राष्ट्रिय खेल संघहरूले घरेलु जुनियर प्रतियोगितामा विशेष ध्यान दिनुपर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बताएका छन् । भारतको जयपुरमा भएको आइएचएफ ट्रफीमा कांस्य पदक जितेको यू–१८ टोलीलाई बधाईका क्रममा सदस्यसचिव घिसिङले हरेक खेल संघले घरेलु जुनियर प्रतियोगिता आयोजना गर्न अग्रसर हुनुपर्ने जोड दिएका छन् ।
‘हामीले जुनियर प्रतियोगितालाई ध्यान नदिने हो भने अन्तर्राष्ट्रियमा राम्रो नतिजा ल्याउन सक्दैनौँ,’ उनले भने, ‘राष्ट्रिय टिम बलियो बनाउन पनि जुनियर प्रतियोगितामा जोड दिनैपर्छ ।’राखेपमा आवद्ध विभिन्न संघ तथा संस्थामा युवाहरूले नेतृत्व गर्नुपर्ने उनले बताए । यद्यपि, अनुभवका आधारमा पुराना सदस्यलाई साथमा लिएर संघहरूले आफ्नो योजना बनाउनुपर्ने उनको भनाइ छ । ‘खेल संघमा युवाहरू पनि नेतृत्वमा आउन जरुरी छ । पूर्वखेलाडी, प्रशिक्षक, रेफ्री संघको पदाधिकारीका रूपमा आउनुपर्छ । पुराना पदाधिकारी पनि चाहिन्छ । सबै मिलेर एउटा टिम बनाउनुपर्छ,’ सदस्यसचिव घिसिङले भने ‘पुराना साथीहरूले पनि म भए सबै ठीक, अरू भए बेठीक भन्ने सोच त्याग्नुपर्छ ।’
१० देखि १४ जुलाईसम्म भएको प्रतियोगितामा यू–१८ तर्फ नेपालले तेस्रो स्थान हात पारेको थियो । नेपालले माल्दिभ्सलाई ३०–२८ ले पराजित गरेको थियो । यू–२० मा भएको तेस्रो स्थानको खेलमा माल्दिभ्सले नेपाललाई हराएको थियो ।