डेंगुबाट सतर्क रहौँ

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

मनसुन सुरु भइसकेको छ । यो समय लामखुट्टे निकै सक्रिय रहन्छन् । लामखुट्टेको टोकाइबाट लाग्ने विभिन्न रोगहरूमध्ये डेंगु एक हो । डेंगु भएपछि धेरै दिनसम्म पनि अत्यधिक ज्वरो आइरहने, सिटामोल खाँदा पनि नघट्ने हुन्छ ।

समयमै उपचार नगर्दा डेंगुले थप जटिलता निम्त्याउने र ज्यानै लिन सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नका लागि सतर्कताका उपाय अवलम्बन गर्नुपर्छ । डेंगु एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो ।

डेंगु भाइरस चार प्रजातिका हुन्छन्– डेन १, डेन २, डेन ३ र डेन ४ । एकपटक लामखुट्टेले भाइरस बोकेपछि उसले जन्माउने सबै लार्भा भाइरससहित जन्मिन्छन् । त्यहीकारण हामीले लार्भा नियन्त्रणमा विशेष ध्यान दिन जरुरी छ ।

सतर्कताका उपाय 
- एडिज लामखुट्टेले सफा पानीमा अन्डा पार्ने गर्छ । लार्भा विकासका लागि अक्सिजनयुक्त पानी आवश्यक हुने भएकाले गमला, जथाभावी फालिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी, टायर आदिमा जमेको पानीमा लामखुट्टेले अन्डा पार्ने गर्छ । तसर्थ, यस्ता ठाउँ सफा राख्नुपर्छ । पानी राख्ने भाँडा छोपेर खान सकिन्छ । 

- घरवरपर पानी जम्न नदिने, खाल्डा पुरिहाल्ने । गमलाको पानी जम्नेबित्तिकै त्यसमा भएको प्लेट घोप्ट्याइहाल्ने, झुलको प्रयोग गर्ने, आफ्नो घरवरपर सफा राख्ने, झाडी छ भने काट्ने, झाडीमा जानुपरे फुल स्लिभ भएको कपडा लगाएर जाने, टायर पसल र वर्कसपमा काम गर्नेले पनि फुल स्लिभ लगाउने, छालामा मस्क्युटो रेपेलेन्ट लगाउने (यसको गन्धले लामखुट्टे नआउने हुन्छ)लगायत काम गर्नुपर्ने हुन्छ । 

- बाहिर निस्कँदा लामो बाहुला भएको कपडा प्रयोग गर्नुपर्छ । यस्तै, लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे पनि प्रयोग गर्न सकिन्छ । सुत्ने ठाउँमा झुलको प्रयोग र झ्यालढोकामा जाली प्रयोग गर्नुपर्छ ।

- पानी जम्मा हुने खाल्डाखुल्डीमा लामखुट्टे मार्ने स्प्रे प्रयोग गर्नुपर्छ । डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्छ ।  

लक्षणहरू 
- डेंगु हुँदा तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आउँछ । ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । 
- टाउको दुख्ने, पेट दुख्ने, 
- वाकवाकी लाग्ने, खानामा रुचि नहुने 
- आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, 
- रातोरातो बिमिरा देखिने,  
- कतिपयमा नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने,  
- थकान, कतिपयमा बेहोस हुने पनि हुन सक्छ ।

के गर्ने ?
- डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्छ ।  अरू वेलाभन्दा यो वेला शरीरमा पानी कम हुने हुँदा प्रशस्त पानी पिउने । 
- धेरै मसला, चिल्लो भएका खानेकुरा नखाने । 
- झोलिलो खानेकुरा प्रशस्त खाने । 

स्थानीय सरकारले अभियान चलाउन जरुरी : डा. शेरबहादुर पुन संक्रामक रोग विशेषज्ञ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु

केन्द्र र प्रदेशसँगको समन्वयमा स्थानीय सरकारले अभियान चलाउन जरुरी छ । पहिलो कुरा त डेंगुबारे समुदायस्तरमा अझै धेरै बुझाउन जरुरी छ । त्यसपछि पानी जम्न सक्ने खाल्डाखुल्डी वा लामखुट्टेको जीवनचक्र सहज हुने ठाउँ पहिचान गरेर त्यसलाई नियन्त्रण र व्यवस्थापन गर्नुपर्छ । 

लार्भा, प्युपा हुँदै लामखुट्टे वयस्क हुने हो । वयस्क भइसकेपछि त्यसलाई नष्ट गर्न गाह्रो हुन्छ । त्यहीकारण, लार्भा र प्युपा नष्ट हुने गरी औषधि प्रयोग गर्नुपर्छ । यसका लागि स्थानीय सरकारले समुदायसँग मिलेर काम गर्नुपर्ने हुन्छ । मनसुनमा लामखुट्टे ज्यादा सक्रिय हुने भएकाले हामीले यस काममा ढिलाइ गर्नुहुँदैन । अहिले लामखुट्टे नियन्त्रण गर्न नसके यसले महामारीको रूप लिन सक्छ । 

See More On

सुझावित समाचार