बाढीले बगाएर मृत्यु भएका व्यक्तिको परिवारलाई जिल्ला विपत् व्यवस्थापन समिति काभ्रेले पाँच लाख राहत दिने निर्णय गरेको छ । जिल्लाको रोशी– ११ स्थित भ्याकुरे खोलाले बगाएर मृत्यु भएका फुपू–भदैनीको परिवारलाई तीन लाख र रोशी– १ सानोभुग्देउ खोलाले बगाएर मृत्यु भएका कमल विकको परिवारलाई दुई लाख गरी पाँच लाख राहत दिने निर्ण गरेको हो । जिल्ला विपत् व्यवस्थापन समितिको बुधबार सम्पन्न बैठकले उक्त निर्णय गरेको समितिका सदस्य तथा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
निरन्तर वर्षातको कारण असार २२ गते रोशी– ११ स्थित भ्याकुरे खोलामा आएको बाढीले बगाएर सोही वडाको भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र पाँच वर्षीया सेतीमाया रुचाल मगरको मृत्यु भएको थियो । उनीहरू करिब नाै सय मिटर तल बिपी राजमार्गस्थित डम्फुपार्कनजिक मृत अवस्थामा फेला परेका थिए । उनीहरू एकैघरका फुपू–भदैनी हुन् । त्यस्तै, असार २३ गते रोशी– १ सानोभुग्देउ खोला तर्ने क्रममा बगाएर सोही स्थानका करिब ४५ वर्षीय कमल विकको मृत्यु भएको थियो । उनको शव २४ गते करिब दुई किलोमिटर तल मृत अवस्थामा फेला परेको थियो ।
प्राकृतिक विपत् राहत प्रदानसम्बन्धी मापदण्ड, २०७७ अनुसार रुचाल मगर परिवारलाई तीन लाख र विक परिवारलाई दुई लाख दिने निर्णय गरेको जिल्ला विपत् व्यवस्थापन समिति काभ्रेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सूर्य सेडाईंले बताए ।
रोशी गाउँपालिका विपत् व्यवस्थापन समितिको बैठक छिट्टै बसी राहत दिने गाउँपालिका अध्यक्ष लामाले बताए ।