बेल्जियम, रोमानिया र स्लोभाकिया युरो २०२४ को प्रिक्वार्टरफाइनल पुगेका छन् । समूह ‘ई’मा रोमानिया शीर्ष र बेल्जियम उपविजेता हुँदै अन्तिम १६ मा पुगेका हुन् । स्लोभाकिया उत्कृष्ट तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । युरो फुटबल इतिहासमै पहिलोपटक एकै समूहमा रहेको चारै टोलीका समान अंक भएको छ । रोमानिया, बेल्जियम, स्लोभाकिया र युक्रेनले समान तीन खेलबाट ४ अंक बटुलेका छन् । गोलअन्तरका आधारमा रोमानिया, बेल्जियमसँगै स्लोभाकिया नकआउट चरणमा पुगेका छन् ।
युक्रेन गोलअन्तरमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ । युक्रेन र बेल्जियमले गोलरहित बराबरी खेलेका थिए । यसै समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाबीचको खेल १–१ को बराबरी भएको थियो । अब प्रिक्वार्टरफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्नेछ । स्लोभाकियाले रोमानियाविरुद्ध खेलको २४औँ मिनेटमा अग्रता लिएको थियो । खेलको ३७औँ मिनेटमा रोमानियाले बराबरी गोल फर्काएको थियो ।
अर्कोतिर युक्रेनले बेल्जियमविरुद्ध आक्रामक खेल खेल्यो । दुवै टोलीले सहज गोल अवसर गुमाएका थिए । यसैगरी, समूह ‘सी’मा इंग्ल्यान्ड र स्लोभेनियाले गोलरहित बराबरी खेले । यसै समूहमा डेनमार्कले सर्बियालाई गोलरहित बराबरीमा रोकेको थियो ।