बारा जिल्लास्थित नाैवटा पेसागत संघसंगठनले रामराजामोहन विक्रम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषणप्रसाद कुशवाहको हत्यारा पक्राउ गर्नुपर्ने माग राखेर आजबाट आन्दोलन गर्ने घोषणा गरेका छन् । पेसागत संघसंगठनका प्रतिनिधिहरूले मंगलबार संयुक्त विज्ञप्ति निकालेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा असार ५ गते बारा जिल्लाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, क्याम्पसहरूमा कालोपट्टी बाँधेर विरोध गर्ने, असार ६ गते बिहीबार चक, डस्टर, मार्कर नचलाई अध्ययन–अध्यापन गर्ने, असार ७ गते शुक्रबर दिउँसो ३ बजे रामराजामोहन विक्रम बहुमुखी क्याम्पसबाट शान्तिपूर्ण र्याली निकाल्ने र कलैयास्थित भरत चौकमा विरोध सभा गर्ने जनाइएको छ । साथै उनीहरूले आफ्नो माग सम्बोधन नभए थप कडा आन्दोलनको चेतावनी पनि दिएका छन् ।
अज्ञात समूहको गोली प्रहारबाट शिक्षक कुशवाहको आदर्शकोतवाल गाउँपालिका– ३ बतरामा गत जेठ ३२ गते साँझ हत्या भएको थियो । क्याम्पस प्रमुख कुशवाहको हत्याको विरोधमा एकता जनाउँदै रामराजा मोहनविक्रम बहुमुखी क्याम्पस कलैयाका कार्यवाहक प्रमुख निवेश तिमिल्सिना, नेपाल शिक्षक संघ बारा अध्यक्ष राजकिशोर सहनी, नेपाल राष्ट्रिय शिक्षक संगठन बारा जिल्ला अध्यक्ष सुरेन्द्र पासवान, एकीकृत अखिल नेपाल शिक्षक संगठन बाराका अध्यक्ष रोशन यादव, नेपाल शिक्षक मञ्च जिल्ला अध्यक्ष नन्दकिशोर दुवे, संघीय शिक्षक फोरमका प्रतिनिधि लालबाबुप्रसाद जैसवाल, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिव किनु गुप्ता, एन प्याब्सन बारा अध्यक्ष प्रभुलाल कुशवाह र प्याब्सन बाराका प्रतिनिधि मनोजप्रसाद यादवले हस्ताक्षर गरेर संयुक्त विज्ञप्ति निकालेका हुन् ।
पेसागत संघसंघठनहरूले घटनामा संग्लन दोषीलाई यथाशीघ्र पक्राउ गरी कडाभन्दा कडा कारबाही गरिनुपर्ने, मृतक शिक्षक कुशवाहलाई सहिद घोषणा गरिनुपर्ने, मृतक शिक्षकको परिवारलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था र शैक्षिक जगत् तथा बारा जिल्लाको आमनागरिकको शान्ति सुरक्षाको सुनिश्चितताको माग पनि गरिएको छ ।