घरेलु टोली कास्की जिल्लाले गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता २०८१ को उपाधि हात पारेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न फाइनल खेलमा कास्कीले तनहुँलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो ।
निर्धारित समयको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो । उपाधिसँगै कास्कीले दुई लाख र उपविजेता तनहुँले एक लाख नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पारे। प्रतियोगितामा तनहुँका सन्तबहादुर गुरुङ सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार पुरस्कार पाए ।
कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विसन गुरुङ उत्कृष्ट मिडफिल्डर र कास्कीका सन्तोष केसी उत्कृष्ट प्रशिक्षक घोषित भए ।
उत्कृष्ट घोषित सबैले जनही पाँच हजार नगदसँगै ट्रफी प्राप्त गरेका प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले जानकारी दिए । उपाध्यक्ष गुरुङका अनुसार प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीसमेत छनाेट हुनेछन् ।