प्रतिनिधिसभाको आज बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ।
सभाको आजको बैठकमा उक्त प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका थिए। यसअघि बैठकमा अर्थमन्त्री पुनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकमा ०८१/८२ को सेवा र कार्यको लागि संघीय सञ्चित कोष रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न संसद्समक्ष पेस गर्नुपरेको बताए।
उनले सञ्चित कोषबाट चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थासमेत गरी रु. १४ खर्ब ५७ अर्ब चार करोड ९६ लाख खर्च गर्न प्रस्ताव गरिएको उल्लेख गरे। उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू दयालबहादुर शाही, राजनकुमार केसी, हितराज पाण्डे र प्रेम सुवालले भाग लिएका थिए।