नेपाल वायुसेवा निगम (नेवानि)का वरिष्ठ पाइलट विजय लामा र भावना पन्त कारबाहीमा परेका छन् ।नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुवै पाइलटलाई उड्डयन सुरक्षा व्यवस्था उल्लंघन गरेको भन्दै जहाज उडाउन अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को निषेधित क्षेत्रमा फोटो खिच्ने र भिडियो अन्तर्वार्ता दिएपछि उनीहरू कारबाहीमा परेका हुन् । पाइलट लामाले दुई दिनअघि जहाजको ककपिटनजिकै फोटो खिचेर फेसबुकमा पोस्ट गरेका थिए । पाइलट पन्तले जहाजको छेवैमा टेलिभिजन च्यानललाई भिडियो अन्तर्वार्ता दिएकी थिइन् ।वरिष्ठ पाइलटद्वय लामाले वाइडबडी एयरबस ३३० र पन्तले न्यारोबडी एयरबस ३२० जहाज उडाउँदै आइरहेका छन् । दुवै अनुभवी र चर्चित पाइलट हुन् । लामा वाइडबडीको प्रशिक्षक पाइलटसमेत हुन् ।
दुवै पाइलटलाई सक्रिय ड्युटीबाट हटाएर थप अनुसन्धानका लागि आन्तरिक समिति गठन गरेको क्यानले जनाएको छ । नियामक निकाय क्यानले दुवै पाइलटलाई जहाज उडानमा प्रतिबन्ध लगाउन जानकारी गराएको नेवानिका प्रवक्ता (प्राविधिकतर्फ) देवेन्द्र पुनले बताए । जिम्मेवार पाइलटबाटै लापरबाही भइरहँदा उडान सेवा नै असुरिक्षत बनेको क्यानको जिकिर छ । पाइलटलाई उडानमा प्रतिबन्ध लगाइएसँगै नेवानिसँग वाइडबडी उडाउने पाइलटको अभाव हुने भएको छ ।