राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गणतन्त्र दिवसका अवसरमा विभिन्न चार खेलका आठजना खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान तीन खेलाडी रहेका छन् । मुवाँथाई र उसुका समान एक खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
गणतन्त्र दिवसको अवसरमा राखेपले मंगलबार समग्रमा खेलाडीहरूलाई ६ लाख ५० हजार नगद पुरस्कार वितरण गरिएको छ । एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाई र राममाया बुढा पुरस्कृत भए । सन्तोषीले बंगलादेशमा भएको ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण जितेकी थिइन् ।
राजपुरा र राममायाले नेपालमा भएको १६औँ एसियाली क्रसकन्ट्रीको व्यक्तिगत र टिम स्पर्धामा रजत जितेका थिए । राजपुरा र राममायाले समान ५५ हजार रुपैयाँ पाएका छन् । अन्य खेलाडीले समान ९० हजार रुपैयाँ हात पारका छन् । शारीरिक सुगठनबाट ललित धिमाल, रजनी श्रेष्ठ र समन मूलगुठी पुरस्कृत भएका छन् । ललितले माल्दिभ्समा भएको १३औँ दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण हात पारेका थिए ।
रजनी र समनले नेपालमा भएको ५५औँ एसियाली शारीरिक सुगठन तथा स्पोर्टस् फिजिक च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । मुवाँथाईबाट गुणराज रुचाल तथा उसुबाट विजयी सिँजालीले पुरस्कार पाएको राखेपले जनाएको छ । गुणराजले थाइल्यान्डमा भएको १९औँ विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण जितेका थिए । विश्व च्याम्पियनसिपको सेमी प्रोमा गुणराजअघि नेपाली खेलाडीले पदक जितेका थिएनन् । विजयीले साउदी अरबमा भएको विश्व कम्ब्याट गेम्समा स्वर्ण जितेका थिए ।