सन्दीपलाई दोस्रोपटक पनि भिसा दिएन

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक पनि भिसा दिन अस्वीकार गरेको छ । आइसिसी टी–२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारी गरिरहेका सन्दीपलाई दूतावासले बिहीबार भिसा दिन अस्वीकार गरेको हो । भिसा प्रक्रियाका लागि उनी दूतावास पुगेका थिए ।

गत ९ जेठमा दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यस विषयमा दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेख गोप्य हुने भएकाले यस विषयमा टिप्पणी गर्न नसकिने बताएको छ । ‘अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेख गोप्य हुने भएकाले यसबारे टिप्पणी गर्न सक्दैनौँ,’ दूतावासले भनेको छ । यसैबीच, क्यानले विज्ञप्ति जारी गर्दै दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको जनाएको छ ।

‘सन्दीपको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आइसिसीबाट आवश्यक पहल हुँदासमेत दूतावासले भिसा दिएन,’ क्यानको विज्ञप्तिमा भनिएको छ ।

सुझावित समाचार