिहासिक क्षण
साउदी अरेबिया फुटबल महासंघ (साफ)का अध्यक्ष यासेर अल मिसेहलले विश्वकपको प्रस्ताव राखेको दिन साउदी जनताका लागि ऐतिहासिक क्षण भएको बताएका छन् । ‘फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गर्ने साउदी जनताका लागि एक महत्वपूर्ण ऐतिहासिक क्षणका रूपमा लिएको छु,’ उनले भने, ‘साउदी अरबको फुटबल र खेल क्षेत्रको विकासमा ठूलो बल मिल्छ ।’ 

See More On

सुझावित समाचार