संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई तीन प्रश्न

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकाभित्र हैजाका संक्रमितहरू बढेको देखिनुले के संकेत गर्छ ?
यसले गम्भीर अवस्थाको संकेत गरेको छ । खासगरी बर्खामासमा पानी प्रदूषित हुन्छ । पानीमा दिसाको मात्रा मिसिएको हुन सक्छ । यसबाट पानीजन्य रोगको संक्रमण बढ्न सक्छ । अहिले देखिएका हैजा संक्रमित उपचारका लागि अस्पतालसम्म आएका बिरामी हुन् । हामीकहाँ सामान्यतः झाडापखाला लाग्दैमा अस्पताल जानुको साटो घरेलु उपचार गर्ने या मेडिकलबाट औषधि ल्याएर सेवन गर्ने प्रचलन बढी छ । त्यसैले पनि उपचारमा नआएका संक्रमित कति होलान्, योचाहिँ गम्भीर चिन्ताको विषय हो । 

हैजा कसरी चिन्ने र यो कति खतरनाक रोग हो ?
सामान्य भाषामा भन्नुपर्दा भिब्रियो कोलेरा नामको ब्याक्टेरियालाई हैजा भनिन्छ । यो पानीजन्य रोग हो । हैजाको संक्रमण भएमा बिरामीको दिसा चौलानीजस्तो देखिन्छ । तारन्तार पखाला लाग्छ । तर, मलद्वारमा पीडा हुँदैन । पिँडुला बाउँडिने समस्या देखिन्छ । कसैकसैमा चाहिँ पेटको मांसपेशी पनि बाउँडिन सक्छ । अनि, बिरामीलाई तारन्तार बान्ता हुन्छ । यस्तो लक्षण कसैमा देखियो भने यो हैजाको गम्भीर अवस्था हुन सक्छ । यस्तोमा तत्काल उपचार आवश्यक हुन्छ । बिरामीलाई तुरुन्तै स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ । घरमा बसेर उपचार गर्नतिर लाग्नु हुँदैन ।

हैजा रोकथामका उपाय के हुन सक्छन् त ?
यसका लागि दुई–तीनवटा पक्षमा ध्यान दिनुपर्छ । सबैभन्दा पहिलो पिउने पानी निर्मलीकरण गरी सुरक्षित पारिएको हुनुपर्छ । व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनुपर्छ । शौचालय सफा हुनुपर्छ । शौचालय प्रयोग गरिसकेपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । सम्बन्धित निकायले पानी संक्रमित हुन सक्छ भनेर नियमित अनुगमन गरी निर्मलीकरण गर्ने व्यवस्था मिलाउनुपर्छ ।
 

सुझावित समाचार