मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छ : मुख्यमन्त्री कार्की

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मृत्युपछि आँखा दान गर्न सबैलाई आग्रह गरेका छन्। आँखा दानबाट दृष्टिविहीन व्यक्तिले पुनः संसार देख्न सक्ने भएकाले यसलाई ठुलो दानका रूपमा लिनुपर्ने उनले बताएका छन्।

मुख्यमन्त्री कार्कीले मदन भण्डारी आँखा अस्पताल (दृष्टिकुञ्ज), गाईघाटमा आइतबार आयोजित ‘स्मृति वृक्षरोपणको सातौँ वार्षिकोत्सव’ कार्यक्रममा यस्तो बताएका हुन्। उनले कोशी प्रदेशमा आँखा प्रत्यारोपण सेवा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

उनका अनुसार विराटनगर आँखा अस्पताल र मेची आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन हुँदै आएको छ।

मुख्यमन्त्री कार्कीले एक साताअघि विराटनगरमा स्वास्थ्य मन्त्रालयका सचिव तथा आँखा उपचारसँग सम्बन्धित विशेषज्ञहरूसँग बैठक गरी मृत्युपछि आँखा संकलन, संरक्षण र प्रत्यारोपणको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको जानकारी दिए।

‘मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छ। हामीलाई नचाहिने वेलाको आँखाले अर्को व्यक्तिले संसार देख्न सक्छ,’ उनले भने।

उनका अनुसार कोशी प्रदेशमा हालको क्षमताबाट करिब तीन सयजनासम्मको आँखा प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको विशेषज्ञहरूले बताएका छन्। प्रदेश सरकारले आवश्यक बजेट र प्राविधिक सहयोग उपलब्ध गराउने भन्दै अस्पतालहरूलाई तत्काल काम अघि बढाउन निर्देशन दिइएको उनले बताए।

मुख्यमन्त्री कार्कीले उदयपुरमा रहेको मदन भण्डारी आँखा अस्पतालको सेवा विस्तारका लागि पनि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। अस्पतालमा नियमित रूपमा आँखा शल्यक्रिया भइरहेको उल्लेख गर्दै उनले आवश्यक उपकरण तथा पूर्वाधारका लागि स्वास्थ्य मन्त्रालयमार्फत सहयोग उपलब्ध गराउने बताए।

साथै, उदयपुरमा वातावरण संरक्षणसँगै आर्थिक उत्पादन बढाउने उद्देश्यले फलफूल तथा आम्दानी दिने प्रजातिका रुख रोप्नुपर्नेमा पनि उनले जोड दिए। सोही अवसरमा उनले मदन भण्डारी आँखा अस्पताल (दृष्टिकुञ्ज) परिसरमा आफ्ना स्वर्गीय मातापिताको नाममा वृक्षरोपणसमेत गरेका थिए।

नेपाल नेत्र ज्योति संघ उदयपुर तथा मदन भण्डारी आँखा अस्पतालका सभापति भागवत राउतका अनुसार अस्पतालपरिसरमा थालिएको ‘स्मृति वृक्षरोपण अभियान’ सात वर्षअघि सुरु गरिएको हो। पितृहरूको सम्झनामा गरिएको वृक्षरोपणले अस्पतालपरिसर हराभरा भएको उनले बताए।

‘यो अभियान केवल वृक्ष रोप्ने कार्यक्रम मात्र नभई मानव सेवा, वातावरण संरक्षण, संस्थागत इतिहास र नागरिक सहभागितालाई जोड्ने दीर्घकालीन अभियान हो,’ उनले भने।

अस्पतालसँग जोडिएका दाता, सहयोगी, चिकित्सक, कर्मचारी, सामाजिक अभियन्ता, संस्था तथा शुभेच्छुकहरूको योगदानलाई जीवित स्मृतिका रूपमा संरक्षण गर्दै अस्पतालपरिसरमा ‘स्मृति वाटिका’ विकास गर्नु अभियानको मूल उद्देश्य रहेको राउतले बताए।

सुझावित समाचार